असला माछा, धार्मिक आस्था र प्रकृतिको अनुपम संगम : संखुवासभाको मत्स्यपोखरी

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, असला माछा संरक्षण र पूर्वाधार विकासले संखुवासभाको मत्स्यपोखरी आन्तरिक पर्यटनको केन्द्र बन्ने सम्भावना बढेको छ।

असार १५, २०८३

दीपेन्द्र शाक्य

A unique confluence of fish, religious faith, and nature: Sankhuwasabha's fish pond

What you should know

संखुवासभा —  

हरियाली वनको काखमा नीलो पानीले भरिएको पोखरी । कञ्चन पानीभित्र खेलिरहेका असला माछा । वरिपरि फैलिएको शान्त वातावरण, हिमाली हावाको शीतलता र धार्मिक आस्थाले भरिएको परिसर । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ संखुवासभाको चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा । केही वर्ष अघिसम्म स्थानीय धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र परिचित यो पोखरी अहिले पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदैछ ।

जिल्ला सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको सवारी यात्रामा पुगिने मत्स्यपोखरी समुद्री सतहबाट करिब १५ सय मिटर उचाइमा अवस्थित छ । खाँदबारी–चिचिला सडक कालोपत्र भएपछि यहाँ पुग्ने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको स्थानीय बताउँछन् । प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व, असला माछाको संरक्षण, होमस्टे, स्थानीय संस्कृति र गाउँपालिकाको योजनाबद्ध पूर्वाधार विकासले मत्स्यपोखरीलाई संखुवासभाको पर्यटन विकासको नयाँ सम्भावनाका रूपमा उभ्याएको छ ।

पहिलो पटक पुग्ने जो–कोहीलाई पोखरीको प्राकृतिक सौन्दर्यले लोभ्याउँछ । पोखरी वरिपरि फैलिएको हरियाली वन, चिसो हावा, चराचुरुङ्गीको चिरबिर र शान्त वातावरणले सहरको कोलाहलबाट केहीबेर टाढा पुगेको अनुभूति गराउँछ । पोखरीको किनारमा बसेर पानीमा खेलिरहेका माछा हेर्दै समय बिताउने पर्यटकको संख्या दिनहुँ बढिरहेको छ ।

परिवारसहित घुम्न पुगेका सभापोखरी गाउँपालिका–१ का प्रवीण भण्डारी मत्स्यपोखरीको प्राकृतिक सौन्दर्यले आफूलाई मन्त्रमुग्ध बनाएको बताउँछन् । ‘मत्स्यपोखरी प्रकृतिको काखमा बसेको अनुपम सम्पदा हो । यहाँ पुग्ने जो–कोहीलाई सबैभन्दा पहिले त्यहाँको हरियाली वन, शान्त वातावरण, चिसो हावा र सफा पानीले मोहित बनाउँछ । केही समय पोखरीको किनारमा बस्दा नै सहरको व्यस्तता बिर्सिएजस्तो लाग्छ,’ उनले भने ।

मत्स्यपोखरीको सबैभन्दा ठूलो आकर्षण भने असला माछा हुन् । पोखरीको नीलो र स्वच्छ पानीमा पौडिरहेका असला माछा हेर्नकै लागि धेरै पर्यटक यहाँ पुग्ने गरेका छन् । पोखरी परिसरमा निर्माण गरिएको विशाल असला माछाको प्रतिमा र फोहोरासहितको कलात्मक संरचना पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । अधिकांश आगन्तुकले त्यहीँ तस्बिर खिचेर भ्रमणको सम्झना सँगाल्ने गरेका छन् ।

स्थानीय गंगाराम चौलागाईंका अनुसार मत्स्यपोखरीको चर्चा अहिले केवल प्राकृतिक सौन्दर्यका कारण मात्र होइन, असला माछाको संरक्षणका कारण पनि फैलिएको छ । ‘धेरैजसो पर्यटक असला माछा हेर्नकै लागि आउँछन् । पोखरीमा यति धेरै माछा स्वतन्त्र रूपमा पौडिएको दृश्य अन्यत्र कमै देख्न पाइन्छ,’ उनले भने ।

