चक्रीय अन्नपूर्ण पदमार्गमा एकै वर्ष ४० हजार पर्यटक नाघे

शरद र वसन्त ऋतुमा मौसम अनुकूल, नयाँ गन्तव्यको पहिचान, सडक तथा होटल सुविधा विस्तारले अन्नपूर्ण पदमार्गमा पर्यटक आकर्षण उल्लेख्य रूपमा बढेको छ।

श्रावण ५, २०८३

आश गुरुङ

Annapurna Circuit Trek attracts over 40,000 tourists in a single year

What you should know

लमजुङ — नेपालको पर्यटकीय गन्तव्य मध्ये एक चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८२/०८३ मा चक्रीय अन्नपूर्ण पदमार्गमा ४० हजार ३ सय ७७ जना पर्यटक भित्रिएका छन् ।

एक्यापका अनुसार वर्षभरि आएका पर्यटकमध्ये २४ हजार ७ सय ३१ पुरुष, १५ हजार ६ सय ३३ महिला र १३ जना लैंगिक पहिचान नखुलेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३७ हजार ३ सय ३६ जना पर्यटक भित्रिएका थिए । आव २०८०/८१ मा २२ हजार ३ सय ७१ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए ।

आव २०८१/०८२ को तुलानामा २०८२/०८३ मा ३ हजार ४१ जना अर्थात् ८ दशमलव १४ प्रतिशतले पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।

एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो वर्ष गैर–सार्क मुलुकबाट ३४ हजार ३ सय १२ जना पर्यटक पदमार्गमा भित्रिएका छन् । तीमध्ये १९ हजार ७ सय ६ पुरुष, १४ हजार ५ सय ९३ महिला र १३ जना अन्य छन् ।

सार्क राष्ट्रबाट भने नेपालबाहेक ६ हजार ६५ जना पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । तीमध्ये ५ हजार २४ पुरुष र १ हजार ४१ महिला छन् । एक्यापले नेपालीको तथ्यांक लिने गरेको छैन । यसअघि अंग्रेजी वर्षअनुसार पर्यटकको तथ्यांक लिँदै आएको एक्यापले पछिल्लो वर्ष नेपाली आर्थिक वर्ष अनुसार पनि पर्यटकको तथ्यांक लिन थालेको छ ।

सार्क मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै ५ हजार ४ सय २४ जना पर्यटक आएका छन् । त्यसपछि बंगलादेशबाट ६ सय र श्रीलंकाबाट २४ जना आएका छन् । सवैभन्दा कम अफगानिस्तानबाट २ जना र भुटानबाट ३ जना मात्र पर्यटक आएको एक्यापको तथ्यांकमा उल्लेख छ ।

गैर–सार्क मुलुकतर्फ इजरायलबाट सबैभन्दा धेरै ३ हजार ८ सय ९३ पर्यटक पदमार्गमा आएका छन् । फ्रान्सबाट ३ हजार १३ र जर्मनीबाट २ हजार ६ सय ४४ जना पर्यटकले पदमार्गको भ्रमण गरेका छन् । तथ्यांकअनुसार १२ वटा देशबाट १/१ जना, ११ वटा देशबाट २/२ जना र १० वटा देशबाट ३/३ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका छन् ।

एक्यापका अनुसार सवैभन्दा धेरै कार्तिकमा ८ हजार १ सय ६५ जना पर्यटक पदमार्गमा भित्रिएका छन् । त्यसपछि वैशाखमा ७ हजार २ सय, असोजमा ६ हजार ५ सय ६० र चैतमा ६ हजार १ सय २६ जना आएका छन् । मंसिरमा ३ हजार ३ सय ३१, जेठमा २ हजार ७ सय ५९, फागुनमा २ हजार ९३, पुसमा १ हजार २ सय १८, भदौमा १ हजार १ सय ९८ र असारमा ७ सय ७९ जना पर्यटक आएका छन् । गतवर्ष साउनमा सबैभन्दा कम ३ सय ७३ जना पर्यटक भित्रिएका थिए । गत माघमा ५ सय ७५ जना पर्यटक आएका थिए ।

चक्रीय अन्नपूर्ण पदमार्गमा शरद ऋतु (असोज–कार्तिक) र वसन्त ऋतु (चैत–वैशाख) मा पर्यटक आगमन उच्च रहेको छ । यी महिनामा मौसम सफा हुने, हिमश्रृंखलाको दृश्य स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण रहने भएकाले पर्यटकको चहलपहल बढ्ने माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन् ।

नेपालको प्रमुख पदयात्रा गन्तव्यमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्गमा पछिल्ला वर्षमा पर्यटक आगमन बढ्दै गएको छ । चक्रीय अन्पूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा दिगो पर्यटन प्रवर्द्धन, फोहोर व्यवस्थापन साथै पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको एक्यापले जनाएको छ ।

एक्यापका अनुसार २०८१/०८२ देखि मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाबाट मनाङ प्रवेश गर्ने पर्यटकलाई पनि चक्रीय अन्नपूर्ण पदमार्गमा आएको पर्यटकसँगै गाभिएको छ ।

२०८०/८१ मा २२ हजार ३ सय ७१ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए । गोरखाबाट प्रवेश गर्नेको समेत गरेर २०८१/०८२ मा चक्रीय अन्नपूर्ण पदमार्गमा ३७ हजार ३ सय ३६ जना पर्यटक भित्रिएका थिए । यो १४ हजार ९ सय ६५ अर्थात ४० दशमलव ०८ प्रतिशतले बढी हो ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा पछिल्लो समय नयाँ गन्तव्यहरु पहिचान हुनुका साथै हिमालमा आरोहण अनुमतिले पनि पर्यटक आगमन बढेको छ । चामे गाउँपालिकामा काजिनसरा ताल (५००२ मि.) पहिचान भएसँगै पर्यटक आगमन बढेको छ । नार्पाभूमिमा हिमलुङ हिमाल (७१२६ मि.) गतवर्षदेखि आरोहण खुलाएसँगै विदेशी पर्यटकको आगमन बढेको छ ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार पछिल्लो समय चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा समय छोटिएको छ । यसको मुख्य कारण सडक हो । ‘पहिले २१ दिन लाग्ने पदमार्गको यात्रा अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिन्छ । यात्रा छोटो भएकाले पनि यस क्षेत्रमा पर्यटक आगमन बढेको हो,’ उनले भने।

उनका अनुसार पहिले बेंसीसहरबाट हिँडेर सुरु हुने पदयात्रा अहिले उत्तरी लमजुङको जगतक्षेत्र, तल्लो मनाङको धारापानी वा सदरमुकाम चामेबाट सुरु हुन्छ । त्यतिमात्र नभएर अहिले सुविधा सम्पन्न होटलहरु खुलेका छन् । ‘हाइ क्लास’ का होटलहरु सञ्चालनमा छन् । पहिलेका होटलहरुले पनि सुविधा पढाएका छन् । त्यसैले पनि पर्यटकहरु बढेको उनले बताए । ‘अहिले देशमा पहिलेको तुलानामा बन्द हड्ताल छैन । पर्यटकलाई सहज छ । त्यसैले यस क्षेत्रमा पनि पर्यटक बढेको हो,’ उनले भने ।

एक्याप मनाङका प्रमुख भुजेलले पछिल्लो समय हिमाली क्षेत्रमा प्राकृतिक प्रकोप नहुँदा र सकारात्मक प्रचारप्रसार हुँदा चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढेको बताए । पछिल्लो समय सार्क मुलुक भारतबाट पनि पर्यटक आगमन बढेकाले तथ्यांकमा पर्यटक आगमन संख्या बर्षेनी बढ्दै गएको उनले बताए । उनका अनुसार बन्द हड्ताल नहुँदा पनि घुम्ने वातावरण बनेको छ ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङमध्येको एक थोराङला भञ्ज्याङ (५,४१६ मि.) पार गर्दै मुस्ताङको मुक्तिनाथ, जोमसोम, म्याग्दी भएर पोखरा पुगेपछि पूरा हुन्छ ।

पछिल्लो समय संसारकै अग्लो ठाउँमा रहेको तालमध्ये एक तिलिचो ताल (४,९१९ मि.) आउने पर्यटक समेत बाक्लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले नयाँ गन्तव्य पहिचान, हिमाल आरोहण खुला, सडक सुविधा र स्तरोन्नति, पदमार्गको स्तरोन्नति, प्राकृतिक प्रकोपमा कपी, शान्ति सुरक्षाको व्यवस्थापनले पर्यटक आगमन बढदै गएको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully