कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइयो

होम कार्की

काठमाडौँ — कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।

अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो । अन्य मुद्धामा मृत्युदण्ड पाएका नेपालीलाई भने कार्यान्वयन गरिएको छैन । हत्या प्रकरणको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।

चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो । उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फैसलालाई सदर गरिदिएको थियो । अदालतमा बयानका क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको हो ।

नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् । पोखराका कौशल कार्कीलाई १० वर्ष जेल र दुई लाख ६० हजार रियाल ब्लडमनी तिनुपर्ने फैसला भइसकेको छ ।

गणेशकुमार कार्कीलाई आजीवन कारावास र २ लाख ६० हजार रियाल जरिवाना तोकेको छ । कौशलले हत्या स्वीकार गरे पनि गणेशले अझैसम्म अभियोग स्वीकार गरेको छैन ।

अदालतले सिद्धी नाज र बालकुमार श्रेष्ठलाई पनि आजीवान कारावास र दुई लाख ६० हजार रियाल जरिवाना तोकेको छ । आफ्नै दाइ रामप्रसाद कुमार दनुवारको हत्या अभियोगमा भविलाल कुमार दनुवार पनि जेलमा छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स

सुरज कुँवर

काठमाडौँ — अफ्रिकी मुलुक लिबियामा २१ दिनअघि हृदयघातबाट मृत्यु भएका एक नेपाली सेनाको शव लिन श्री एयरलायन्सको सीआरजे विमान बिहीबार बिहान ७ बजे ट्युनिसिया उडेको छ ।

काठमाडौंबाट उडेको यो विमान ओमानको मस्कट, इजिप्टको कायरो हुँदै बिहीबार बेलुकी ट्यनिसियाको राजधानी ट्य्निसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो चार्टर उडान संयुक्त राष्ट्रसंघको खर्चमा नेपाली सेनाले काठमाडौंबाट गराएको हो । प्रवक्ता पाण्डेका अनुसार, लिबियामा रहेको संयुक्त राष्ट्र संघको सहायता मिसनमा खटिएका झापा मूल घर भएका एक जमदारको मे १ तारिख (वैशाख १९ गते) हृदयघातका कारण मृत्यु भएको थियो । ती सैनिकको शव बोकेर उक्त विमान शुक्रबार दिउँसो काठमाडौं फर्किने छ ।

आन्तरिक उडानमा रहेको तथा हालै एसियाका केही मुलुकमा कार्गो चार्टरको अनुमति लिएको श्रीलाई नागरिक उड्डयन प्राधिकरणले विशेष परिस्थिति भएकाले कार्गो उडानको अनुमति दिई अफ्रिका पठाएको हो ।

श्रीको बमबार्डियर विमान काठमाडौंबाट सोझै ट्युनिसिया उड्न नसक्ने भएकाले काठमाडौंबाट मस्कट, मस्कटबाट इजिप्टको कायरो र ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । शव लिबियाबाट त्यहाँसम्म सडकमार्ग हुँदै ल्याइएको प्रवक्ता पाण्डेले बताए ।

श्रीका एक अधिकारीका अनुसारका उक्त विमान शुक्रबार ट्युनिसियाबाट शव मात्रै बोकेर कायरोबाट दुबई हुँदै काठमाडौं फर्किने उडान तालिका रहेको छ ।

प्रवक्ता पाण्डेले शुक्रबार नै शव काठमाडौंबाट नेपाली सेनाको विमानमा भद्रपुर पठाइने बताएका छन् । उनका अनुसार, पछिल्ला महिना अफ्रिकी मुलुकमा शान्ति सेनामा खटिएका तीन सैनिकको ह्दयघातका कारण मृत्यु भइसकेको छ । श्रीले पछिल्लो एक महिना दुइटा चार्टर शव ल्याउनकै लागि गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×