कतारद्वारा ५ हजार नेपालीलाई पुग्‍ने खाद्यान्‍न उपलब्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार सरकारले खाद्यान्‍न संकट भएका ५ हजार नेपाली कामदारलाई पुग्ने खाद्यान्‍न उपलब्ध गराएको छ । यो खाद्यान्नलाई दोहास्थित नेपाली दूतावासमा भण्डार गरिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले कतार च्यारिटीमार्फत नेपाली समुदायलाई उपलब्ध गराएको हो । खाद्यान्‍न अभाव भई नेपाली दूतावास र नेपाली संघसंस्थामा सम्पर्कमा आउने कामदारलाई वितरण गरिनेछ ।

नेपाली दूतावासले खाद्यान्‍न अभाव भएका कामदारलाई एकद्धार प्रणालीअनुसार वितरण गर्न गैरआवासीय नेपाली संघ, कतारको संयोजनमा टोली गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष उत्तम गुरुङको नेतृत्वमा राहत वितरण भइरहेको छ ।

संघका अध्यक्ष मुक्तदा आलामले खाद्यान्न अभावले कोही पनि भोकै पर्नुपर्ने अवस्था नरहेको बताए । एक जनालाई एक काटुनको दरले राहत वितरण गरिनेछ । एउटा काटुनमा दुई किलो चामल, आधा किलो दाल, चिनी, पिठो लगायत रहेको आईसीसी सदस्य रमेश भट्टले बताए ।


प्रकाशित : जेष्ठ ९, २०७७ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्

बारामा कोरोना पुष्टि भएकाहरु भारतबाट आएका

लक्ष्मी साह

बारा — जिल्लाको सिम्रौनगढ नगरपालिकाअन्तर्गत कंकाली माविमा रहेको क्‍वारेन्टाइनका ६ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ११ पुगेको छ ।  

जेठ ७ गते क्‍वारेन्टाइनका १ सय ३० जनामध्ये ५० जनाको स्बाब संकलन गरी जाँचका लागि हेटौंडास्थित कीटजन्य अनुसन्धान तथा तालीम केन्द्रमा पठाइएपछि ६ जनामा कोरोना पोजेटिभ देखएको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताए । पीसीआर जाँचमा पोजेटिभ देखिएका ती ६ जना भारतबाटै आई क्‍वारेन्टाइनमा थिए । उनीहरु महाराष्ट्र, हरियाणा र दिल्लीबाट आएका हुन् ।

सिम्रौनगढ नगरपालिका ७ का ३८, ४५ र ३४ वर्षीय, वडा ११ भगवानपुर रामनगर टोलका २२ वर्षीय, वडा २ का २५ वर्षीय र वडा १ का २७ वर्षीय पुरुष संक्रमित भएका हुन् । पीसीआर जाँचका लागि आवश्यक पर्ने पिभीटी किट अभावमा सिम्रौनगढ लगायत जिल्लाका धरै ठाउँका क्‍वारेन्टाइनमा भएकालाई परीक्षणका लागि स्बाब लिन समस्या भइरहेको जनस्वास्थ्य कार्यालयका प्राविधिक शंकर गुप्ताले बताए । उनले संक्रमितलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ २२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×