२५ अर्ब राजस्व लक्ष्य रहेको तातोपानी नाका डेढ सातादेखि ठप्प

वर्षात्‌ले बाह्रबिसे–तातोपानी सडक जताततै अवरुद्ध । करोडौंको व्यापारीक मालवस्तु बाटैमा अलपत्र । चीनले बनाइदिने आश्वासनमा सडक बनाउने सम्झौता गरेका नेपाली ठेकेदारलाई गत बैशाखमा काम गर्नै नदिएर फर्काइएको थियो । 

श्रावण १०, २०८३

ऋषिराम पौड्याल

Tatopani border point with a revenue target of 25 billion has been shut down for one and a half weeks

What you should know

काठमाडौँ — बर्सेनि अर्बौं राजस्व संकलन गर्दै आएको चीनसँगको प्रमुख नाका तातोपानी भन्सार भएर गरिँदै आएको आयात व्यापार डेढ सातादेखि ठप्प छ । नाका जोड्ने बाह्रबिसे–तातोपानी खण्डको २६ किमि क्षेत्रको ठाउँ–ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएर व्यापार ठप्प भए पनि खुलाउन प्रभावकारी प्रयास गरिएको छैन । 

सडक अवरुद्ध भएपछि करोडौं मूल्यका मालवस्तु बोकेर सीमा क्षेत्रबाट नेपाल प्रवेश गरेका कन्टेनरहरु बाटैमा अलपत्र परेका छन् । स्याउ, लसुनलगायतका खाद्य वस्तु कुहिन थालेपछि बोकाएर भन्सार यार्डमा ल्याउन थालिएको छ । सडकमा अलपत्र करोडौं मूल्यका मालवस्तुको सुरक्षा नभएको चिन्ता पनि व्यापारीले गरेका छन् । 

नेपालमा मात्र होइन चिनियाँ गोदाम र सडकमा थुप्रिएका मालवस्तु नेपाल प्रवेश गराउन समस्या भएको छ । सडक खुलाउन सरकारी प्रयास अपर्याप्त भएको भन्दै सीमाका व्यापारीहरु सम्बद्ध सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतका व्यापारिक संघसंस्थाले शनिबार विज्ञप्तिमार्फत् सरकारले उत्तरी नाकाको समस्याका विषयमा बेवास्ता गरेको आरोप लगाएका छन् । 

नाकाबाट बढीभन्दाबढी राजस्व मात्र संकलन गर्न खोजेको र व्यापार सहजीकरणका लागि स्थायी समाधान नचाहेको भन्दै व्यापारिक संघसंस्थाले सरकारप्रति लिखित रुपमै आक्रोश पोखेका छन् । 

उक्त सडकको खण्डको मर्मतका लागि गत आवमा टेन्डरसमेत भएर काम सुरु गरिएको थियो । तर सरकारले उक्त सडक चीन सरकारले बनाउने भन्दै नेपाली ठेकेदार कम्पनीसँगको गत बैशाखमा ठेक्का सम्झौता रद्द गरिएको थियो । ठेकेदारले कामै सुरु गरिसकेको अवस्था रद्द भएको उक्त काम वापत सरकारले ५४ लाख भुक्तानी दिएको थियो । उक्त टेन्डर ४८ करोड ४९ लाखमा लागेको थियो । स्थानीय भन्छन्, ‘ठेकेदारलाई काम गर्न दिएको भए अहिले यो अवस्था आउने थिएन ।’

चरिकोट सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीका अनुसार चिनियाँ पक्षले एक साताभित्र सम्झौता गरेर काम सुरु गर्ने आश्वासन पाएपछि ठेक्का रद्द गरिएको थियो । उनीहरुको आश्वासन र सरकारको निर्देशन अनुसार सडक डिभिजनले ठेक्का रद्द गरेको थियो । तर चिनियाँ पक्ष अहिलेसम्म(चार महिना) सम्पर्कमा आएको छैन । भण्डारीले सानोतिनो मर्मतले सडक सञ्चालन गर्न नसकिने भएकाले डिभिजन कार्यालयले काम गर्ने क्षमता नपुग्ने बताए ।  

बैशाखदेखि प्रक्रिया सुरु भए पनि उक्त सडक खण्डको पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने काम सुरु नै भएको छैन । सडकको डाकलाङ, घट्टेखोला र इको पहिरोका कारण यातायात मात्र होइन, मान्छे हिँड्नसमेत कठिन भएको स्थानीयले बताउँछन् । सडकको माथिल्लो भागमा रहेको बस्ती पहिरोले तानिरहेको छ भने तल्लो भागबाट भोटेकोशीले कट्टान गरिरहेको छ । 

स्थानीयले सरकारी कर्मचारीलाई आफ्नो घरबार जिम्मा लिएर मात्र सडक बनाउनु भन्दै आक्रोश पोखेका छन् । ‘पहिरो पन्छाउँदा बस्तीलाई जोखिम हुने भन्दै उनीहरुले घरको तालासाँचो जिम्मा लिन भनेका छन्,’ सडकका कर्मचारी बताउँछन् । गत साल स्थानीयसँग सम्झौता गरेर सडक खुलाइएको थियो । ‘नेपाली ठेकेदारलाई बनाउन दिएको भए केही रोकथाम भइसक्थ्यो,’ सडकका एक प्राविधिकले भने, ‘हामीले सुझाव दिँदादिँदै ठेक्का तोडियो, अहिले त्यसैको मार परेको हो ।’  

उक्त नाकाबाट गत वर्ष १४ अर्ब ५२ करोड राजस्व संकलन भएकोमा चालु आवका लागि राजस्व लक्ष्य २५ अर्ब तोकेको छ । तातोपानी भन्सार प्रमुख दीपेन्द्र प्रकाश गिरीका अनुसार चालु वर्षको साउनमा मात्र १ अर्ब ७६ करोड राजस्व लक्ष्य रहेकोमा शुक्रबारसम्म २ करोड ८९ लाख संकलन भएको छ । 

चाडबाडको मुखमा आयात व्यापारको आकार ठूलो हुने भए पनि सडक अवरुद्ध हुँदा बर्सेनि यस्तो समस्या आउने गरेको छ । सडक अवरुद्ध भएकाले भन्सारमा आएका विद्युतीय गाडी (इभी) पनि रोकिएका छन् । ‘व्यापार मात्र होइन आउजाउ नै गर्न कठिन भएको छ,’ भन्सार प्रमुख गिरीले भने । 

उक्त नाका जोड्ने सडक बर्सेनि अवरुद्ध हुने हुँदा चीनसँको आयात व्यापार प्रभावित हुँदै आएको छ । गत वर्ष पनि असारदेखि असोजसम्म सोही स्थानमा सडक अवरुद्ध हुँदा दशैं र तिहारका लागि आयात गरिएका मालवस्तु नेपाल भित्रन पाएको थिएन । व्यवसायीले करोडौं रुपैयाँ नोक्सान बेहोरेका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले झण्डै १ सय ५० वटा कन्टेनर सीमामा रोकिएका छन् । फलफूल कुहिन थालेपछि भरियालाई बोकाएर भन्सार हातामा ल्याउन थालेको बस्नेतले बताए । 

राजस्व संकलनमा ध्यान दिने तर व्यवासायीको समस्या कहिल्यै ख्याल नगर्ने सरकारी रवैयाले व्यवसायी मारमा परेको उनको गुनासो रहेको छ । २०७२ को भूकम्पछि लगातार चार वर्ष बन्द भएर खुलेको तातोपानी नाकाबाट सहज रुपमा व्यापार हुन सकेको छैन । 

उत्तरी नाकाको छोटो र सहज मानिएको तातोपानीबाट विशेषतः तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, तथा कृषि औजार, ब्याग, जुत्ता, चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, कष्मेटिक, बीउबीजन, इलेक्ट्रिक गाडी, कम्प्युटर पार्टस्, उद्योगको कच्चा पदार्थलगायतका वस्तु आयात हुने गरेको छ । 

‘नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ,’ सीमापारका महासचिव रामचन्द्र पराजुलीले भने, ‘तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन । यसबाट व्यवसायी मारमा परेका छन् ’। धेरै व्यवसायीले हरेक वर्ष झन्झट बेहोर्दा आर्थिक रुपमै धरासायी भएको उनले बताए । 

चीनसँगको सडक जोडिएको नाका तातोपानी, रसुवा र कोराला हो । तर रसुवा जोड्ने सडक गतवर्ष निकै क्षति गरेकाले यो वर्ष पनि बेलाबेलामा अवरुद्ध भइरहेको छ । रसुवामा कन्टेर पार्किङस्थलसमेत नभएको व्यवसायी बताउँछन् । कोराला नाका काठमाडौंबाट धेरै टाढा भएकाले ठूलै समस्या परेकाबेला बाहेक कम प्रयोग हुने गरेको छ । 

तातोपानी र रसुवा बन्द भएको अवस्थामा कोराला चल्ने गरेको छ । भूकम्पपछि स्थलमार्ग भएर चीनतर्फ गरिने निर्यात व्यापार लगभग ठप्प जस्तै छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully