कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई बोलाउन चीन ‘गम्भीर’- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई बोलाउन चीन ‘गम्भीर’

लक्ष्मी लम्साल

बेइजिङ — चीनले कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका तथा नयाँ शैक्षिक सत्रमा अनलाइनबाट अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई बोलाउन आफू गम्भीर रहेको जनाएको छ । कम्तीमा ‘इन्टर्नसिप’ गर्नुपर्ने विद्यार्थीलाई सकेसम्म छिटो बोलाउन गरेको अनुरोधमा चीनले यस्तो प्रतिक्रिया दिएको चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले बताए।

चीनको परराष्ट्र मन्त्रालय, एसियाली विभागका नवनियुक्त महानिर्देशक लिउ चिनसुङ्सँग राजदूत पाण्डेले गत बुधबार बेइजिङमा भेटवार्ता गरेका थिए। ‘चीनमा पढेर फर्किएका विद्यार्थीहरू नेपालमा यत्तिकै अलपत्र परिरहेको बताएपछि चिनियाँ अधिकारीले गम्भीरता देखाए’, राजदूत पाण्डेले कान्तिपुरसँग भने, ‘महानिर्देशक लिउले यो विषयलाई ‘सिरियस्ली नोट’ गरेको भन्नुभएको छ। केही पहल गर्ने आशा छ।’

चीनमा प्रवेश गर्नका लागि अन्य देशका विद्यार्थीहरूले पनि दबाब दिइरहेका छन्। सन् २०२० को प्रारम्भदेखि नै स्वदेश फर्किएका विदेशी विद्यार्थीहरूले फर्किन पाऊँ भन्दै ताकेता गरिरहेको महानिर्देशक लिउले बताए ।

पाण्डेले नेपालजस्तो घनिष्ठ छिमेकी र अन्य अन्तर्राष्ट्रिय मामिलामा समेत समान धारणा भएको मित्रदेशका विद्यार्थीहरूलाई सक्दो पहल गरेर चीन प्रवेश गराउन अनुरोध गरेपछि नवनियुक्त महानिर्देशक लिउले आफूले सक्दो पहल गर्ने आश्वासन दिए।

नेपालमा फर्किएका अधिकांश विद्यार्थीहरूले खोप लगाइसकेको र स्वास्थ्यका मापदण्ड पूरा गरेरै चीन फर्किनसक्ने भएकाले जतिसक्दो चाँडो विचार गरिदिन पनि पाण्डेले आग्रह गरे।

‘अरूभन्दा पनि इन्टर्नसीप गर्नुपर्ने एमबीबीएसका र एमडी गर्नुपर्ने विद्यार्थीहरूलाई कुनै पनि हालतमा चीनमा बोलाउनुपर्यो, राजदूत पाण्डेले भने, ‘उनीहरूले भ्याक्सिन लगाइसकेका छन्, चीन फर्किँदा पनि तोके बमोजिमको क्वारेन्टिनमा बस्छन्, न्यूक्लिक एसिड परीक्षण नेगेटिभ भएपछि नै चीन भित्रिने हो। यो काममा अब ढिलाइ गर्नुहुँदैन।’

कोरोना महामारी नियन्त्रणमा विभिन्न देशको अवस्था सुध्रिनसकेको हुँदा अधिकांश देशबाट विदेशी विद्यार्थीहरू चीन फर्किन पाएका छैनन्। तर कोरिया वा केही देशका नागरिक भित्रिने क्रम हल्का रूपमा बढेको छ। अर्मेनियाका विद्यार्थीलाई चीनमा ल्याउनेबारेमा पहल भएको जानकारी पाएको चीनस्थित केही नेपाली विद्यार्थीहरूले पनि बताएका छन्।

एसियाली विभागका महानिर्देशक लिउ यसअघि भारत, बेलायत लगायतका देशमा बसेर पर्याप्त अनुभवी भएकाले नेपालको विषयमा परिचित रहेको आफूले पाएको राजदूत पाण्डेले बताए।

भेटमा राजदूत पाण्डेले महानिर्देशक लिउलाई एसिया विभागको डाइरेक्टर जनरलको कार्यभार सम्हालेकोमा बधाई दिए। बेइजिङस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा चीन र नेपालबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो।

एक चीन नीतिप्रति नेपालको अटुट प्रतिविद्धतामा महानिर्देशक लिउले सन्तुष्टि व्यक्त गरे। हाल नेपालमा कोभिड-१९ संक्रमण २० प्रतिशत भन्दा माथि रहेकोले नेपाललाई आवश्यक भ्याक्सिन र स्वास्थ्य उपकरण प्रदान गर्न पाण्डेले अनुरोध गरे।

