कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरियामा ३८ नेपाली अलपत्र

गोकुल थोकर

सोल — श्यामप्रसाद डुम्रे कोरियाको खावान्दोमा कृषिमा काम गर्थे । कोरोना संक्रमणका कारण कम्पनीमा भने जसरी काम चलेन । उनको कार्यअवधि सकिन दुई महिना बाँकी छँदै कम्पनी छाड्नु पर्ने भयो । नयाँ कम्पनी फेर्न समय नभएपछि नेपाल फर्कने विचार गरे ।

कोरियामा ३८ नेपाली अलपत्र

केही समयअघि सरकारले सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान नियमित रुपमा गर्न दिने निर्णय गर्‍यो भन्ने उनले सुनेका थिए । उनलाई लाग्यो घर जान पाइने भो । नभन्दै उनले सामान्य अवस्थाभन्दा झन्डै दोब्बर शुल्क १३ लाख ५० हजार वन (१ लाख ३५ हजार) मा शुक्रबारको टिकट पाए । 'नियमित उडान होइन त्यसैले महँगो हो ।' ट्राभल्स एजेन्सीले उनलाई टिकट महँगीनुको कारण भन्यो ।

शुक्रबार बिहान ५ वजे नै हवाइजहाज उड्ने समय थियो । इन्छन एयरपोर्ट देखि १ सय ४० किलोमिटर टाढा रहेको उनको कम्पनीबाट बिहीबार बिहानै उनी हिँडे ।

बिहान प्लेन चढ्न जाँदा भने उनको पीसीआर रिपार्टमा अस्पतालको छाप नभएको भनेर उनलाई प्लेन चढ्न दिइएन । ‘सबै कुरा ठीक थियो । तैपनि किन हामीलाई नेपाल जान नदिएको भन्ने हामीले सोधेका छौं । यसको उत्तर हामीले अझै पाएका छैनौं ।,’ उनले भने ।

डुम्रे मात्रै होइन यसरी नेपाल जान तयार भएर पनि जान नपाएका ३८ जना नेपाली बिहीबारदेखि आइतबारसम्म इन्छन एयरपोर्टमा बसे । अहिले उनीहरु सोलको विभिन्न मोटेलमा बसेका छन् । खाना ट्राभल्स एजेन्सीले खुवाएको छ । मोटेल भाडा भने आफैले तिरेका छन् ।

एउटै अस्पतालमा एउटै खालको रिपोर्ट लिएका कसैलाई जान दिएका छन् भने कसैलाई रोकिएको छ । यस्तैमा पर्छन् डम्बरबहादुर कार्की । ‘मेरो कम्पनीबाट तीन जना नेपाल जाँदै थियौं । एउटै अस्पतालमा एउटै खालको रिपोर्ट लिएको दुई जना साथी नेपाल पुगे । मलाई जान दिइएन,’कार्कीले भने, ‘यसमा रिपोर्टको समस्या नभएर ट्राभल्स एजेन्सी र एयरलाइन्सको कुरा नमिलेको जस्तो लाग्यो । हामीले जहिले पनि दुःख नै पाउने रहेछ ।’

सेप्टेम्बर ४ उडानबाट १ सय ९९ जना नेपाल फर्किए पनि ३८ जना नेपाल जान पाएनन् । अब कहिले अर्को उडान हुने अझै ठेगान नभएको केशव गैरेले बताए । ‘४ दिन एयरपोर्टमै बसे पनि हाम्रो कुरा कतैबाट सुनुवाई भएन । आफैले पैसा तिरेर आफ्नै देशमा जान्छु भन्दापनि नपाउने ?,’ उनले भने, ‘ट्राभल्स एजेन्सीले ११ तारिखमा पठाउँछु भनेको छ । अहिलेसम्म केही ठेगान छैन ।’

यसअघि भएका नेपाल काठमाडौ चार्टर उडानमा यस्तो समस्या थिएन । पहिलोपटक आएको केएमई ट्राभल्स एजेन्सीले जनाएको छ । कसैको एकै दिनमा रिपोेर्ट आएको, फोटोकपी वा फ्याक्समार्फत आएका पीसीआर टेस्टलाई मान्यता नदिएकोले समस्या भएको जनाएको छ । कोरोना भाइरसको महामारीपछि कोरिया नेपालमा जतिपनि उडान भएका छन् केएमई ट्राभल्स एक्लैले गर्दैै आएको छ ।

कोरियामा विदेशी कामदारको संस्था प्रवासी मजदुर युनियन(एमटीयु)का महासचिव मधुसुधन ओझाले केही व्यक्तिले मात्रै एयरलाइन्सको ठेक्का लिने चलनले यस्तो समस्या आएको बताए । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छाैं । कोरियामा चार्टर उडान गर्न सक्ने कम्पनी अरु पनि छन् । उडान अनुमति दिनु पर्‍यो । प्रतिस्पर्धा हुनु पर्‍यो । विदेशमा आएर दुःख गरेर आफ्नो कार्यकाल सकिएपछि सजिलै देश फर्कने वातावरण बनाउनु सरकारको दायित्व र कर्तव्य हो । तर कोरियाका नेपालीलाई खासै वास्ता गरे जस्तो लागेन ।’ उनले भने ।

नेपाली राजदूतावासले एयरपोर्टमा छुटेकालाई सहयोग गर्ने जनाएको छ । ‘हामीले बस्नको लागि सेल्टर र खानाको लागि बन्दोबस्त गर्छौं भनेका हौ । त्यहाँ भएका साथीहरुले मान्नु भएन । पहिले एयरपोर्टमै बस्छु भन्नु भयो । अहिले सोलमा बसिरहनु भएको छ । जतिसक्दो छिटो उहाँहरुलाई नेपाल फर्काउने पहल गर्छौं ।’ नेपाली दूतावासकी श्रम सहचारी रमा भट्टराईले भनिन् ।

प्रकाशित : भाद्र २३, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?