विद्युत्‌मा भ्याट समावेश गरिएकोमा प्राधिकरणले माग्यो विभागसँग राय

असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै प्राधिकरणले विभागसँग औपचारिक राय माग्दै पत्र लेखेको हो ।

श्रावण ९, २०८३

सीमा तामाङ

The Authority seeks the Department's opinion on the inclusion of VAT in electricity

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌मा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएकोमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ । 

असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै प्राधिकरणले विभागसँग औपचारिक राय माग्दै पत्र लेखेको हो । साथै, न्यूनतम डिमान्ड चार्जमा  भ्याट लागू हुने वा नहुने विषयमा समेत विभागको धारणा मागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ ।

आर्थिक ऐन, २०८३ अनुसार साउन १ देखि विद्युत् शक्तिमा भ्याट लागू हुने व्यवस्था भएको तर असारको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले समेत चासो देखाएका थिए।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully