हस्तकला विकास बोर्ड गठन गर्ने व्यवसायीको मागमा प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूबीच भेटवार्ता भएको हो

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

Prime Minister positive on entrepreneurs' demand to establish Handicraft Development Board

What you should know

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री शाह र प्रतिनिधिहरूबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा प्रधानमन्त्री शाहले महासंघका प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।उनीहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको र सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसायसम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए ।यस्तै, निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरूको मागमा पनि प्रधानमन्त्री शाह सकारात्मक भएका छन् ।

अहिलेसम्म महासंघले गत २८ मंसिरमा आफ्नै ढंगले हस्तकला दिवस मनाइरहेको र अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासंघका पदाधिकारीको माग छ ।प्रधानमन्त्री शाहले पनि उक्त दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न सचिवालय टिमलाई निर्देशन दिए ।

हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने प्रधानमन्त्रीले आश्वस्त पारे । हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको ५ प्रतिशत रकम ३ वर्षयता रोकिएकोमा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने आश्वासन दिए ।

हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरु नै कार्यालय (कम्पनी रजिस्ट्रार) रहेकोमा फिर्ता हुनुपर्ने माग पदाधिकारीले राखेका थिए । 

उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएको पदाधिकारीहरूको भनाइ छ ।

परम्परागत सीप कलालाई जगेर्ना गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र दिनुपर्नेलगायत पदाधिकारीले भेटमा माग गरेका थिए ।छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।

कान्तिपुर

Link copied successfully