यस अवधिमा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ । आयात र निर्यात दुवै बढ्दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ ।
What you should know
काठमाडौँ —
आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको छ । यसअनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको भन्सार विभागले बताएको छ ।
यस अवधिमा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ । आयात र निर्यात दुवै बढ्दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ ।
यसअघि २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । त्यस बेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढेको थियो । आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ । कुल व्यापारमा आयातको हिस्सा ८६.९३ र निर्यातको हिस्सा १३.०७ प्रतिशत छ ।
गत आर्थिक वर्षमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा बढेर १७ खर्ब ८१ अर्ब आठ करोड पुगेकामा अघिल्लो आर्थिक वर्ष १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा आयात १६ दशमलव २० प्रतिशतले बढेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड बराबरको आयात भएकामा गत आर्थिक वर्षमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएकामा गत वर्ष ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको विभागको भनाइ छ । यो निर्यात रकम हालसम्मकै उच्च हो ।
गत आर्थिक वर्षमा छिमेकी मुलुक भारतबाट मात्रै १२ खर्ब १० अर्ब ६० रुपैयाँ करोड बराबरको वस्तु आयात गरिएको छ । भारतमा २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रहेको विभागको तथ्यांकले देखाउँछ ।
नेपालले चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड बराबरका वस्तु आयात गरेकामा १ अर्ब ८९ करोड बराबरको वस्तु मात्रै निर्यात गरेको छ । चीनसँग नेपालको व्यापार घाटा ४ खर्ब २३ अर्ब ३५ करोड बराबरको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी वीरगन्ज नाकाबाट ९ खर्ब ८६ अर्ब ४३ करोड अर्थात् कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत बराबरको वस्तु आयात भएको विभागले बताएको छ ।
सबैभन्दा बढी आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोनलगायत छन् । १ खर्ब ७२ करोड ४२ लाख रुपैयाँको डिजेल, ९८ अर्ब ८३ लाख रुपैयाँको कच्चा भटमासको तेल, ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँको पेट्रोल, ६० अर्ब २८ करोड ६ लाख रुपैयाँको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँको फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाम र ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको विभागको भनाइ छ ।
प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, प्रशोधित सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल सबैभन्दा बढी निर्यात भएको छ । १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको प्रशोधित भटमासको तेल, १२ अर्ब ६४ करोड ७८ लाखको अलैंची, १० अर्ब ३८ करोड रुपैयाँको गलैंचा, ८ अर्ब ९४ करोड ३३ लाखको सनफ्लावर तेल, ७ अर्ब १४ करोड जुटका सामग्री र ६ अर्ब ६६ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ ।
भैरहवा नाकाबाट ३ खर्ब ४ अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगरबाट २ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ (११ दशमलव ५४ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट २ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ (९ दशमलव ७१ प्रतिशत) बराबरका वस्तु आयात भएको विभागले बताएको छ ।
निर्यातमा पनि वीरगन्ज नाका अग्रस्थानमा छ । यहाँबाट १ खर्ब १४ अर्ब ८५ करोड अर्थात् कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ । विराटनगर नाकाबाट ८८ अर्ब ७२ करोड रुपैयाँ (२८ दशमलव १४ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट ३७ अर्ब ९४ करोड रुपैयाँ (१२ दशमलव शून्य तीन प्रतिशत) बराबरका वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।
