३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण 

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा 'सेल्फ क्वारेन्टाइन' मा बसिरहेका छन । संक्रमित सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण 

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो । तर जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजा पोजिटिभ देखिएको थियो ।

आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो । विद्यार्थीलाई सहयोग पुर्‍याइरहेकाे एनआरएन अस्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए । त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्यसमेत सामान्य रहेको दूतावासले जनाएको छ । यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेत दूतावासको भनाइ छ ।

'हामीले घटनाको बारेमा थाहा पाएपछि एनआरएन, कन्सुलेटको सहकार्यमा आवस्यक सहयोग पुर्‍याउने प्रयास गरिरहेका छौं,' दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले भनिन् । उनले उनीहरुको स्वास्थ्य सुधार भइरहेको र अस्पतालबाट नियमित मनिटर भइरहेको सुनाइन् । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले यसअघि सिड्‍नीकै अर्को एक विद्यार्थीमा संक्रमण पुष्टि भए पनि उनी अहिले स्वस्थ भइसकेको सुनाए । 'संक्रमण भएका विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य छ तर अहिलेको अवस्थामा हामी सबैले यस भाइरसबाट बच्नका लागि एकदमै सजग हुन आवश्यक भइसकेको छ,' गुरुङले भने ।


अस्ट्रेलियाकै तास्मानियामा यसअघि एक विद्यार्थीमा कोरोना संक्रमण पाइएको भए पनि उनी स्वस्थ भएर घर फर्किसकेका छन् । दूतावासले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन अस्ट्रेलियामा रहेका विद्यार्थीलाई आग्रह गरेको छ ।

अस्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमित पाइएका छन जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन् । यस भाइरसबाट अहिलेसम्म यहाँ १४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?