क्यानडाका २३ नेपालीमा संक्रमण, ११ निको भए- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानडाका २३ नेपालीमा संक्रमण, ११ निको भए

माधव घिमिरे

विराटनगर — कोरोना भाइरसबाट क्यानडामा अहिलेसम्म २३ नेपाली संक्रमित भएका छन् । तीमध्ये ११ जना उपचारपछि निको भइसकेका छन् ।

सामान्य लक्षण देखिएकाहरू ‘सेल्फ आइसोलेसन’मा बसिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले जनाएको छ।

संघका अनुसार यो शनिबार साँझसम्मको तथ्यांक हो । पछिल्लोचोटि क्यानडाको अल्बर्टा प्रान्तको क्याल्गेरीका तीन जना, अन्टेरियो प्रान्तको स्कारब्रोमा पाँच जना र ब्राम्प्टनका चार नेपालीमा संक्रमण पुष्टि भएको हो ।

एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेका अनुसार ११ जना निको भइसकेका छन् भने आइसोलेसनमा रहेका १२ जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

अटोवाका पाँच, मन्ट्रियलका दुई, टोरन्टोका दुई, मिसिसागारका एक र क्याल्गेरीका एक नेपाली संक्रमणमुक्त भएका हुन् ।

संघका अध्यक्ष घिमिरेका अनुसार संक्रमणबाट प्रभावित नेपालीलाई आवश्यक सहयोग गरिएको छ । बिरामीको अवस्था र आवश्यकता हेरेर संघले सहयोग गरिरहेको छ ।

एनआरएनएका अनुसार क्यानडामा ४० हजारभन्दा बढी नेपाली छन् । उच्च शिक्षा, अवसर र रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्यमध्ये क्यानडा पनि हो ।

क्यानडामा पछिल्लो तथ्यांकअनुसार देशभर संक्रमित हुनेको संख्या करिब ८५ हजार छ भने ६ हजार ४ सय २१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

त्यो घर यो घर

अरुणा थारू चौधरी

घरबारे पहिलोपटक मैले प्रावि तहमा पढ्दाताका सुनेकी थिएँ । चिच्याएर घोक्ने चलन थियो । गुरुले ‘घरले के दिन्छ ?’ भनी सोध्नुहुँदा हामी त्यही घोकेको ओकल्थ्यौं- ‘घरले हामीलाई सुरक्षा दिन्छ, हावा, पानी, घाम र जंगली जनावरबाट बचाउँछ, सर !’

पहिलेका मानिसहरू ओडारमा बस्थे । धेरै बालबालिका र अशक्तहरू जंगली जनावरको सिकार हुन्थे । जो भाग्न वा दौडन सक्दैनथे, जोसँग सिकार खेल्ने सीप या प्रतिकार गर्ने क्षमता हुँदैनथ्यो, ती सहजै जनावरको आहारा बन्थे ।

पछि मानिसले घर बनाएर सुखी जीवन जिउन थाले । यस्तै भनेर गुरु घरको कथा टुंग्याउनुहुन्थ्यो ।

तर अचेल त्यही घर महिलाहरूका लागि असुरक्षाको थलो हुन थालेको छ । घरले उस बेला बाहिरी आक्रमणबाट त बचायो, तर अहिले लकडाउनमा घरभित्र आफ्नैबाट बचाउन सकिरहेको छैन । सञ्चारमाध्यममा प्रायः उजुरीका आधारमा महिला हिंसाका घटना बाहिर आउँछन्, तर त्यस्ताको संख्या कति होला, जसले त्रास र इज्जतका कारण शारीरिक-मानसिक पीडा लुकाइरहेका छन् ? आफ्नै घरपरिवारविरुद्ध उजुरी दिएपछि कहाँ बस्न जाने ? पीडितप्रति सामाजिक दृष्टिकोण के हुने ?

अचेल घरभित्रै बालिका र महिलालाई बचाउन गाह्रो छ । हामी अभिभावकहरू नैतिक शिक्षा र सदाचारका कुरा छोरीलाई जति छोरालाई सिकाउँदैनौं । छोरी घरबाहिर जाने कारण र समयको लेखा राख्छौं । के खाई, कोसँग हिँडी, साथीहरू को छन् ? तर छोरामा यो लागू हुँदैन । घरमा बुबाले आमालाई गरेको व्यवहारले पनि बालबालिकामा प्रभाव पारेको हुन्छ । परिवारका अन्य पुरुष सदस्यले त्यसैको सिको गर्ने कुचलनले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।

अर्को बलियो घर हामीले शिक्षा लिने विद्यालय हो । जहाँ दस कक्षासम्म हामी अनगिन्ती कथा पढ्छौं । मिहिनेती कमिला, बाघ र बाख्रा, चोर पुलिस, लोभी, गुरु र शिष्य, देश प्रेम, भक्तिभावजस्ता विषयबारे पढ्छौं । गुरु, अतिथि, मातापिता मात्र होइन, सीता र भृकुटीबारे पनि पढ्छौं । तर, यहाँ पनि महिला हिंसा, महिला सम्मान लगायत जीवन भोगाइको एउटा ठूलो हिस्सा छुट्छ । सायद त्यसैको प्रतिफल हामी सधैं पाइरहन्छौं । आफूलाई असहज हुने कुरा जानेर वा नजानेर गुरुले पनि सिकाउँदैनन् । केटा र केटी अलग्गै बस्ने व्यवस्था त विद्यालयमा हुन्छ, तर आचरण सफा राखे सँगै बसेर पढ्न सकिन्छ भन्ने शिक्षा दिइँदैन ।

गुरु र पिताको सम्मानको जति गुणगान गरिन्छ, त्यति आमा र महिला सम्मानको कुरा गौण हुने गरेको छ । त्यसैले नातिनीदेखि हजुरआमासम्मका महिलाहरू यौन हिंसामा पर्ने गरेका छन् ।

नेपालमा यसको भूगोल (हिमाल, पहाड र तराई) जस्तै घर पनि तीनै किसिमका हुने गरेका छन् । एक थरी घर घामपानीबाट बच्न सकिने मात्र हुन्छ । भित्ताहरू जालीदार हुन्छन् । विभेद हुन्न, केही कुरा कसैबाट लुक्दैन । यस्ता घरमा जसले पनि सजिलै छिर्न र लुट मचाउन सक्छ । प्राकृतिक प्रकोपले यस्ता घरहरूलाई सहजै उडाउन सक्छ, बगाउन सक्छ र थिच्न सक्छ ।

अर्को थरी घर केही मजबुत हुन्छ । बलियो पर्खाल लगाइएको हुन्छ । तर यस्तो घरभित्र विभेदको सुरुआत लैंगिकताबाट हुन्छ । महिला-पुरुषमै विभेद भएपछि अरू विषयमा पनि स्वतः हुने नै भयो । महिला र पुरुषबीच मालिक र नोकरको सम्बन्ध स्थापित हुने यस्ता घरहरूमा महिलाको सम्मानको के कुरा ! यस्तो घरका महिलाले पुरुषका लागि ब्रसमा टुथपेस्ट राखेर मुखसम्म पुर्‍याइदिनुपर्ने बाध्यता छ । बलात्कारका मुद्दा मिलापत्रमा टुंग्याइन्छन् । महिलाहरू काममा पेलिइरहन्छन्, पुरुषहरू मोजमस्तीमा रमाइरहन्छन् । तेस्रो किसिमको घरलाई कसैले हल्लाउन सक्दैन ।

घरभित्रका कुरा छिसिक्क बाहिर आउन्नन् । यस्तो घरका सदस्य विलासी, लोभी, चाप्लुस हुन्छन् । महिला हिंसा चरममा हुन्छ यहाँ । घरको इज्जत बचाउन धेरै महिला अमानवीय व्यवहार र हिंसाका घटनालाई मनभित्रै दबाएर बस्छन् । घरभित्रको हिंसालाई उठान गर्ने महिलाहरू आफैं हिंसाका चपेटामा पर्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×