सडक अवरुद्ध हुँदा कन्टेनरहरू बाटोमै रोकिएका छन्, स्थानीय बस्ती पहिरोको उच्च जोखिममा छन् र व्यवसायी तथा नागरिकहरू समस्यामा छन्
What you should know
सिन्धुपाल्चोक — चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी सडक डेढ सातादेखि अवरुद्ध हुँदा आयात व्यापार ठप्प छ । अर्बौं रुपैयाँ राजस्व संकलन हुने यो नाका बन्द हुँदा पनि सडक सञ्चालनका लागि प्रभावकारी पहल नभएको भन्दै स्थानीय र व्यवसायीले आइतबार अनुगमनमा पुगेका मन्त्रीहरूको टोलीलाई प्रश्न र गुनासो गरेका छन् ।
अनुगमनका लागि डाक्लाङ र इको क्षेत्रमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसहितको टोलीलाई स्थानीयले सडकको दुरावस्था, पहिरोको जोखिम र व्यापार ठप्प भएको बारे असन्तुष्टि व्यक्त गरेका हुन् ।
'मन्त्रीज्यू, यो सडक कहिले बन्छ, समयमा टेन्डर किन नगरेको, बर्खा लागेपछि तातेर हुन्छ ? हामीले अझै कति समय यस्तो पीडा सहनुपर्ने हो ?' भोटेकोशी गाउँपालिका-१ का मुके शेर्पाले मन्त्री लम्सालसँग प्रश्न गरे ।स्थानीयका अनुसार पहिरोका कारण डाक्लाङ क्षेत्रमा ४२ घर उच्च जोखिममा छन् । पहिरोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको भन्दै उनीहरूले तत्काल दीर्घकालीन समाधानको माग गरे । जवाफमा मन्त्री लम्सालले बस्ती जोखिममा राखेर कुनै पनि काम गर्न नसकिने आश्वासन दिँदै आवश्यक निर्णय लिएर समस्या समाधानतर्फ अघि बढ्ने बताए । 'गाउँ सार्नुपर्ने अवस्था छ भने त्यसका लागि निर्णय गर्नुपर्छ । विपद्को जोखिमलाई बेवास्ता गरेर बस्न मिल्दैन,' मन्त्री लम्सालले भने ।
भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार सडक अवरुद्ध भएपछि चीनबाट आएका करोडौंका मालसामान बोकेका कन्टेनर बाटोमै रोकिएका छन् । स्याउ, लसुनलगायत छिट्टै बिग्रिने वस्तु कुहिन थालेपछि बोकाएर भन्सार यार्डसम्म पुर्याउने काम भइरहेको उनले बताए । सडकमै रोकिएका मालसामानको सुरक्षाप्रति व्यापारी चिन्तित छन् । उनका अनुसार गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले मन्त्री लम्साललाई ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण समस्या जानकारी गराएको छ।'बैशाखदेखि प्रक्रिया सुरु भए पनि डाक्लाङ, घट्टेखोला र इको क्षेत्रको पहिरो हटाएर सडक सञ्चालन गर्ने काम अझै सुरु भएको छैन ।अहिले सवारीसाधन मात्र होइन, पैदल हिँड्नसमेत कठिन छ । सरकारले यो समस्या कहिले समाधान गर्छ ?,' भोटेकोसी-२ का वडाध्यक्ष श्रेष्ठले भने ।
उक्त सडक मर्मतका लागि गत आर्थिक वर्षमै ४८ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो।तर चीन सरकारले सडक निर्माण गर्ने जनाउँदै सरकारले गत बैशाखमा नेपाली ठेकेदारसँगको सम्झौता रद्द गरेको थियो।काम सुरु गरिसकेको ठेकेदारलाई सरकारले ५४ लाख रुपैयाँ भुक्तानी दिएको थियो । 'ठेक्का रद्द नगरिएको भए अहिलेको अवस्था आउने थिएन, यस्तो दु:खद् अवस्था छ,' वडाध्यक्ष श्रेष्ठले मन्त्रीसँग भने ।
चालु आर्थिक वर्षका लागि २५ अर्ब रुपैयाँ राजस्व लक्ष्य राखिएको तातोपानी भन्सारले साउन महिनामै १ अर्ब ७६ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन नहुँदा शुक्रबारसम्म जम्मा २ करोड ८९ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार चिनियाँ पक्षले एक साताभित्र सम्झौता गरी काम सुरु गर्ने आश्वासन दिएपछि सरकारको निर्देशनअनुसार ठेक्का रद्द गरिएको थियो । तर ४ महिनासम्म पनि चिनियाँ पक्ष सम्पर्कमा आएको छैन् । मन्त्रीको टोलीले सडक सहज बनाएर नाका सञ्चालनका लागि पहलकदमी गर्ने र जनताको मागअनुसार अघि बढ्ने आश्वासन दिएर फर्केको जनप्रतिनिधिले बताएका छन् ।
इको पहिरो अनुगमनपछि मन्त्रीहरूको टोलीले तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा सरोकारवालासँग छलफल गरेको थियो ।छलफलमा व्यवसायीहरूले गतवर्ष १४ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको नाका सडककै कारण ठप्प हुनु राज्यका लागि लज्जास्पद भएको बताए । चालु आर्थिक वर्षका लागि २५ अर्ब रुपैयाँ राजस्व लक्ष्य राखिएको तातोपानी भन्सारले साउन महिनामै १ अर्ब ७६ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो।तर शुक्रबारसम्म जम्मा २ करोड ८९ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सडक खुलाउन सरकारी प्रयास अत्यन्त कमजोर भएको आरोप लगाए ।सडक अवरुद्ध हुँदा नेपाल मात्र होइन, चिनियाँ गोदाम र सडकमा थन्किएका मालसामानसमेत नेपाल भित्र्याउन समस्या भएको व्यवसायीहरूको भनाइ छ।सीमाव्यापारसँग सम्बन्धित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायत संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले उत्तरी नाकाको समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले तातोपानी नाकाअन्तर्गत इको र डाक्लाङ क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा नेपाल-चीन व्यापार, स्थानीय जनजीवन, पर्यटन, ढुवानी व्यवसाय, मजदुर तथा व्यवसायीहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै गुनासो राखेका थिए ।'पहिरोको जोखिम पहिलेको तुलनामा कम भए पनि आवश्यक एक्स्काभेटर, उपकरण, जनशक्ति तथा प्रभावकारी समन्वयको अभावका कारण सडक अझै सञ्चालनमा आउन सकेको छैन, यस अवस्थाले भोटेकोशी क्षेत्रका नागरिकहरू अत्यन्त चिन्तित र पीडित भएका छन्, जनताको दुःख र गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गरिदिनुहोस्,' उनले भने ।
चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले सामान्य मर्मतले सडक सञ्चालन गर्न नसकिने र डिभिजन कार्यालयसँग ठूलो पहिरो व्यवस्थापन गर्ने क्षमता नरहेको बताए । स्थानीयका अनुसार सडकमाथिको बस्ती पहिरोले तानिरहेको छ भने तलबाट भोटेकोशी नदीले कटान गरिरहेकाले जोखिम झन् बढ्दै गएको छ ।
