कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लन्डनमा कामबाट फर्किंदै गर्दा नेपाली सेफको हत्या

नवीन पोखरेल

लन्डन — लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राति करिब साढे १० बजे लन्डन इस्टकोट रेल स्टेसन अगाडि झगडा हुँदा अन्दाजी ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

लन्डनमा कामबाट फर्किंदै गर्दा नेपाली सेफको हत्या

सामान्य भनाभनमा २१ वर्षीय एक युवाले कुटपिट गरेपछि उनको घटनास्थलमै निधन भएको तिमल्सेनाले बताए । प्रहरीले ती युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

लन्डनस्थित सोसल ढाबा नामक रेस्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण खुल्न सकेको छैन ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेसनतिर निस्कँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसँग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’ स्टेसनबाट केसीको घर करिब दुई मिनेट दूरीमा छ ।

एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् । ‘उनी ज्यादै मिजासिला, अरुको आदर गर्ने र मिहेनती थिए’, तिमल्सेनाले सम्झिए, ‘आफैले रेखदेख गरेको छिमेकी भाइको दु:खद घट्नाले मर्माहत बनाएको छ ।’

स्वर्गीय केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । इण्डो चाइनिज खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किडलगायत लन्डनका कैयौं रेस्टुरेन्टमा काम गरेका थिए ।

काठमाडौं स्थायी घर भएका केसी श्रीमती र भाइबुहारीका साथ लन्डनमा बस्थे ।

प्रकाशित : पुस २९, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?