असारको बिजुली खपतमा तिरेको भ्याट भदौमा समायोजन हुने

नेपाल विद्युत् प्राधिकरणले असार महिनामा बिजुली खपतमा तिरेको भ्याट रकमलाई भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

VAT paid on electricity consumption in Asar will be adjusted in Bhadau

What you should know

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरेको बिजुली महसुलमा ग्राहकले तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम ग्राहकको अग्रिम भुक्तानीको रूपमा कायम गरी आगामी भदौ महिनामा जारी हुने बिलमा समायोजन गर्ने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने भनेको हो ।

प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनयता ग्राहकलाई पठाएको थियो । त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाअनुसार १ साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो । त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो । त्यसैलाई स्पष्ट पार्न विभागले सोमबार विज्ञप्ति जारी गरिसकेको छ ।

३२ असार २०८३ सम्मको विद्युत् खपतको बिल १ साउन २०८३ वा त्यसपछि प्राप्त भए पनि १ साउनअघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची-१ समूह २ अन्तर्गत आवश्यक वस्तुका रूपमा विद्युत् शक्ति समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ ।

१ साउनअघिको विद्युत् खपतको बिलमा भ्याट तिरेका ग्राहकहरूले भदौमा पाउने बिलमा उक्त रकम बराबरको छुट पाउनेछन् ।

कान्तिपुर

Link copied successfully