परेवा झरना : प्रकृति, आस्था र पर्यटनको केन्द्र बन्दै

उदयपुरगढी गाउँपालिका–३ स्थित ९० फिट अग्लो परेवा झरना घना जंगल र पहाडको काखमा अवस्थित छ, जहाँ पर्यटक संख्या निरन्तर बढ्दै छ।

असार २, २०८३

भोटराज राई

Parewa Waterfall: Becoming a center of nature, faith, and tourism

उदयपुर —  

उदयपुरको उदयपुरगढी गाउँपालिका–३ साइपामा रहेको परेवा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। घना जंगल र विशाल पहाडको काखमा अवस्थित यो झरनाले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा पनि पहिचान बनाएको छ।

वडाध्यक्ष मनोज कार्कीका अनुसार पहाडको काखबाट छङछङ गर्दै झर्ने परेवा झरना करिब ९० फिट अग्लो छ। झरनाले बनाएको दह, वरपरको हरियाली वातावरण र शान्त प्राकृतिक परिवेशले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। पछिल्लो समय झरना अवलोकन गर्न स्थानीयसँगै अन्य जिल्लाबाट आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ।

पर्यटकको सहजताका लागि झरनासम्म पुग्ने सिँढी तथा अवलोकन स्थल निर्माण गरिएको छ। झरनाको प्राकृतिक दृश्यावलोकनका लागि आवश्यक आधारभूत संरचना विस्तार गर्दै लगिएको वडाध्यक्ष कार्कीले बताए। 'झरनासम्म पुग्न सिँढी र झरना अवलोकन गर्ने ठाउँमा रेलिङसमेत लगाइएको छ,' उनले भने।

प्राकृतिक आकर्षणसँगै यो क्षेत्र धार्मिक आस्थासँग पनि जोडिएको छ। झरनाको माथिल्लो भागमा रहेको देवस्थलप्रति स्थानीयको गहिरो विश्वास रहेको स्थानीय शुक्रबहादुर थापा मगरले बताए। पौराणिक कालमा त्यहाँ शक्तिशाली झाँक्री बस्ने गरेको र उसको दैविक शक्ति अझै कायम रहेको जनविश्वास छ। स्थानीय समुदायले अहिले पनि देवताको नाममा भाले चढाउने परम्परालाई निरन्तरता दिएका छन्। कुनै नयाँ वा ठूलो काम गर्नुअघि देवतालाई सम्झेर भाले चढाउने चलन रहेको उनी बताउँछन्। निःसन्तान दम्पतीले भाकल गरे सन्तान प्राप्ति हुने र विभिन्न मनोकामना पूरा हुने विश्वास रहेको स्थानीय घमानबहादुर थापा मगरको भनाइ छ।

भिरालो स्थानमा रहेको पुरानो महादेवथानमा पुग्न कठिन भएपछि तल समथर स्थानमा मन्दिर निर्माण गरी त्यसको छेउमा शिवजीको ठूलो मूर्ति स्थापना गरिएको छ। धार्मिक तथा पर्यटकीय गतिविधिलाई थप व्यवस्थित बनाउन पार्क, विश्रामस्थललगायतका संरचना निर्माणको कामसमेत अघि बढाइएको छ।

उदयपुरगढी गाउँपालिकाले परेवा झरनालाई प्राथमिकतामा राखेर पर्यटन पूर्वाधार विकास गरिरहेको पालिका उपाध्यक्ष जीतबहादुर खड्काले बताए। उनका अनुसार झरनाको संरक्षण, प्रवर्द्धन र पर्यटकमैत्री वातावरण निर्माणका लागि विभिन्न योजना कार्यान्वयनमा छन्। हालसम्म उक्त क्षेत्रमा गाउँपालिका र प्रदेश सरकारबाट करिब ५४ लाख रुपैयाँ लगानी भइसकेको छ।

यद्यपि, झरनासम्म पुग्ने सडक अझै चुनौतीपूर्ण छ। विशेषगरी वर्षायाममा सडक बिग्रिने समस्या दोहोरिने भएकाले स्थानीयवासी र पर्यटक दुवैलाई आवतजावतमा कठिनाइ हुने गरेको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटनको उच्च सम्भावना बोकेको परेवा झरनामा सहज सडक पहुँच र थप पूर्वाधार विकास गर्न सकिए पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सामाजिक अभियन्ता रमा मगर बताउँछिन्। स्थानीयवासीको विश्वास छ, पर्यटनको विकाससँगै यस क्षेत्रको व्यापार, कृषि तथा समग्र स्थानीय अर्थतन्त्रले पनि नयाँ गति लिनेछ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully