कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ईपीएस कामदार नोभेम्बर अन्तिम सातादेखि कोरिया आउन पाउने

गोकुल थोकर

सोल,दक्षिण कोरिया — दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत कोरिया आउने १६ वटै देशबाट कामदार ल्याउन लागिएको हो  ।

ईपीएस कामदार नोभेम्बर अन्तिम सातादेखि कोरिया आउन पाउने

लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार आएका छैनन् । नेपाल लगायतका केही देशबाट कमिटेड कामदार नगन्य मात्रामा आएको भएपनि लामो समयदेखि विदेशी कामदार नआउँदा यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव रहँदै आएको छ । प्रत्येक वर्ष ५० हजारभन्दा बढी ईपीएस प्रणाली अन्तर्गत नयाँ तथा कमिटेड कामदार आउने कोरियामा कोरोना संक्रमण बढेसँगै विदेशी कामदार ल्याउन रोकिएको थियो । नेपालबाट पनि प्रत्येक वर्ष ५ हजार भन्दा बढी कामदार कोरिया आउने गर्थे ।

कामदार अभावलाई कम गर्नका लागि कोरियाली सरकारले तीन महिनाको भिसा दिएको थियो । त्यस अवधिमा पनि कोरोना महामारीको कम नभएको भन्दै कोरियामा रहेका ईपीएस अन्तर्गतका भिसा सकिन लागेका कामदारलाई एक वर्षको विशेष भिसा पनि दिएको छ ।

केही सयम अघिदेखि कमिटेड कामदारहरु कोरिया आउन दिने नियम बनाएको भएपनि कोटा प्रणालीमा कामदार कोरिया आउन पाउँथे । कोरोना महामारीविरुद्ध राम्रा काम गरेका नेपाल लगायतका पाँच वटा देशबाट एक दिनमा १ सय र हप्तामा ६ सयभन्दा कम कामदारलाई कोरिया आउने अनुमति थियो । यसै नियमअनुसार कमिटेड नेपाली कामदार पनि कोरिया आइसकेका छन् ।

अहिले कोरियाली सरकारले कोरियामा रहेका ८० प्रतिशत जनताले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पूरै मात्रा लगाएको जनाउँदै जनजीवन महामारी अघिकै अवस्थामा फर्काउन खुकुलो नियम ल्याएको छ । ‘लिभिङ बिथ कोभिड–१९’ भन्ने मूल नारासहित खुकुलो नियम लागू भएको छ ।

त्यस्तै यहाँ रहेका अधिकांश नेपालीले पनि कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन् । कोरियाली सरकारले यही वर्षको अन्तिमसम्म कोरियामा रहेका सबै नागरिकलाई भ्याक्सिन लगाउने नीति बनाएपछि यहाँ रहेका नेपालीले पनि कोरोना विरुद्धको भ्याक्सिन लगाउन पाउने भएका हुन् ।

यहाँ ४० हजारभन्दा बढी नेपाली रहेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत काम गर्न आएका कामदार ३५ हजार भन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छन् ।

कुनै शुल्क नलाग्ने भ्याक्सिन कोरियामा ९० दिनभन्दा बढी समय रहेका सबै विदेशीले पनि लगाउन सक्नेछन् । अहिले कोरियामा २० लाखभन्दा बढी विदेशी रहेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?