मनालीमा रोजगारी गर्ने नेपालीले गरे समानताको माग- प्रवास - कान्तिपुर समाचार

मनालीमा रोजगारी गर्ने नेपालीले गरे समानताको माग

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — हिमाचल प्रदेशको कुल्लू–मनाली जिल्लाका नेपालीहरुले त्यहाँका मुख्यमन्त्री जयराम ठाकुरसँग भारतीय नागरिक सरहका समान व्यवहार र हक अधिकार उपलब्धताको माग गरेका छन् ।

मनाली आएका मुख्यमन्त्री ठाकुरलाई शनिबार मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाजको नेतृत्वमा नेपालीहरुको एक समूहले भेटेको थियो ।

समाजका अध्यक्ष साँइला लामाले स्वास्थ्य, शिक्षा, रोजगारी, पारिश्रमिक, सुरक्षालगायतका सबैजसो विषयमा आफूहरुले मुख्यमन्त्रीसँग कुरा राखेको बताए । ‘यहाँ हजारौंको संख्यामा नेपालीहरु वर्षौंदेखि बस्दै आएका छौं, हिमाचल प्रदेशको आर्थिक उन्नति र प्रगतिमा हाम्रो ठूलो योगदान छ,’ कान्तिपुरसँग उनले भने, ‘मुख्यमन्त्रीसँग हामीले पाउनु पर्ने सेवा, सुविधा र सम्मानका विषयमा कुरा राखेका छौं ।’

उनका अनुसार सडक, खानेपानी, वन लगायतका सरकारी निकायमा २ हजार जति नेपालीहरु स्थायी जागिरे नै छन् । त्यसबाहेक स्याउ खेती, पशुपालन र अन्य कृषिकर्म गर्नेहरुको संख्या ठूलो छ । अधिकांश नेपालीहरु मजदुर छन् । कुल्लु मनालीको सडक विभागमा १६ वर्षदेखि दैनिक ज्यालादारीमा कार्यरत २० जनालाई स्थायी गर्न पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको लामाले बताए ।

मुख्यमन्त्री ठाकुरले नेपालीहरुको सम्मान, सुरक्षा र सुविधामा कुनै पनि असमानता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्

दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको जनाउँदै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी दिइन् ।

समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्यप्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले संसद् र प्रदेशसभाको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका एसडिजी च्याम्पियनमा मानिसमार्फत दिगो विकास लक्ष्यलाई बढीभन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने तथा बन्दाबन्दीले गर्दा असर परेको धुलिखेल घोषणापत्र (दिगो विकास लक्ष्यप्रति संसद्को प्रतिबद्धतापत्र) को पुनःकार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समितिका सदस्य वामदेव गौतम, दीनानाथ शर्मा, मायाप्रसाद शर्मा र गंगाकुमारी बेल्वासेले विभिन्न समयमा समितिले दिएका निर्देशनको अनुगनमसँगै समितिलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । संविधानसभा सदस्य जनकराज जोशीले ‘दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सांसदको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानूुनी, संरचनागत, व्यवस्थापकीय, आर्थिक र सूचना तथा सञ्चारको चुनौती तथा सीमाका कारण दिगो विकास लक्ष्यले गति लिन नसकेको टिप्पणी गरे ।

प्रकाशित : भाद्र १३, २०७८ १५:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×