कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भिक्टोरियामा १४६ नेपाली संक्रमित

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका १ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ४ जना आइसोलेसनमा छन् । अधिकारीहरुका अनुसार ४२ जना निको भएका छन् ।

भिक्टोरियामा १४६ नेपाली संक्रमित

विगत एक महिनादेखि भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि संक्रमितको संख्या दैनिक बढिरहेको छ । करिब ५० हजार नेपालीको बसोबास रहेको भिक्टोरियाका विभिन्न क्षेत्रमा रहेका नेपालीमा संक्रमण देखिएको हो ।

विदेश विभागद्वारा उपलब्ध गराइएको तथ्यांकअनुसार नेपालीमूलका १ सय ४६ संक्रमितमध्ये ४२ जना निको भएको र आइसोलेसनबाट समेत बाहिर आइसकेको जनाइएको छ । दैनिक सयौंको संख्यामा संक्रमित पाइएपछि भिक्टोरिया सरकारले केही दिनअघिबाट पूर्ण लकडाउन लगाएको छ भने ६ साताका लागि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्युसमेत लगाइएको छ ।

भिक्टोरियास्थित अवैतनिक महावाणिज्य दूतावासले एक विज्ञप्ति जारी गर्दै भाइरसको संक्रमण बढिरहेका कारण सावधानी अपनाउन आग्रह गरेको छ भने यदि कसैलाई संक्रमण भएको पाइए नलुकाउन तथा जानकारी गराउनसमेत भनेको छ । यसका साथै सरकारले लागू गरेका सबै नियमलाई पालना गर्न र आवश्यक नपरे घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

संक्रमित नेपालीको संख्यासमेत अत्यधिक बढेपछि क्यानबेरास्थित नेपाली दूतावास र एनआरएनएले आवश्यक सहयोग पुर्‍याउने पहल भइरहेको जनाएको छ । पूर्ण लकडाउन र रात्रिकालीन कर्फ्युका कारण सहज नभए पनि विभिन्न स्थानीय संस्थासँग मिलेर सहयोग पुर्‍याउने प्रयास भइरहेको एनआरएनएले जनाएको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले संक्रमितको संख्या बढिरहेका कारण दूतावासले अवैतनिक महावाणिज्य दूतावास, एनआरएनएलगायतका संस्थासँग समन्वय गरिरहेको जानकारी दिए । ‘अहिलेको अवस्थामा सबैभन्दा बढी मारमा नेपाली विद्यार्थी परेका छन् । उनीहरुलाई कसरी आवश्यक सहयोग पुर्‍याउन सकिन्छ भनेर लागिरहेका छौं,’ उनले भने । संक्रमितमध्ये स्थायी बासिन्दाको अनुमति पाएकाले सरकारी सहयोग सहजै पाउने भए पनि विद्यार्थीहरु निकै मारमा परेका छन् ।

प्रकाशित : श्रावण २४, २०७७ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?