कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा एकैदिन ५ हजार २ सय ३५ जना डिस्चार्ज, निको हुने अधिकांश नेपाली

होम कार्की

काठमाडौँ — कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् ।

कतारमा एकैदिन ५ हजार २ सय ३५ जना डिस्चार्ज, निको हुने अधिकांश नेपाली

कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार यो निको हुनेको यो संख्या हालसम्म कै उच्च संख्या हो । संक्रमितमध्ये १९ देखि ४० वर्षका युवा कामदार रहेकोले निको हुनेको संख्या पनि उच्च देखिएको हो । कतारमा हालसम्म २५ हजार ८ सय ३९ जनालाई निको भइसकेको छ ।

‘क्‍वारेन्टाइनमा बसेको ४० दिनपछि निस्कन पाए । दुईपटकको परीक्षण गर्दा नेगेटिभ आयो । क्‍वारेन्टाइनबाट निस्केर गाडीमा राखिएको थियो । म बसेको गाडीमा सबैजना नेपाली थिए,’ बाग्लुङका ३४ वर्षीय एक नेपालीले भने,‘कोरोनालाई जितेर निस्कदा सबैजना उत्साहित देखिन्थे । हामीलाई युद्ध मैदानबाट घर फर्केको जस्तो लागेको छ ।’

निको भएर निस्केकालाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको उनले बताए । ‘यताउता नजानु भनेको छ । कसैलाई नभेट्नु भनेको छ । दुई हप्ता कम्पनीकै क्याम्पमै बस्नेछु,’ उनले भने ।

शनिबार नै थप २३ सय ३५ जनालाई कोरोना पोजिटिभ देखिएको छ । ५ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा यो संख्यामा पोजिटिभ देखिएको हो । जनस्वास्थ्य मन्त्रालयका अनुसार २९ हजार ३ सय ८७ जना क्‍वारेन्टाइन र अस्पतालमा उपचाररत छन् ।

मे १९ सम्मको रिपोर्ट अनुसार ६ हजार ९ सय ११ जना नेपाली कामदारलाई कोरोना पोजिटिभ देखिएको हो । कतारमा संक्रमित हुने समुदायमा नेपाली दोस्रोमा पर्छ । सबैभन्दा बढी भारतीय समुदाय देखिएको छ । मृत्युदर भने एकदमै कम छ । हालसम्म ३६ जनाको मृत्यु भएको छ । जसमा ३ जना नेपाली कामदार रहेका छन् ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिका अध्यक्ष अब्दुल्ला हतीफ अलखलले खाडी क्षेत्रमै कतारले स्वास्थ्य परीक्षण दर बढाएकोले कोरोनाबाट संक्रमित संख्या बढेको देखिएको बताए । ‘कतारमा खाडीमै संक्रमणदर तुलनात्मक रुपमा बढिरहेको छ । आक्रमक रुपका सर्म्पक व्यक्तिको पहिचान भइरहेको छ । कतारले संक्रमित व्यक्तिको जालोलाई बृहत रुपमा अनुसन्धान गरिरहेको छ ।

सबैको परीक्षण भइरहेको छ । धेरै देशले यो गर्न सकेको छैन,’ उनले भने,‘नयाँ पहिचानले धेरै केश देखिइएको हो । शारीरिक र सामजिक दुरी कायम नहुँदा संक्रमितको संख्या बढिरहेको हो ।’

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजले कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्नो नागरिक सरह उपचार गरिरहेको बताए । ‘बिना भेदभाव अन्तर्राष्ट्रिय स्तरको उपचार भइरहेको छ । जसले गर्दा निको हुने संख्या पनि बढिरहेको हो । निको हुने पछिल्लो नतिजाले समुदायमा ठूलो हर्ष बढाएको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १७, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?