१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

३ सातापछि विदेशी विद्यार्थी अष्ट्रेलिया प्रवेश गर्न पाउने, नेपालीबारे अन्योल

नारायण खडका

सिड्नी — अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ । न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ ।

३ सातापछि विदेशी विद्यार्थी अष्ट्रेलिया प्रवेश गर्न पाउने, नेपालीबारे अन्योल

यस योजनामा कोरोना भाइरसविरुद्धको दुवै खोप लगाइसकेका विद्यार्थीले क्वारेन्टाइनसमेत बस्न नपर्ने भएको छ । अष्ट्रेलियाले महत्वका साथ सुरु गर्न लागेको यो कार्यक्रम अन्य राज्यमासमेत विस्तारै सुरु हुनेछ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत यही डिसेम्बरको पहिलो सातादेखि हरेक महिना ५ सय विदेशी विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने योजना सरकारको छ । यस चरणमा कोरोना भाइरसविरुद्धको दुवै खोप लगाइसकेका विद्यार्थीलाई मात्र यस कार्यक्रममा सहभागी गराइने सरकारी सूचनामा जनाइएको छ ।

विगत लामो समयदेखिको तयारी र न्यु साउथ वेल्स राज्यको दोस्रो खोपको मात्र ८० प्रतिशतभन्दा माथि पुगिसकेका कारण यस कार्यक्रमलाई तीव्रता साथ अघि बढाइएको हो ।

डिसेम्बर ६ तारिखमा चार्टर गरिएको पहिलो विमान मार्फत् सिंगापुर, क्यानाडा, चीन लगायत १५ देशबाट विद्यार्थीले अष्ट्रेलिया प्रवेश पाउनेछन् । यस्तै भारत लगायत अन्य दक्षिण एसियाली देशका विद्यार्थीलाईसमेत केही समयपछि दोस्रो उडान मार्फत् अष्ट्रेलिया ल्याइने योजना सार्वजनिक गरिएको छ । तर पनि नेपाली विद्यार्थीका बारेमा भने अहिलेसम्म सार्वजनिक रुपमा कुनै जानकारी दिइएको छैन ।

न्यु साउथ वेल्सको सरकारी निकायले दक्षिण एसियाली राज्य उल्लेख गरेको भए पनि नेपाली विद्यार्थी आउन पाउने/नपाउने बारेमा केही बताइएको छैन ।

न्यु साउथ वेल्सको शैक्षिक निकायमा उपलब्द्ध जानकारी अनुसार अष्ट्रेलियाको नियमन निकायले स्वीकृती दिएका खोपको दुवै मात्रा लगाएका विद्यार्थीले क्वारेन्टाइन बस्नुपर्ने छैन ।

अष्ट्रेलियाले चीनमा उत्पादित सिनोभ्याक र भारतमा उत्पादित कोभिसील्डलाईसमेत अनुमति दिइसकेका कारण ती देशहरूबाट विद्यार्थीको आगमनमा सहज भएको हो । यद्यपि विद्यार्थीले यहाँ आउनुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्नेछ ।

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा तेस्रो नम्बरमा रहे पनि नेपालबाट विद्यार्थी आउने वा नआउने बारेमा कुनै जानकारी नदिइएकोमा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

यहाँका सञ्चारमाध्यमका अनुसार विदेशी विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब ४० अर्ब डलर बराबरको योगदान दिने गरेका छन् । न्यु साउथ वेल्स राज्यले सन् २०२१ मा कोरोना भाइरसका कारण विद्यार्थी आउन नपाएपछि ५ अर्ब डलर गुमाएको छ जुन सन् २०२२ को अन्त्यसम्ममा ११ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ ।

यस्तै यसै राज्यमा मात्र ९५ हजार पूर्णकालीन रोजगारी बराबरको जनशक्ति अन्तर्राष्ट्रिय विद्यार्थीले सिर्जना गरिरहेका छन् । राज्यका प्रिमियर डोमिनिक पेरोटेटले विदेशी विद्यार्थीले अर्थतन्त्रमा मात्र योगदान गर्ने नभई समुदायको अभिन्न अंगसमेत भएको बताएका छन् । उनले विदेशी विद्यार्थीलाई पुनः स्वागत गर्न आफहरू तयार रहेको जनाएका छन् ।

प्रकाशित : कार्तिक २९, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?