अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ३३ प्रतिशतले बढ्यो- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ३३ प्रतिशतले बढ्यो

नारायण खड्का

अस्ट्रेलिया — अध्ययनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या ३३ दशमलव ५ प्रतिशतले बढेको छ । अस्ट्रेलिया सरकारको शिक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा नेपाल अहिलेपनि तेस्रो नम्बरमा रहेको छ ।   



विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०१९ को डिसेम्बरसम्म विभिन्न विषयमा अध्ययनका लागि भर्ना लिने नेपाली विद्यार्थीहरुको संख्या ६९ हजार ३ सय ६५ रहेको छ । जुन सन् २०१८ को तुलनामा करिब १८ हजारले बढी हो ।


नेपालीहरु यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको समग्र अनुपातमा नेपालीको संख्या ७ दशमलव २ प्रतिशत रहेको छ । तथ्यांक अनुसार उच्च शिक्षा अन्तर्गतको विभिन्न विषय अध्ययनका लागि ३४ हजार ६ सय ३२ ले अनुमति लिएका छन् भने व्यवासायिक शिक्षा अध्ययनतर्फ २९ हजार २ सय ११ ले अनुमति लिएका छन् । अस्ट्रेलियाले नेपालबाट आउने विद्यार्थीलाई पछिल्लो समयमा कडाइ गरिरहेको भएपनि अध्ययनका लागि आउने संख्या भने बढेको देखिएको हो ।


यहाँ रहेको अध्यागमन तथा विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका विज्ञहरु भने सरकारले उपलब्ध गराएको तथ्यांक अनुसारका सबै विद्यार्थीहरु भने अध्ययनरत नरहेको दाबी गर्छन् । विगत एक दशकदेखि विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका सञ्जीव पाण्डे भन्छन्, ‘एउटा विद्यार्थीले एकभन्दा बढी अध्ययन अनुमति पत्र (सीओई) लिने भएकाले यो संख्या धेरै देखिएको हो ।’


अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई लक्षित गरेर करिब १ वर्षअघि केही नियमहरु परिवर्तन गरेको छ । जसमा व्यवसायिक शिक्षा अध्ययन गर्न आउने वा यहाँ रहेर अध्ययन गर्न चाहने विद्यार्थीले सबै आर्थिक विवरण पेश गर्नुपर्ने बनाइएको छ भने उच्चशिक्षा अध्ययनका लागि सरकारले अनौपचारिक वर्गीकरणमा समेत सबैभन्दा कम अर्थात् तेस्रो नम्बरमा राखेको छ ।


यसका साथै केही समयअघि यहाँको स्थानीय पत्रिकामा दुई शिक्षाविद्ले नेपाली विद्यार्थीलाई आर्थिक रुपमा यहाँको शिक्षा धान्न समस्या हुने जनाउँदै यसलाई पुर्नविचार गर्नुपर्ने आशयको विचार ब्यक्त गरेका थिए । यसको बाबजुद पनि सरकारी तथ्यांकमा नेपाली विद्यार्थी संख्या करिब एक तिहाइले बढेको छ ।


सरकारी तथ्यांकमा सन् २०१६ देखि नेपाली विद्यार्थीको संख्यामा तिव्रताका साथ वृद्धि आएको देखिएको छ । सन् २०१६ मा जम्मा २२ हजार ६ सय ७१ विद्यार्थीहरुले अध्ययनका लागि अनुमति लिएकोमा यो संख्या २०१८ सम्म आइपुग्दा ५१ हजार ९ सय ४३ देखिएको छ । अहिले अस्ट्रेलियामा ७ लाख ५८ हजार विदेशी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : फाल्गुन २०, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार, क्वारेन्टाइनका लागि ठाउँ खोजिँदै

प्रतीक्षा काफ्ले

पोखरा — कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले पूर्वतयारी गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको घोषणा गरेसँगै प्रदेशको ध्यानाकर्षण भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालमा ६० शय्याको आइसोलेसन वार्ड तयार पारिएको छ । निर्देशक डा. विनोदविन्दु शर्माले सञ्चारकर्मीसँग मंगलबार भेटघाट गर्दै आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको र क्वारेन्टाइनस्थलको खोजी गरिरहेको जनाए । कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन एक महिनाघि नै टास्क फोर्स गठन गरेको उनले बताए ।

उनका अनुसार शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्नको लागि मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियल अस्पतालमा २७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा ३ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । ‘क्वारेन्टाइनका लागि सम्भावित स्थलको खोजी भइरहेको छ,’ उनले भने, ‘साविकको लेखनाथ नगरपालिकाको भवन मर्ज भई गाभिएर खाली भएका विद्यालय वा अन्य हुन सक्ने ठाउँमा अध्ययन गरेका छौं ।’ प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिमको आवश्यक रहेको उनको भनाइ छ । गत माघ २२ मा सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेपछि पूर्वतयारी गर्न लागिएको उनको भनाइ छ ।

पोखरा र मुस्ताङमा हेल्थ डेस्क

कोरोना भाइरसलाई मध्यनजर गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा र मुस्ताङमा हेल्थ डेस्कको स्थापना गरिएको बताएको छ । हवाइयात्रामा आउने पर्यटकको अवस्था बुझ्न पोखरा विमानस्थलमा हेल्थ डेस्क राखिएको डा. शर्माले बताए । निर्देशनालयका अनुसार दुवै ठाउँबाट स्वास्थ्य अवस्था बुझ्ने कार्य भइरहेको छ । हेल्थ डेस्कमा विशेषत ज्वरो नापिन्छ । चीनसँग सीमाना जोडिएकाले मुस्ताङलाई पनि ख्याल गरिएको शर्माले बताए । उनका अनुसार हेल्थ डेस्कमा पोखरामा २ र मुस्ताङमा १ जनालाई खटाइएको छ ।

निर्देशनालयले चिनियाँ नागरिकलाई विशेष निगरानी गरेको बताएको छ । यसो त निर्माणाधीन पोखरा विमानस्थलमा कार्यरत कामदारको दैनिक स्वास्थ्य परीक्षण भइरहेको छ । निर्देशक शर्माका अनुसार उत्तरी लमजुङको ङादीखोलामा निर्माणधीन ३० मेघावाटको न्यादी जलविद्युत्त आयोजनामा कार्यरत चिनियाँ कामदारहरु रातारात आएका छन् भन्ने सूचना प्राप्त भएअनुसार पोखरामा तत्काल चिकित्सकसहितको टोली खटिएर यर्थाथ बुझ्ने कार्य भएको पनि शर्माले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७६ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×