२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘आशैआशमा कटिरहेका छन् सनैयामा दिनहरु’

होम कार्की

काठमाडौँ — सधैं दिन एकनासको हुँदैन भन्थे, दिल भट्टराईलाई अहिले त्यस्तै लाग्छ । दैनिक १२ घण्टा काममा खटिने भट्टराई यतिखेर खाटमा पल्टिरहेको छन् । उनी गाडी मर्मत गर्ने कम्पनीमा काम गर्थे । ग्यारेजमा सधैं भीडभाड हुन्थ्यो ।

‘आशैआशमा कटिरहेका छन् सनैयामा दिनहरु’

‘कतारमा बसेको एकदशक भयो । बिहान उठेदेखि बेलुकासम्म काममै हुन्थें । हाम्रो शरीर मेसिन जस्तो भइसकेको थियो,’ सनैयास्थित सडक नम्बर १६ मा कार्यरत भट्टराईले भने, ‘अहिले क्याम्पबाट बाहिर निस्कन नपाएको १० दिन भयो । यो कहिलेसम्म हुन्छ ? केही थाहा छैन ।’

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि मार्च १७ देखि कतारी प्रशासनले उनी बसेको स्थानलाई सिल गरिदियो । कोहीपनि बाहिर निस्कन पाएका छैनन् । ‘ग्यारेजभित्र ४० जना कामदार छन् । कामविहीन भएपछि दिन काट्नै मुस्किल हुँदो रहेछ । धेरै बस्दा पनि ढाड दुख्छ । मोवाइल कति चलाउने ? भित्रबाहिर गर्ने ठाउँ छैन । माथि छतमा गएर हेर्दा सनैया पुरै मानव विहीन देखिन्छ,’ उनले भने, ‘कोही पनि क्याम्प बाहिर निस्किएका छैनन् ।’

हरेक क्याम्पको नजिक जसो सामान बेचबिखन गर्ने बकला (किराना पसल) छ । बकला पनि बिहान ९ बजेदेखि एकदुई घण्टा मात्रै खुल्छ । बकलामा पहिलेजस्तो सामान पाउन छाडेको छ । ‘हरियोसाग सब्जी नदेखेको एकहप्ता भइसक्यो । यसरी पुरै लक हुन्छ भन्ने थाहा पनि पाइएन,’ उनले भने, ‘बिहान उठ्दा पुरै सनैयाको गल्ली गल्लीमा प्रहरी तैनाथ भइसकेको थियो । बकलामा चिकेनहरु पाइन्छ । किलोमा आलु किन्न पाइँदैन । थोरैथोरै किन्न पाइन्छ ।’

उनीहरुलाई कम्पनी आफैंले खाना खुवाउने व्यवस्था गरेको छैन । आफैंले सबै जोहो गर्नुपर्छ । ‘हाम्रो कम्पनीमा सबैको छुट्टाछुट्टै भान्सा छ । मधेसका साथीहरु एक्लाएक्लै पकाएर खान्छन् । हामी ४/५ जनाको मेस छ,’ उनले भने, ‘अहिलेसम्म पहिला किनेर राखेको चामल दालले नै दिन कटिरहेको छ ।’

दाङका रणबहादुर केशीको कम्पनीले भने खानाको प्रबन्ध मिलाएको छ । उनी बस्ने क्याम्पमा झन्डै ३ सय जना कामदार बस्छन् । ‘क्याम्पको गेटमा ताल्चा छ । कसैलाई सामान किन्न भित्र बाहिर गर्नुपर्दैन । कम्पनीले मेसको खाना खुवाउँछ । बाहिरतिर अरु क्याम्पका साथीहरु भने एक्लैएक्लै बकला हिँडिरहेको देखिन्छन्,’ उनले भने, ‘हरेक क्याम्पभित्र छिर्ने बाटोमा प्रहरीको गाडी २४ घण्टा नै पहरा दिइरहेको छ । सीआईडीको गाडी जतिखेर पनि घुमिरहेको हुन्छ । डिपोर्ट हुने डरले हामी त बाहिर निस्कदैनौं ।’

उनले स्वास्थ्यको तापक्रम नाप्न कम्पनीबाट नियमित नर्स आउने बताए ।

प्राय क्याम्पहरु १०/१५ मिटरको दूरीमा राखिएको छ । सबैको आ–आफ्नो गेट छ । ‘हाम्रो क्याम्प परिसरमा झन्डै ५ हजार कामदार होला । कसैलाई गेटबाट बाहिर निस्किन दिइएको छैन । एउटा कोठाबाट अर्को कोठामा जाँदै दिन बितिरहेको छ । तर अधिकांस साथीहरु एउटा कोठाबाट अर्को कोठामा नहिँड्न भन्छन्,’ धनुषाका महेश्वर रायले भने, ‘यो आफ्नै सुरक्षाको लागि हो । आफैं सचेत हुनुपर्ने समय हो । यसलाई अन्यथा लिनुपर्ने अवस्था छैन ।’

नियमित काम गर्नुपर्ने उनीहरु तलब पाउने कि नपाउने भन्नेमा भने चिन्तित छन् । ‘कतार सरकारले त तलब काट्न नपाउने भनेको सुन्छु । कम्पनीले अब के गर्छ,’ उनले भने, ‘अहिले चाँही हामीलाई स्वास्थ्य परीक्षण नै गरिदिए हुन्थ्यो भन्ने लागेको छ ।’

उनले खानाको अभाव भएपनि सरकार वा दूतावाससँग आशा गर्नुको विकल्प नरहेको वताए । कतारले लकडाउनमा राखिएको सनैयाको सडक नम्बर १ देखि ३२ भित्र रहेका कामदारलाई खानाको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । यो क्षेत्रमा मात्रै झन्डै ५० हजार नेपाली रहेका छन् । नेपालीसहित सबै आप्रवासी कामदारलाई खाद्यान्य र औषधिजन्य सामग्री उपलब्ध गराउनका लागि दोहा बैंकले २० लाख रियाल (करि‍ब ६ करोड रुपैयाँ) कतार च्यारिटीलाई प्रदान गरेको छ ।

कतार च्यारिटी मार्फत कामदारलाई खाद्यान्न उपलब्ध गराइनेछ । गैरआवासीय नेपाली संघ, कतारले खानाको अभाव भएमा सूचना दिन अनुरोध गरेको अध्यक्ष मुक्तदा मुसलमानले बताए । ‘पछिल्ला हप्तादेखि क्वारेन्टाइनमा परेका नेपाली कामदारले खानाको अभाब वा अन्य केही समस्या भएको सुचना पाएमा हामीले कतारी निकायसग समन्वय गर्नेछौं,’ उनले भने ।

तनहुँका राजु डुम्रे आफुहरु पहिलेकै जस्तो दिनको प्रतिक्षामा बसिरहेको बताए । ‘सनैयामा जुन चहलपहल थियो । त्यो अहिले छैन । अहिले त खाली ज्यान जोगाउने अभियानमा छौं । साथीभाइसँग टाडिएर बसेका छौं,’ उनले भने, ‘बिहान ४ बजेदेखि नै डिउटी जान क्याम्पबाट निस्किन्थें । बेलुका घाम अस्ताएपछि क्याम्प फर्किन्थें । दिनभरको थकाइले आरामले निद्रा लाग्थ्यो । मानसिक तनाव थिएन । म त पहिलेकै सनैयाको आशामा बसिरहेको छु ।’

प्रकाशित : चैत्र १४, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?