त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारी तथा सम्झौताहरु र बेल्ट एण्ड रोड (बीआरआई) अन्तर्गतका परियोजनाहरुलाई कार्यान्वयनमा लैजाने तथा दुई देशबीच गठित संयुक्त आयोग तथा समितिका बैठकहरूलाई आगामी दिनमा नियमित गर्ने विषय र चीनतर्फ नेपालको निकासी प्रणाली सहज बनाउने बारेमा पनि कुराकानी भएको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित : भाद्र १, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

कोदो ‘ब्रान्डिङ’ मा पालिका

कान्तिपुर संवाददाता

अर्घाखाँची — गुल्मीको मालिका गाउँपालिकाले कोदोको मदिरालाई ब्रान्डिङ गर्न गाउँसभाबाट कानुनी मान्यता दिएपछि यतिबेला कृषक कोदो रोप्ने चटारोमा छन् । बाँझिएका बारी खनेर र मकैभित्र कोदो रोप्न थालेका हुन् । 

मालिका–३ का वडाध्यक्ष राजकुमार विश्वकर्माले कोदोको मदिराबाटै गाउँलाई स्वरोजगार बनाउन अभियान सञ्चालन गरिएको बताए । साउनमा मकैभित्र रोपेको कोदो कात्तिकतिर पाकिसक्छ । अन्तरबाली प्रणाली अनुसार एउटै बारीमा मकै र कोदो फल्दा किसानलाई दोहोरो फाइदा हुन्छ । आफूले पनि यसपालि बारी खाली नराखी कोदो रोपेको वडाध्यक्ष विश्वकर्माले बताए । ‘गाउँमा मदिरा ब्रान्डिङ गर्न उद्योग खुल्नेछन्,’ उनले भने, ‘उत्पादित कोदो त्यहाँ बिक्री हुन्छ । यसै वर्षबाटै व्यावसायिक खेती सुरु भयो ।’

ठूला सहरबजारमा कोदोको पिठो पनि महंगोमै बिक्री हुन्छ । अहिले मदिरा ब्रान्डिङ हुने भएपछि वडाका पढेलेखेका युवासमेत कोदो रोप्न व्यस्त रहेको उनले बताए । ‘दुई–तीन मुरी कोदो त जहिल्यै उत्पादन हुन्छ,’ स्थानीय कृषक भीमबहादुर विकले भने, ‘सबै बारीमा रोप्दैछु । कम्तीमा आठ मुरी उत्पादन होला ।’ गाउँपालिकाका प्रमुख प्रशाकसीय अधिकृत दीपक भण्डारीले कोदो उत्पादन वृद्धि गर्न, युवालाई गाउँमै रोकेर कृषि उद्यममा जोड्न र वैधानिक तरिकाले मदिरा ब्रान्डिङ गर्न लागेको बताए । लुकीछिपी बिक्री हुने मदिरालाई उद्योग नै दर्ता गरेर उत्पादन गर्दा धेरै युवा स्वरोजगार हुने उनको भनाइ छ ।

गुल्मीको इस्मा गाउँपालिकाले दुई वर्षदेखि कोदोमा लगानी गरेको छ । गाउँपालिकाले कृषकबाट प्रतिकिलो ५० रुपैयाँमा कोदो खरिद गर्दै आएको हो, जसका कारण धेरै युवा कोदो खेतीसँग जोडिएका छन् । ‘यस वर्ष पालिकाबाट ५ लाख बजेट छुट्याएर औजार भित्र्यायौं, उत्पादन वृद्धि गर्न मल, बीउ उद्योग स्थापना गर्न, प्रशोधित मेसिन, बोरा, थैला ल्याउन र कृषकलाई कोदो खेतीप्रति प्रोत्साहन गर्ने काम भएको छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले भने, ‘कोदोलाई ‘इस्मा ब्रान्ड’ बनाउँदैछौं ।’ पहाडको पाखोमा पनि सहजै फल्ने भएकाले रैथाने बालीको संरक्षण गर्न लागिएको उनले बताए । पालिकाले इस्मा कृषि तथा पशु सहकारी संस्था र भविष्य निर्माण साना किसान सहकारी संस्थाले कोदो खरिद र बजारीकरण गर्दै आएको छ ।

प्रकाशित : भाद्र १, २०७८ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×