गत वर्ष नेपालले अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड ७२ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गर्दा जम्मा १ करोड ८५ लाख २५ हजार रुपैयाँ बराबरको मात्र सामान निर्यात गरेको छ ।
What you should know
काठमाडौँ — अर्जेन्टिना नेपालीहरूका लागि चिरपरिचित देश हो । विश्वकप फुटबल होस् वा कोपा अमेरिका नेपालीहरूबीच अर्जेन्टिनाको चर्चा हुने गर्छ । यसपटक त अझ अर्जेन्टिना फाइनलसम्मै पुगेकाले पनि विश्वकपभरि अर्जेन्टिनाको चर्चा छायो । तर अर्जेन्टिनासँग नेपालको ठूलै व्यापार घाटा छ भन्ने कुराचाहिँ धेरैलाई थाहा नहुन सक्छ ।
भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार अर्जेन्टिनासँग नेपालको व्यापार घाटा १ खर्ब १६ अर्ब ३६ करोड ८७ लाख १० हजार रहेको छ ।
गत वर्ष नेपालले अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड ७२ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गर्दा जम्मा १ करोड ८५ लाख २५ हजार रुपैयाँ बराबरको मात्र सामान निर्यात गरेको छ । नेपालले वार्षिक कुल आयातको करिब १८ प्रतिशत आयात अर्जेन्टिनाबाटै गरेको छ । गत वर्ष नेपालमा विभिन्न देशबाट करिब २१ खर्बको वस्तु आयात भएको छ ।
अर्जेन्टिनाबाट के-के आयात हुन्छ ?
झन्डै १६ हजार किलोमिटरको हवाई दूरीमा रहेको अर्जेन्टिनाबाट नेपालमा सबैभन्दा बढी भटमासको कच्चा तेल आयात हुन्छ । गत वर्ष अर्जेन्टिनाबाट झन्डै ६० करोड लिटर भटमासको कच्चा तेल आयात भएको छ जसमार्फत ९८ अर्ब ८३ करोड ९९ लाख रुपैयाँबराबरको पैसा बाहिरिएको छ ।
त्यस्तै १७ अर्ब ३३ करोड रुपैयाँबराबरको सूर्यमुखीको कच्चा तेल १० करोड लिटर आयात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट मकैको बीउ पनि ९ लाख ८ हजार किलो आयात भएको छ । अर्जेन्टिनाबाट करिब ९ करोड रुपैयाँबराबरको मकैको बीउ आयात भएको छ ।
अर्जेन्टिनाबाट धनियाँको दाना पनि ३ करोड ७१ लाख रुपैयाँबराबरको आयात भएको छ । त्यस्तै ३ करोड ४० लाख रुपैयाँबराबरको सिमीको दाना र २ करोड ६३ लाख रुपैयाँबराबरको तिलको दाना आयात भएको छ ।
निर्याततर्फ भने नेपालले १ करोड ४२ लाख रुपैयाँबराबरको विभिन्न विद्युतीय उपकरण अर्जेन्टिना पठाएको छ । त्यस्तै २५ लाख २१ हजार रुपैयाँबराबरको ड्रम र जाइलोफोनजस्ता म्युजिकल इन्स्ट्रुमेन्ट अर्जेन्टिना निर्यात भएको छ । त्यस्तै अर्जेन्टिनामा दुई किलो दालमोठ पनि निर्यात भएको छ ।
विश्वविजेता स्पेनसँग चाहिँ कस्तो छ नेपालको व्यापार ?
यसपल्टको विश्वच्याम्पियन स्पेनसँग पनि नेपालको व्यापार घाटा रहेको छ । भन्सार विभागका अनुसार गत वर्ष नेपालले स्पेनबाट करिब १ अर्ब ६६ लाख रुपैयाँबराबरको सामान आयात गरेको छ । नेपालबाट भने स्पेनतर्फ करिब ३७ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
स्पेनसँगको व्यापार घाटा करिब १ अर्ब २९ करोड रहेको छ । स्पेनबाट सबैभन्दा बढी कुकुर बिरालालगायतका खाना आयात हुन्छ । गत वर्ष स्पेनबाट १६ करोड बराबरको यस्ता सामान आयात भएको छ । त्यस्तै स्पेनबाट अन्न भण्डारण गर्न प्रयोग हुने साइलो पनि ६ पिस आयात भएको छ जसको मूल्य झन्डै १४ करोड रुपैयाँ रहेको छ ।
साइलो भनेको गहुँ, धान, मकै, जौ, सोयाबिन, दलहन तथा पशु आहारजस्ता ठूलो परिमाणमा उत्पादन हुने कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न विशेष रूपमा बनाइएको संरचना हो । परम्परागत भण्डारण विधिभन्दा फरक, ग्रेन साइलोले आर्द्रता, किराफट्याङ्ग्रा, मुसा तथा अन्य प्रकारका प्रदूषणबाट अन्नलाई जोगाउँदै नियन्त्रित वातावरणमा सुरक्षित राख्छ ।
त्यस्तै स्पेनबाट १३ करोड रुपैयाँबराबरको मोबाइल भेटेरिनरी सेवामा प्रयोग हुने डायग्नोस्टिक सुविधाजडित गाडी आयात भएको छ । यस्ता उपकरण तथा गाडी आयातमा सरकारले भन्सार महसुलमा ५० प्रतिशतसम्म छुट दिने गरेको छ ।
त्यस्तै नेपालले स्पेनमा सबैभन्दा बढी सल, स्कार्फ, मफलरलगायतका ऊनका पोसाक निर्यात गरेको छ । विभागको तथ्यांकअनुसार झन्डै ९ करोड रुपैयाँबराबरको यी सामान स्पेन निर्यात भएको छ ।
त्यस्तै ६ करोड १४ लाख रुपैयाँबराबरको महिलाले लगाउने सुतीका ट्राउजर पनि स्पेन निर्यात भएको छ । नेपालबाट ४ करोड ७२ लाख रुपैयाँबराबरको ड्रम र जाइलोफोनजस्ता वाद्ययन्त्र स्पनेमा निर्यात भएको छ ।
