चीनबाट नेपाल फर्किन चाहनेको संख्या दुई सय हाराहारी- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट नेपाल फर्किन चाहनेको संख्या दुई सय हाराहारी

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा चीनमा अड्किएका करिब २ सय जना नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । बेइजिङस्थित नेपाली दूतावासले जुन ७ तारिखसम्मको समय सीमा दिएर यहाँका नेपालीहरूलाई फारम भर्न सूचित गरेको थियो ।

त्यसअवधिसम्म १ सय ७२ जनाले फारम भरेका थिए भने उडानको टुंगो नलागुञ्जेलसम्मका लागि अहिले पनि नामावली संकलन कार्यलाई निरन्तर राखिएको दूतावासले जनाएको छ ।

फर्किनेको सूचीमा सबैभन्दा बढी ११५ जना विद्यार्थीहरू छन्। जुन महिनामा ग्राजुएट हुने ८१ जना र जुलाईको मध्यतिर ग्राजुएट हुने ९१ जना विद्यार्थीहरू छन्। अतः छात्रवृत्ति र अध्ययनको काम सकिएपछि फर्किनैपर्ने बाध्यतामा अधिकांश विद्यार्थीहरू हुनेछन्। शाङ्हाई इन्टरनेश्नल स्टडिज युनिभर्सिटीमा ग्राजुएट भएर नेपाल फर्किने प्रतीक्षामा रहेका भक्तपुरका सन्देश देउजाले जुलाई १५ पछि भिसा अवधि र छात्रवृत्ति सकिने बताए। उनले भने, ‘भिसा अवधिपछि छात्रवृत्ति सकिएर छात्रावासबाट बाहिरिनुपरेमा छोटो समयका लागि कोठा पाउन मुश्किल हुनसक्छ। यस्तो समस्या ग्राजुएट हुँदै गरेका अन्य धेरै विद्यार्थीहरूलाई पर्नसक्नेछ ।’

नेपाली दूतावासका अनुसार विद्यार्थीबाहेक रोजगारी वा पर्यटनका सिलसिलामा चीनमा रहेका २६ जनाले फर्किनका लागि अनुरोध गरेका छन्। चीनको युन्नान प्रान्तमा हस्तकलाको काम गर्न आएका एक दर्जनभन्दा बढी कामदारका साथै व्यावसायिक र पर्यटकीय भिसामा आएका नेपालीहरू पनि फर्किन चाहन्छन् ।

कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार फर्किने विद्यार्थीहरूको समय एकै नभएकाले व्यवस्थापन असहज देखिन्छ। दूतावासले बेइजिङ र क्वाङ्चौ सहरबाट उडान गर्न पायक हुने भनेर आकांक्षीहरूलाई जानकारी गराएको छ। यात्रु संख्या थोरै भएमा विमान भाडा पनि महँगो पर्ने चिन्ता विद्यार्थीहरूको छ। लम्सालले भने, ‘यात्रु संख्या कति भन्ने विषय गौण भएपनि ग्राजुएन हुने विद्यार्थीहरूको समय मिलाउन अफ्ठ्यारो हुनसक्छ।’

फारम भर्ने बेलामा अधिकांश विद्यार्थीले जुन महिनामा हो भने क्वाङ्चौबाट उडान हुँदा सजिलो हुने बताएका छन्। तर चीनको राजधानीबाट उडान भएमा बेइजिङ भित्रिनुपर्ने नेपालीहरूलाई न्यूक्लिक टेस्टदेखि स्वास्थ्यसम्बन्धी विवरण संकलन गर्नुपर्ने हुन्छ। जुलाईमा बेइजिङबाट फर्किन चाहने विद्यार्थी अधिक हुनेछन् ।

कोभिड-१९ महामारीको अवधि भएकाले यसअघि नै भिसा अवधि सकिएका विद्यार्थी र अन्य विदेशीका लागि चीन सरकारले लचिलो नीति लिएर म्याद थप गरिदिएको छ। कतिपय नेपाली विद्यार्थीको अध्ययन सकिएपनि अन्य खर्च आफैंले बेहोर्ने गरी विश्वविद्यालयहरूले छात्रावासको सुविधा दिएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

पीसीआर मेसिन किन्दै चौरजहारी नगरपालिका 

हरि गौतम

रुकुम पश्चिम — जिल्लामै सञ्चालन हुने गरी आरटी पिसिआर मेसिन प्रक्रिया अघि बढाइएको छ । चौरजहारी नगरपालिकाले पीसीआर मेसिन सेटअप तथा रिएजेन्ट खरिदसम्बन्धी सूचना प्रकाशन गरेको हो । ३ दिनको म्याद राखेर प्रस्ताव आव्हान गरिएको नगरपालिकाले जनाएको छ । 

पीसीआर मेसिन सेटअपका लागि प्रक्रिया थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । संघ तथा प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएपछि र नगरपालिकाले त्यसको व्यवस्थापन गर्न सक्ने भएपछि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । उनका अनुसार १ करोड ३५ लाख रुपैयाँमा सामग्री खरिद गर्ने र ल्याब स्थापना गर्ने नगरपालिकाको योजना छ ।

भारतका विभिन्न ठाउँबाट आएकाहरु अहिले क्‍वारेन्टाइनमा बसिरहेका छन् । चौरजहारीले मेसिन खरिद गरेपछि जिल्लाभरिका क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण गरिनेछ । अहिले जिल्लाभरि झण्डै १ हजार ५ सय जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुमा कोरोना भए/नभएको पत्ता लगाउन समस्या भएपछि मेसिन किन्ने र ल्याब स्थापना गर्ने प्रक्रिया थालेको नगरप्रमुख विशाल शर्माले बताए ।

बजेटका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको उनको भनाइ छ । ‘जिल्लाभरि दैनिकजसो स्वाब संकलन हुने भए पनि परीक्षणमा समस्या भएपछि पीसीआर मेसिन खरिद गर्न लागिएको हो,’ उनले भने, ‘अहिले त्यसको संरचना व्यवस्थापनको काम भइरहेको छ ।’ माथिल्ला सरकारले बजेट नदिए जिल्लाकै ६ स्थानीय तहले यसको व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख शर्माले बताए ।

गत शनिबार जिल्लाका ५ स्थानीय तहबाट पठाइएको ७ सय ७५ जनाको स्वाबमध्ये ६ सय २५ जनाको रिपोर्ट आउन बाँकी छ । पछिल्लो समय चौरजहारीबाट पठाइएका ४ सय ६९ र आठबिसकोटबाट पठाइएका ५२ स्वाब पनि परीक्षणकै क्रममा छन् ।

रुकुममा संकलन गरिएको १ हजार १ सय ४६ जनाको स्वाबको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन ईश्वर रावलले बताए । उनका अनुसार सबै स्वाब सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमा पठाइएको हो । मेसिनले नधानेको भन्दै निर्देशनालयले स्वाब संकलन बन्द गर्न निर्देशन दिइरहेको उनले गुनासो गरे । ‘केही समयका लागि संकलनको काम रोकेका छौं,’ उनले भने, ‘परीक्षण गर्नुपर्ने स्वाबको चाप घटेपछि स्वाब संकलनलाई तीव्रता दिइनेछ ।’

प्रकाशित : जेष्ठ ३०, २०७७ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×