कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका अमिन राईको सोमबार मृत्यु भएको हो । सामान्य ज्वरो आएर उनी आइतबार सउलको अस्पताल भर्ना भएका थिए ।


उनले शनिबार मात्रै फेसबुक लाइभ गरेर जन्मदिन मनाउँदै गरेको भिडियो राखेका छन् । 'राईको भाइरसको कारण ज्यान गएको भन्ने प्रारम्भिक रिपोर्ट देखाएको रहेछ । के कस्तो भाइरस हो त्यो एकिन गर्न केही समय लाग्ने अस्पतालले हामीलाई जानकारी दिएको छ' गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी निर्वतमान अध्यक्ष लक्ष्मी गुरुङले भनिन् ।


शनिबार नै आन्सानमा दोलखाका दावा लामाको उपचारको क्रममा मृत्यु भएको थियो । उनी लामो समयदेखि कलोजोको रोगबाट पीडित थिए ।


त्यस्तै गत बिहीबार रौतहटका सञ्जय विकको मृत्यु भएको थियो । उनी पनि हेपाटाइटिस रोगको उपचार गराइरहेका थिए ।

प्रकाशित : मंसिर ११, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

डाँडैभरि “ठूलोनाच”

माधव अर्याल

(पाल्पा) — रैनादेवी मन्दिरको डाँडैभरि पुरुसुङ्गे, मादले, रौरा देखिन्छन् । कोही मादलको ताल मिलाउँदै, कोही नाचका पोसाक सिँगार्दै । केही पुरुषचाहिँ महिला भेषमा तयार हुँदै थिए । मगर समुदायको परम्परागत संस्कृति ‘ठूलोनाच’ जोगाउन आएका संस्कृतिकर्मीहरूको रौनक सोमबार बेलुकीदेखि मंगलबार दिउँसोसम्मै जारी रह्यो । 

नाचमा सहभागीहरू झन्डै १८ घन्टा नाचे । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी अर्धाइका ८० वर्षीय भूपालसिंह खाम्चा ‘ठूलोनाच’ मा छुट्टै आनन्द आउने बताए । उनी गीत गाउने, बजाउने, नाच्ने सबै काम गर्छन् । उनलाई लामो समय नाच्दा थकाइ पनि लागेन । आफ्नो संस्कृति बचाउन उनी हौसिएर रातभर मस्त रहे । अरू निदाउन थाले भने लौरा लिएर उनले धकेल्थे । भर्खरका युवाहरू झुलिरहँदा उनी भने हौस्याउन व्यस्त रहे । ‘तन्नेरीका हेर ताल,’ उनले लौराले कोट्याउँदै भने, ‘यो उमेरमा पनि झुल्छ ।’

उनी मात्र होइन उनकै भाइ ७८ वर्षीय उदयबहादुर खाम्चा पनि ठूलो नाचमा पोख्त छन् । उनी पनि रातभर नसुतेको जस्तो देखिँदैनथ्यो । जोस, जाँगर उस्तै । सबैलाई हौस्याउँदै गीत गाउने, नाच्ने । रैनादेवी मन्दिरमा सोमबारबाट सुरु महोत्सवको प्रतियोगितामा भाग लिएका उनीहरू रातभर, बिहान मात्र होइन मध्याह्नसम्म टिकेर नाचगान गरे । उनीहरूलाई हेर्नेहरू भन्थे, ‘दैवीशक्ति जस्तै गरी नाचेका छन् ।’ केही छिन खाजा खान रोकिने उनीहरू पुन: नाच्न जोसिन्थे । ‘देवीको मन्दिरमा नाचेका छौं, किन थकाइ लाग्छ र ?’ उदयले भने । मगरहरूको बाहुल्य रहेको भुवनपोखरी कला संस्कृतिको धनी गाउँ मानिन्छ । नजिकको गुल्मी र अर्घाखाँचीबाट महोत्सवमा दर्शक आएका थिए ।

रैनादेवी मन्दिर व्यवस्थापन समितिले राखेको दुईदिने न्वागी महोत्सवमा उनीहरूको प्रस्तुति अचम्मकै थियो । समितिको मूल्यांकनमा पनि १५ जनाको यही समूहले अरूलाई उछिन्यो । समूहकै अर्का युवा खगेन्द्र खाम्चा संस्कृतिलाई मिलेको सम्मानप्रति मक्ख थिए ।

उनीहरूको हाराहारीमै ठूलो नाच नाच्ने भुवनपोखरीकै झिरबासको ठूलो नाच समूह दोस्रो भयो भने बल्घाको ठूलो नाच समूह तेस्रो भयो । रातभर नाच्ने अन्य नौ समूह पनि थिए । डाँडाको टुप्पोमा सिरेटोले उस्तै हाने पनि सबैले १८ घन्टा नाचे । ‘मान्छेको भीडले चिसोको अनुभव गर्न नै दिएन,’ स्थानीय विशाल दर्लामी भन्दै थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीका अनुसार १५ बढी समूहले प्रदर्शन गरे पनि छनोटमा नौ समूह परेको थियो । नियमानुसार आउने एक भजन समूह र पन्चेबाजा समूहलाई पनि सान्त्वना पुरस्कार दिइएको उनले बताए । ‘हामीले खुला रूपमा आउन आह्वान गरेका थियौं,’ उनले भने, ‘हराउँदै गएको संस्कृति जोगाउन उही बूढापाका नै सहभागी भए ।’

युवापुस्ताले सिक्ने अवसरका रूपमा गतवर्षदेखि मन्दिर व्यवस्थापनस समितिले यसरी भैली अर्थात् ठूलो नाचलाई प्रवर्द्धन गरेको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । अन्यत्र दसैं तिहारमा नाचे पनि यहाँ भने न्वागीमा विशेषगरी बढी महत्त्व दिइन्छ । ‘यहाँको विशेषता भनेको न्वागी नै हो,’ उनले भने, ‘यस भेगमा दसैंतिहारभन्दा पनि रमाइलो गरेर न्वागी मनाउने चलन छ ।’ स्थानीय परम्परागत भैली अर्थात् ठूलोनाच संस्कृति संरक्षण गर्न समिति प्रयत्नशील रहेको उनले बताए । गाउँ र छिमेकीलाई समेत परम्परागत कला संस्कृतिलाई झल्काउन यसरी प्रतियोगिता नै गरेका हुन् । ठूलोनाचमा रामायण, कृष्ण चरित्र गाउने गरिन्छ ।

न्वागी यस क्षेत्रको परम्परागत मेला हो । रैनादेवीलाई चामल नचढाई घरमा खाने चलन छैन । स्थानीयका अनुसार अघिल्लो वर्षको अक्षता साथै चामल चढाउने परम्परा रहेको छ । किम्बदन्तीअनुसार रैनादेवी मन्दिरनजिकै न्यौपाने ब्राह्मणले गाई पाल्ने र छहरी मगर गोठाला थिए । गाईले दूध नदिएपछि उनीहरू पिछा गर्दै जाँदा जंगलको बीचमा सुनको मौलोमा गाईले दूध चढाएको देखे । रैनादेवी मन्दिरका पुजारी लालबहादुर दर्लामीका अनुसार दुवैजनाले सुनको मौलो खोज्दै गए । जति खन्यो उति भासिँदै गयो । मौलोको केही टाउको मात्र देखियो । टाउको भाँचेर ल्याउन खोज्दा रगत निस्कियो ।

‘अहिले पनि यहाँ न्यौपाने ब्राह्मण र छहरीमगरलाई यस्तो किम्बदन्ती छ भन्ने गरिएको छ,’ स्थानीय तथा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनीले भनिन्, ‘तर, छहरी मगर गाउँमा नै छैनन् । न्यौपाने भने पूजा गर्न जाने गर्छन् भन्ने सुनिन्छ ।’ खनेको खाल्डो अहिलेसम्म छ । सोही जनविश्वासका आधारमा अझै पनि सोही खाल्डोमै पूजा गरिन्छ । यसको बाहिरपट्टि देवीको पूजा गर्ने स्थानमा काठका डाँडाभाटाले छोपेर राखिएको छ । त्यसैलाई मन्दिरको स्वरूप दिइएको छ ।

प्रकाशित : मंसिर ११, २०७६ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×