मत्स्यपोखरीका स्थानीय खड्ग गुरुङका अनुसार सभाखोलामा पाइने असला माछाको उत्पत्ति यही पोखरीबाट भएको जनविश्वास छ । यसको वैज्ञानिक पुष्टि हुन बाँकी भए पनि स्थानीय समुदायले पुस्तौँदेखि यही विश्वासलाई निरन्तरता दिँदै आएको छ । यही कारण पोखरीका माछा मार्न पूर्ण रूपमा निषेध गरिएको छ ।

A unique confluence of fish, religious faith, and nature: Sankhuwasabha's fish pond

‘माछा मारे प्राकृतिक विपत्ति आउँछ भन्ने जनविश्वास छ,’ गुरुङले भने, ‘त्यही धार्मिक विश्वासकै कारण पोखरीमा असला माछाको प्राकृतिक संरक्षण सम्भव भएको हो । संरक्षणका लागि छुट्टै नियम बनाउनुभन्दा समुदायको विश्वास नै सबैभन्दा ठूलो बल बनेको छ ।’

प्राकृतिक सम्पदासँगै मत्स्यपोखरी धार्मिक आस्थाको केन्द्र पनि हो । पोखरी परिसरमा शिवलिङ्ग, बसाहा, शेषनाग तथा गौतम बुद्धका प्रतिमा स्थापना गरिएका छन् । हिन्दू र बौद्ध धर्मावलम्बी दुवै समुदायका श्रद्धालु यहाँ पूजा–आराधना गर्न पुग्ने गरेका छन् । धार्मिक संरचनाको निर्माणपछि पोखरीको महत्त्व झन् बढेको स्थानीय बताउँछन् ।

चिचिला गाउँपालिका–४ का वडाध्यक्ष बालकुमार तामाङका अनुसार मत्स्यपोखरीलाई धार्मिक सहिष्णुताको केन्द्रका रूपमा विकास गरिएको छ । ‘हामीले वडाको बजेटबाट विभिन्न धार्मिक प्रतिमा स्थापना गरेका छौँ । यहाँ हिन्दू र बौद्ध दुवै धर्मावलम्बी श्रद्धाका साथ आउँछन् । धार्मिक संरचनाको प्राण प्रतिष्ठापछि पोखरीको गरिमा अझ बढेको छ,’ उनले भने ।

मत्स्यपोखरी वरिपरि करिब ६० घर गुरुङ समुदायको बसोबास छ । बुद्ध धर्म मान्ने स्थानीय समुदायले पनि पोखरी संरक्षणमा सक्रिय भूमिका खेल्दै आएका छन् । धार्मिक आस्था र प्रकृति संरक्षणबीचको यही सम्बन्धले मत्स्यपोखरीलाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको स्थानीयको भनाइ छ ।

पर्यटकको बढ्दो चापसँगै गाउँपालिकाले पूर्वाधार विस्तारलाई पनि तीव्रता दिएको छ । पोखरी वरिपरि घेराबार, पिकनिक स्थल, सार्वजनिक शौचालय, खानेपानी, विश्रामस्थल, सडक, आकर्षक प्रवेशद्वार तथा फोटो खिच्न मिल्ने संरचना निर्माण गरिएको छ । यसले पर्यटकलाई सहजता मात्र दिएको छैन, बसाइ अवधि पनि लम्ब्याउन थालेको छ ।

चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाका अनुसार मत्स्यपोखरीको मौलिक स्वरूप जोगाउँदै पर्यटन पूर्वाधार विस्तार गर्ने नीति लिइएको छ । ‘हामी विकास र संरक्षणलाई सँगसँगै अघि बढाइरहेका छौँ । पोखरीको प्राकृतिक स्वरूप नबिग्रियोस् भन्नेमा हामी सचेत छौँ । पूर्वाधार थप्दै पर्यटकमैत्री वातावरण बनाउने काम भइरहेको छ,’ उनले भने ।

पूर्वाधार विस्तारसँगै होमस्टे पर्यटन पनि विस्तार हुन थालेको छ । अहिले मत्स्यपोखरी क्षेत्रमा पाँच वटा होमस्टे सञ्चालनमा छन् । गुरुङ समुदायका परम्परागत परिकार, स्थानीय संस्कृति र हिमाली जीवनशैली अनुभव गर्न आउने पर्यटक बढ्दै गएका छन् । पर्यटकको चाप बढेका बेला स्थानीयले आफ्नै घरमा पाहुना राख्ने व्यवस्था पनि मिलाएका छन् ।

गाउँपालिकाका अनुसार वार्षिक २० हजारभन्दा बढी आन्तरिक पर्यटक मत्स्यपोखरी पुग्ने गरेका छन् । धार्मिक दर्शन, पारिवारिक घुमफिर, शैक्षिक भ्रमण, पिकनिक र प्रकृति अवलोकनका लागि यहाँ आउनेको संख्या बर्सेनि बढ्दो छ । विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन पोखरी क्षेत्रमा उल्लेख्य चहलपहल देखिन्छ ।

पर्यटकको आगमनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन देखिन थालेको छ । होटल, चिया पसल, यातायात सेवा, स्थानीय कृषि उत्पादन तथा साना व्यवसायको कारोबार बढ्न थालेको छ । गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना हुन थालेपछि युवामा पनि उत्साह थपिएको स्थानीय बताउँछन् । गाउँपालिकाले आगामी दिनमा होमस्टे, स्थानीय गाइड सेवा, हस्तकला, जैविक कृषि उत्पादन तथा सांस्कृतिक पर्यटनलाई थप विस्तार गर्ने योजना अघि सारेको छ ।

A unique confluence of fish, religious faith, and nature: Sankhuwasabha's fish pond

स्थानीय काजीमान गुरुङका अनुसार पर्यटनसँग स्थानीय संस्कृति जोड्न सकिए मत्स्यपोखरीको आकर्षण अझ बढ्नेछ । ‘हामीले पर्यटकलाई पोखरी मात्रै होइन, गुरुङ समुदायको संस्कृति, खानाका परिकार र जीवनशैली पनि देखाउनुपर्छ । त्यसो गर्न सकियो भने पर्यटक केही घण्टा होइन, एक–दुई रात बस्ने वातावरण बन्छ,’ उनले भने । स्थानीय उत्पादनको बजारीकरणसँगै गाउँको आर्थिक गतिविधि विस्तार गर्न पनि पर्यटन प्रभावकारी माध्यम बन्ने उनको विश्वास छ ।

पर्यटन विकाससँगै वातावरण संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । गाउँपालिकाले स्थानीय समुदायसँग मिलेर पोखरीको स्वच्छता, फोहोर व्यवस्थापन, वृक्षारोपण, जलस्रोत संरक्षण तथा जैविक विविधताको संरक्षणलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ । स्थानीय स्वयंसेवक र समुदाय पनि पोखरी वरपर सरसफाइ गर्ने, पर्यटकलाई फोहोर जथाभाबी नफाल्न आग्रह गर्ने तथा प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय छन् ।

वडाध्यक्ष बालकुमार तामाङका अनुसार मत्स्यपोखरीलाई केवल घुम्ने ठाउँका रूपमा नभई प्रकृति र संस्कृतिको विद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । ‘यहाँ आउनेले प्रकृति मात्र होइन, स्थानीय संस्कृति, धार्मिक सहिष्णुता र संरक्षणको अभ्यास पनि सिक्नुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

