मलेसियाको पार्कमा छाप्रो बनाएर आमा–छोराको बास

भाद्र ४, २०७७

होम कार्की

काठमाडौँ — मलेसियाको क्‍वालालम्पुरस्थित सुवाङ पार्कमा छाप्रो बनाइ ६ महिनादेखि आमा र ४ वर्षीय छोरा बस्दै आएका छन् । दुवै जनाको कानूनी हैसियत छैन ।

ओखलढुंगाकी ३८ वर्षीया सविना राई (कट्वाल) बताउने महिला आफ्नो ४ वर्षको छोरासँग बस्दै आएकी हुन् । ‘मैले बिहीबार बिहान सविना राई बसेको छाप्रोमा गएर भेटे । उनीहरुको अवस्था दहनीय छ । अरुले दिएको भरमा खाना पाइरहेका छन्,’ गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष शुभद्राकुमारी लिम्बूले भनिन्,‘उनले सुरको कुरा गर्दिनन् । नेपाल जाने हो भन्दा डराउँछिन् ।’

छाप्रोबाट अन्यत्र जान नमानेको र राति छाप्रोमा कोही गए हातियार देखाएर लेखेट्ने गरेको शुभद्राकुमारीले बतइन् । ती महिलालाई उपचारको खाँचो छ रहेको उनले बताइन् ।

उनले आफ्नो बुवाको नाम वीरबहादुर राई र ओखलढुंगाको पात्ले गाउँमा घर भएको बताएकी लिम्बूले बताइन् । उनी मलेसिया कहिले आइन भन्ने खुलेको छैन । 

मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेले लकडाउन अघि नै दूतावासले  दिएको आश्रयस्थल छोडेर हिँडेको बताए । ‘हामीले बेसाहरा भएको थाहा भएपछि आश्रय दिइराखेका थियौं । म मेरो नै ठाउँमा जान्छु भनेर निस्केर हिँडिन्,’ पाण्डेले भने,‘त्यसपछि सम्पर्क भएन ।’

ती महिलाले छोराको बाबु र नेपालको यकिन घर ठेगाना नबताउँदा स्वदेश पठाउने कागजात बनाउन नसकिएको पाण्डेले बताए । ‘नेपाली भन्ने स्पष्ट आधार खुल्दैन । नेपाली र मले भाषा बोल्छन् । उनको परिवारले  उनीबारे जानकारी दिए सजिलो हुने थियो,’ उनले भने ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully