कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाका नेपाली फर्काउन दूतावासको ७ सर्त

नेपाल फर्कन चाहने नागरिकले हवाई उडान खर्च, १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा लाग्‍ने खर्च, विमानस्थलदेखि क्वारेन्टाइनस्थलसम्म जाने यातायात खर्च आफै बेहोर्नुपर्नेछ ।
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियास्थित नेपाली दूतावासले इच्छुक नागरिकलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरेको छ । सूचना जारी गरेर फर्कन चाहनेले फाराम भरेर जुन २ तारिखसम्म पठाउन आग्रह गरिएको छ ।

अस्ट्रेलियाका नेपाली फर्काउन दूतावासको ७ सर्त

स्वदेश जान इच्छुक नागरिकलाई उनीहरुको अवस्था हेरेर प्राथमिकताका आधारमा ससर्त नेपाल फर्काइने तयारी सुरु गरिएको अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले जानकारी दिए । आउँदो जुन ८ तारिखमा अस्ट्रेलिया तथा न्युजिल्यान्डका नागरिक लिएर आउने नेपाली ध्वजावाहक विमानमार्फत पहिलो चरणमा नेपाली फर्काउने तयारी गरिरहेको उनको भनाइ छ । यद्यपि उक्त विमानबाट नेपालीलाई फर्काउन विभिन्न प्राविधिक कठिनाइ आइरहेको दहालले सुनाए ।

उनका अनुसार नेपाली विमान राजधानी क्यानबेरामा अवतरण गर्ने र उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न नमिल्ने भएकाले सिड्नीबाटै नेपालीलाई उक्त विमानमा बोर्डिङ गराउने विषयमा छलफल भइरहेको छ ।

अर्कातिर नेपाल वायुसेवा निगमको यहाँ कुनै कार्यालय नभएकाले ब्यागेज ह्याडलिङ, टिकट लगायतका प्राविधिक समस्या आउने भएकाले आफ्नै विमानबाट फर्काउन सकिने/नसकिने तय भइनसकेको उनले बताए । तर पनि नेपाल फर्कन औपचारिक आग्रह गरिसकेका नेपालीलाई अन्य एयरलाइन्सको नियमित उडानमार्फत कतार, दुबई लगायतका स्थानसम्म पुर्‍याएर त्यहाँबाट चार्टर विमानमार्फत नेपाल लैजानेबारे समेत तयारी र छलफल भइरहेको दहालको भनाइ छ ।

‘हामीले पहिलो प्राथमिकतामा आफ्नै विमानबाट नेपालीलाई स्वदेश फर्काउन लागिपरेका छौं र प्राविधिक समस्या समाधान हुनेमा आशावादी छौं,’ राजदूत दहालले भने, 'कसरी नेपाली नागरिकलाई स्वदेश फर्काउन सकिन्छ भन्नेबारे अस्ट्रेलियास्थित विदेश विभागका अधिकारीसँग सोमबार छलफल हुँदै छ ।'

दूतावासले यहाँका विभिन्न नेपाली संस्थासँग समेत यसबारे छलफल गरिरहेको जनाएको छ । यहाँ रहेका ४ सयभन्दा बढी नेपालीले घर फर्काइदिन आग्रह गर्दै यसअघि नै दूतावासमा टेलिफोन तथा इमेलमार्फत आग्रह गरेका थिए । अहिले नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने निर्णय गरेपछि दूतावासले पनि यसबारेमा तयारी थालेको हो ।

दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल फर्कन चाहने नागरिकले हवाई उडान खर्च, नेपालमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च, विमानस्थलदेखि क्वारेन्टाइनस्थलसम्म जाने यातायात खर्च लगायत बेहोर्नुपर्नेछ ।

विभिन्न ७ वटा सर्त राखेर फाराम भर्न अनुरोध गरिएको छ । तर पनि कुल खर्च कति लाग्‍ने भन्नेबारे जानकारी उपलब्ध छैन ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?