भारतमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

श्रावण ४, २०७७

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एक नेपालीले ज्यान गुमाएका छन् । दक्षिण भारतको बेंगलोरमा बस्दै आएका ५६ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो । बझाङको छबिस पाथीभेरा गाउँपालिका घर भएका ती पुरुष करिब ३० वर्षदेखि बेंगलोरमा  बस्दै आएका थिए । 

स्वास्थ्यमा समस्या आएपछि उनलाई परिवारले गत बुधबार अस्पताल भर्ना गरेको थियो । स्वाब परीक्षण गर्दा उनलाई कोरोना भाइरस पुष्टि भएको थियो । उपचारकै क्रममा बिहीबार राति उनको निधन भएको मृतकका साथी रामबहादुर ओखेडाले कान्तिपुरलाई बताए ।

उनको मृत्युसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या १२ पुगेको छ ।

दिल्लीस्थित दूतावासका अनुसार हालसम्म भारतमा रहेका ८३ जना नेपालीमा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ६४ जना उपचारपछि निको भइसकेका छन् भने ७ जनाको उपचार चलिरहेको दूतावासले जनाएको छ । उनीहरुको अवस्था पनि सामान्य रहेको छ ।

भारतमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै यहाँ रहेका नेपालीहरुमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा रोजगारी, अध्ययन र अन्य प्रयोजन गरी करिब २० लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ । 

तीमध्ये धेरैजसो महाराष्ट्र, दिल्ली, तमिलनाडु, गुजरात र पन्जाबमा छन् । नेपालीहरुको बाक्लो उपस्थिति रहेका यिनै भारतीय राज्यहरुमै कोरोना संक्रमण उच्च देखिएको छ । जसले गर्दा नेपालीहरुमा संक्रमणको जोखिम पनि बढ्दै गएको हो । 

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully