२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

ईपीएसमार्फत कोरिया आएका कामदारको कार्य अवधि एक वर्ष थपिने

गोकुल थोकर

सोल — दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नयाँ कामदार ल्याउन नसकेपछि कोरियामै भएका कामदारलाई एक वर्षको थप भिसा दिने भएको छ । मंगलबारदेखि लागू हुने गरी फेरिएको नियम अनुसार भिसा सकिन लागेका सबै कामदारको एक वर्ष कार्यअवधि स्वत: थपिनेछ ।

ईपीएसमार्फत कोरिया आएका कामदारको कार्य अवधि एक वर्ष थपिने

कोरोनाको महामारी सुरु भएपछि कोरियाले नयाँ कामदार ल्याउन ढिलाइ गरिरहेको छ । कमिटेड कामदारका रुपमा केही देशबाट कामदार आएका भएपनि नयाँ कामदार माग अनुसार ल्याएको छैन । वार्षिक ५० देखि ६० हजार ईपीएस मार्फत विदेशी कामदार कोरिया आउने भएपनि अहिले नगन्य मात्रामा कामदार कोरिया आएका छन् ।

कार्यअवधि सकिएका कामदार स्वदेश जाने क्रम बढ्दै गएपछि यहाँ विदेशी कामदारको अभाव हुँदै आएको छ । केही समयअघि पनि कृषि क्षेत्रमा काम गर्ने कामदारको अभावलाई कम गर्न ईपीएस मार्फत यहाँ आएर भिसा सकिएका कामदारलाई कृषि क्षेत्रमै काम गर्ने गरी मौसमी कामदारको एक वर्षको भिसा दिएको थियो । तर अन्य क्षेत्रमा पनि कामदार अभाव हुँदै गएपछि अप्रिल १३ देखि आउँदो डिसेम्बरको अन्तसम्म कार्यअवधि सकिने कामदारलाई १ वर्षको भिसा थपिने भएको भएको हो । चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि विभिन्न कारणले स्वदेश फर्कन नसकेकाहरुलाई ५० दिनको भिसा दिँदै आएको छ । यस्ता भिसामा रहेकाहरुलाई पनि १ वर्षको भिसा थपिने भएको छ ।

ईपीएस मार्फत कोरिया आएका कामदारले पहिले ३ वर्ष र कम्पनीलाई कामदार मन परे थप एक वर्ष १० महिनाको बोनस भिसा पाउँदै आएका छन् । अब भने ३ वर्ष कार्यअवधि सकाएकाको स्वतः एक वर्ष कार्यअवधि थप हुनेछ भने बोनस भिसाको रुपमा एक वर्ष १० महिना पनि काम गर्न पाउनेछन् । त्यसैले अब ईपीएस प्रणाली मार्फत कोरिया आएका कामदारहरुको कार्य अवधि ५ वर्ष १० महिना हुने भएको छ । साथै पाँच पटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने नियमलाई थप खुकुलो बनाउँदै पाँच पटक कम्पनी परिवर्तन गरिसकेकाले पनि थप एक पटक कम्पनी परिवर्तन गर्न पाउने भएको छ ।

अहिले दक्षिण कोरियामा कोरोना महामारीको चौथो लहरको संक्रमण चलिरहेको छ । यससँगै तत्कालका लागि नयाँ कामदार ल्याउन अप्ठ्यारो रहेको कारण यसरी थप एक वर्ष कार्यअवधि बढाउन थालिएको हो । मंगलबारदेखि सुरु हुने नयाँ नियमबाट नेपाल लगायत १६ देशका कामदार लाभान्वित हुनेछन् ।

प्रकाशित : चैत्र ३०, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?