बर्ड फ्लुले ठूलो नोक्सानी व्यहोरेका सुनसरीका कुखुरापालक कृषकले सरकारले दिएको राहतले व्यवसाय पुनः उठाउने प्रयास थालेका छन्।
What you should know
सुनसरी — बर्ड फ्लुको प्रकोपबाट ठूलो आर्थिक क्षति बेहोरेका सुनसरीका कुखुरापालक कृषकले सरकारले उपलब्ध गराएको राहत रकम प्राप्त गरेका छन्।
जिल्लाका प्रभावित कृषकलाई क्षतिपूर्तिस्वरूप २० करोड ९४ लाख रुपैयाँ वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ।
गत चैत र वैशाख महिनामा सुनसरीको इटहरी, रामधुनी, बराहक्षेत्र, दुहबी, इनरुवालगायतका स्थानीय तहमा फैलिएको बर्ड फ्लुले कुखुरापालन व्यवसायमा गम्भीर असर पुर्याएको थियो। सरकारी तथ्यांकअनुसार जिल्लामा २८ करोड ३० हजार ४४७ रुपैयाँ बराबरको क्षति भएको थियो। त्यसमध्ये कुखुरा मर्दा मात्रै २५ करोड ९१ लाख ७५ हजार ७५० रुपैयाँ बराबरको नोक्सानी भएको थियो।
यस्तै, ९६ लाख २९ हजार ८०० रुपैयाँ बराबरका अण्डा, ९१ लाख ४६ हजार ९२५ रुपैयाँ बराबरको कुखुराको दाना तथा करिब २३ लाख रुपैयाँ बराबरका अन्य सामग्री नष्ट भएका थिए।
बर्ड फ्लु नियन्त्रणका क्रममा पशु सेवा विभागको निर्देशनमा संक्रमित कुखुरा तथा अन्य सामग्री नष्ट गरिएका किसानलाई प्रक्रिया पूरा गरी आवश्यक कागजात बुझाएपछि क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने सरकारी व्यवस्था छ। सोही व्यवस्थाअनुसार सुनसरीका प्रभावित सबै कृषकलाई राहत वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए।
उनका अनुसार राहत वितरणसँगै प्रभावित किसानलाई व्यवसाय पुनः सञ्चालन गर्न केही राहत पुगेको छ। यद्यपि बाँकी क्षति किसान आफैंले व्यहोर्नुपरेकाले व्यवसाय पूर्ण रूपमा पुरानै अवस्थामा फर्काउन अझै चुनौती रहेको कृषकहरूको भनाइ छ।
पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनामा देशभर बर्ड फ्लु नियन्त्रणका लागि ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा २ लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको छ। विभागका अनुसार संक्रमण देखिएका ११ जिल्लामध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवन लगायतका जिल्लामा अहिले बर्ड फ्लु पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
बर्ड फ्लु नियन्त्रणसँगै राहत वितरण सम्पन्न भएपछि सुनसरीका कुखुरापालक किसान व्यवसाय पुनः लयमा फर्काउने तयारीमा जुटेका छन्। तर, उत्पादन चक्र पुनः सुरु गर्न थप लगानी र बजारमा उपभोक्ताको विश्वास पुनर्स्थापना आवश्यक रहने व्यवसायीहरूको भनाइ छ।
