राष्ट्र बैंकले आज निक्षेप संकलनमार्फत ६ महिनाका लागि ३० अर्ब झिक्दै

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । तर, बजारमा तरलता बढेपछि दुई साता अघि राष्ट्र बैंकले ऋणपत्रमार्फत एक वर्षका लागि २ खर्ब रुपैयाँ झिकिसकेको छ ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Nepal Rastra Bank to withdraw Rs 30 billion for six months through deposit collection today

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । सोही क्रममा आज १७९ दिनका लागि एक सय ३० अर्ब झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । तर, बजारमा तरलता बढेपछि दुई साता अघि राष्ट्र बैंकले ऋणपत्रमार्फत एक वर्षका लागि २ खर्ब रुपैयाँ झिकिसकेको छ । त्यति पैसा झिक्दा पनि बजारमा पैसा नघटेपछि लगत्तै निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ झिक्न थालेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउासो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully