न्युयोर्कमा १७३ नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

दिनेशजंग शाह

न्यूयोर्क — कोभिड–१९ महामारीका कारण समस्या भोगिरहेका न्यूयोर्कमा रहेका एक सय ७३ नेपाली विद्यार्थीहरुलाई न्यूयोर्कमा क्रियाशील नेपाली संघ संस्थाहरुको साझा सन्जाल ‘कोरोना विरुद्व सचेतना एवं सहयोग समुह’ले खाद्यान्न वितरण गरेर सहयोग गरेको छ । विद्यार्थी भिसा (एफ वान) रहेका दर्जनौं विद्यार्थीहरुलाई तीन चरणमा गरी एक महिना पुग्ने खाद्यान्न दिइएको छ ।

पहिलो चरणमा ४६ विद्यार्थीहरुलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरिएको थियो भने दोस्रो चरणमा ५६ जना लाभान्वित भएका थिए । तेस्रो चरण अन्तर्गत शनिबार थप ७१ जना विद्यार्थीहरुलाई सहयोग गरिएको हो । व्यक्तिगत गोपनियताका कारण सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण सार्वजनिक नगरिएको ‘सचेतना एवम सहयोग समुह’ का संयोजक आनन्द बिष्टले कान्तिपुरलाई बताए । उनका अनुसार खाद्यान्न राहतका लागि विद्यार्थीहरु निरन्तर सम्पर्कमा आइरहेका छन् ।

शनिबार खाद्यान्न सहयोग प्राप्त गरेका एक विद्यार्थीले भने, ‘स्थानीय सरकारको निर्देशन बमोजिम अहिले कोठा भाडा तिर्न नसकेपनि घरबेटीले हामीलाई निकाल्न सक्दैन । तीन महिनालाई बसाईंको समस्या छैन । अहिले मुख्य आवश्यकता, खाद्यान सहयोग नै हो ।’

न्यूयोर्कमा स्थानीय सरकारले विभिन्न स्थानमा निशुल्क खाना वितरण गरिरहेको छ । लामो लाइनको झन्झट, संक्रमणको डरले पनि विद्यार्थीहरु त्यहाँ जान हच्चकिन्छन । सिटी कलेजमा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘वितरण गर्ने ठाउँसम्म जानै डर छ । हामीलाई दाल भात चाहिने । त्यहाँ अर्कै खाना बाँड्छ ।’

समुहले भने विद्यार्थीहरुको डेरामै २० पाउन्डको चामलको बोरा, तरकारी, चना, दाल, तेल, बिस्कुट लगायतका उपभोग्य सामानहरु डेलिभरी गरिरहेको छ । समुहमा सक्रिय स्वयंसेवी एवं दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही भन्छन्, ‘राहत वितरण गर्न हामी एकदर्जन सक्रिय छौं । सुरक्षित रुपमा सावधानी पूर्वक खाद्यान्न संकलन र डेलिभरी गरिरहेका छौं ।’

आगामी साता चौथो चरणको सहयोगका लागि पनि दर्जनौं विद्यार्थीहरु सम्पर्कमा आइसकेको सन्जालले बताएको छ । समुहबाट सहयोग पाउन, विद्यार्थीहरु ‘एफ वान’ भिसामा हुनपर्ने नियम छ । सामाग्री वितरणका लागि तीन दर्जन संघ संस्थाहरु एवं दर्जनौं व्यक्तिहरुको समुहले सहयोग गरिरहेका छन् । स्थिती अनुकुल नहुन्जेल समुहले अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सधैंको सीमा विवादभन्दा काँडेतार लगाऔं : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए ।  

उनले सबै खालका तथ्य र तर्कका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्ने पनि बताए । चीन सरकारसँग पनि कुरा गर्नुपर्छ । 'दुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ । अनि आफ्नो सीमामा सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ,' उनले भने ।

उनले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकहरुमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको पनि बताए ।

'सानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ । नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ,' उनले भने ।

उनले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताए । 'लिम्पियाधुराबाट बग्ने काली नै सीमाना नदी हो भन्ने दस्तावेजहरू पनि पर्याप्त छन्,' उनले भने, 'यो कुरा भारत सरकारले पनि त्यतिबेला स्वीकार गरिसकेको ।'

उनले सरकारले भिडियो कन्फ्रेन्समार्फत् भारतसँग कुरा गर्नुपर्ने पनि बताए । यसमा कोरोना भनेर आलटाल गर्नु नहुने पनि उनले बताए ।

उनले नेपालले आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नु पर्ने पनि बताए । भूमि सुधारमन्त्री पद्मा अर्यालले दुई सय वर्षदेखि लिपुलेक क्षेत्र नेपालको नक्सामा छैन भन्ने अभिव्यक्ति दिएको आफूले सुनेको भन्दै उनले यो कुरा गलत भएको पनि बताए । आफ्नै पार्टीकी मन्त्रीको अभिव्यक्तिबारे उनले भने 'मन्त्रीले यस्तो कुरा बोलेको हो भने सरकारलाई विवादित बनाउने अभिव्यक्ति दिनु हुन्न । बोलेको होइन भने खण्डन दिनुपर्छ । र नक्सा तत्काल सार्वजनिक गर्नुपर्छ ।'

प्रकाशित : वैशाख २९, २०७७ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×