गाउँपालिकाले मत्स्यपोखरीसँगै अन्य पर्यटकीय गन्तव्यलाई समेत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरेको छ । नागदह, कागुवा क्षेत्र, मधाने भिर, कप्दाने पोखरी, खर्कुण्डे दह, करङसिङ छाँगा, देउराली डाँडा, धजेडाँडा र भाटभटेनी भञ्ज्याङलाई समेटेर एकीकृत पर्यटन मार्ग विकास गर्ने योजना रहेको अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए । उनका अनुसार हाडीखोपदेखि झ्याउपोखरीसम्म फैलिएको वन क्षेत्रमा रातोपाण्डा, चितुवा, भालु, मृग, सालकलगायत वन्यजन्तु तथा करिब २५० प्रजातिका वनस्पति पाइने भएकाले प्रकृति पर्यटनको पनि ठूलो सम्भावना छ ।

यद्यपि, पर्यटक बढेसँगै केही चुनौती पनि देखिएका छन् । पर्याप्त पार्किङस्थल, पर्यटक सूचना केन्द्र, सुरक्षित पदमार्ग, डिजिटल प्रचारप्रसार, प्रशिक्षित स्थानीय गाइड तथा आपत्कालीन स्वास्थ्य सेवाको अभाव अझै रहेको स्थानीयको भनाइ छ । निजी क्षेत्रको लगानी भित्र्याएर गुणस्तरीय आवास तथा सेवा विस्तार गर्न सके मत्स्यपोखरी अझ व्यवस्थित गन्तव्य बन्ने उनीहरूको विश्वास छ ।

अध्यक्ष शेर्पाका अनुसार गाउँपालिकाले दीर्घकालीन गुरुयोजनाअनुसार क्रमिक रूपमा पूर्वाधार विस्तार गरिरहेको छ । ‘दिगो पर्यटन हाम्रो प्राथमिकता हो । प्राकृतिक सम्पदालाई क्षति नपुर्‍याई पर्यटन विस्तार गर्ने नीति लिएका छौँ । त्यसका लागि प्रदेश र संघीय सरकारसँग पनि सहकार्य गरिरहेका छौँ,’ उनले भने ।

स्थानीयका अनुसार २०४४ सालदेखि समुदायले मत्स्यपोखरी संरक्षण अभियान थालेको हो । त्यतिबेला बोजोले ढाकिएको पोखरी अहिले स्वच्छ पानी, जैविक विविधता र धार्मिक आस्थाको केन्द्र बनेको छ । पुस्तौँदेखि माछा नमार्ने परम्परा र सामुदायिक संरक्षणकै कारण आज मत्स्यपोखरी संखुवासभाको पहिचान बन्न सफल भएको उनीहरू बताउँछन् ।

अहिले मत्स्यपोखरी घुम्न आउनेले पोखरीको नीलो पानीमा खेलिरहेका असला माछा हेर्ने मात्र होइन, हरियाली वनको शीतलता अनुभव गर्छन्, धार्मिक प्रतिमामा श्रद्धा अर्पण गर्छन्, गुरुङ समुदायको संस्कृति नियाल्छन् र स्थानीय परिकारको स्वाद पनि चाख्छन् । यही विविधताले मत्स्यपोखरीलाई अन्य पर्यटकीय गन्तव्यभन्दा अलग बनाएको छ ।

प्राकृतिक सम्पदा, धार्मिक आस्था, जैविक विविधता, स्थानीय संस्कृतिको संरक्षण र योजनाबद्ध पूर्वाधार विकासलाई एकसाथ अघि बढाउन सकिएको खण्डमा मत्स्यपोखरी केवल संखुवासभाको मात्र होइन, कोशी प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बन्ने आधार बलियो हुँदै गएको छ । प्रकृतिले उदार भएर दिएको यो अनुपम उपहारलाई जोगाउँदै दिगो पर्यटनसँग जोड्न सकियो भने निकट भविष्यमा मत्स्यपोखरी नेपालको धार्मिक तथा प्राकृतिक पर्यटनको विशिष्ट गन्तव्यका रूपमा स्थापित हुनेमा स्थानीय विश्वस्त छन् ।

दीपेन्द्र

Link copied successfully