स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धन र चोरी–पैठारी नियन्त्रणका लागि सरकारसाग व्यवसायीको आग्रह
What you should know
काठमाडौँ — फुटवेयर म्यानुफ्याक्चरर्स सोसिएसन अफ नेपाल (एफएमएएन) ले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धन र चोरी पैठारी नियन्त्रणका लागि सरकारसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह र एसोसिएसनका पदाधिकारीबीच भएको छलफलमा प्रधानमन्त्रीले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने प्रतिबद्धता जनाए ।
छलफलमा सांसद विदुषी राणा, संघका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई र पूर्वउपाध्यक्ष सहभागी थिए । राणाको समन्वयमा सम्पन्न छलफलमा महासंघका प्रतिनिधिले जुत्ता–चप्पल चोरी–पैठारी नियन्त्रण, स्वदेशी उद्योग प्रवर्द्धन तथा अनुगमन प्रणाली सुदृढ बनाउन आग्रह गरे ।
स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारी कर्मचारी, नेपाल प्रहरी तथा अन्य सरकारी निकायमा नेपाली उत्पादनका जुत्ता–चप्पल प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीसमक्ष राखिएको थियो । ‘प्रधानमन्त्रीले उद्योगीका माग सुनेपछि नेपाल प्रहरीका महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, राजस्व विभाग तथा वाणिज्य विभागका प्रमुखलाई बोलाएर छलफल अघि बढाइएको छ,’ सांसद राणाले भनिन् ।
आगामी १५ दिनभित्र सूचना जारी गर्ने, चोरी–पैठारीमा संलग्नमाथि कडा कारबाही गर्ने तथा बजार अनुगमन प्रभावकारी बनाउने विषयमा सहमति भएको उनले बताइन् । स्वदेशी उद्योग अहिले सबैभन्दा बढी चोरी–पैठारीबाट प्रभावित भएको उनको भनाइ छ ।
भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी–पैठारी र गुणस्तरहीन तथा सस्ता जुत्ता–चप्पल आयात नियन्त्रण गर्न र अनिवार्य गुणस्तर परीक्षण गर्न एसोसिएसनले ध्यानाकर्षण गराएको छ । आयात–निर्यातमा देखिएको समस्या र यसको गुणस्तरमा दक्ष जनशक्तिको अभाव, कच्चापदार्थ तथा छालाजन्य वस्तुको आयातमा देखिएको समस्या तथा बीआईएसको गुणस्तर मापदण्डमा कूटनीतिक पहल सहजीकरण गरिनुपर्नेमा महासंघको जोड छ ।
चाडपर्वमा आवश्यक कच्चापदार्थ आयातमा १२ देखि १४ वटा सीमित कन्टेनर मात्र नाकाबाट छाड्ने हुँदा सिजनको समयमा मागअनुसारको कन्टेनर छाडिदिन कूटनीतिक पहल गर्नुपर्नेमा एसोसिएसनको माग छ ।
कृषि क्षेत्रपछि सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने फुटवेयर उद्योगमा आवश्यक जनशक्तिको अभावका कारण विदेशी श्रमिकमा निर्भर हुनुपरेको एसोसिएसन अध्यक्ष बञ्जाडेले बताए । सातै प्रदेशमा सीपमूलक तालिमको व्यवस्था गरी स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न तथा रोजगारी सिर्जना गर्न आवश्यक पहल गरिदिन आफूहरूले प्रधानमन्त्रीसँग आग्रह गरेको उनले जनाए ।
प्रधानमन्त्री शाहले सकारात्मक रूपमा माग सम्बोधन गरेको र आगामी दिनमा व्यवसायीका मागलाई व्यवस्थित गर्दै लैजानेमा आफू विश्वस्त रहेको अध्यक्ष बञ्जाडेको भनाइ छ । नेपालका फुटवेयर उद्योगले ५० हजारलाई रोजगारी दिइरहेको उनले बताए । गत आर्थिक वर्षमा ४७ लाख जोर जुत्ता निर्यात गरेको र अहिले ११ महिनामा ६० लाख जोर निर्यात गरिसकेको उनले जनाए ।
स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारी कर्मचारी, नेपाल प्रहरी तथा अन्य सरकारी निकायमा नेपाली उत्पादनका जुत्ता–चप्पल प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्ने एसोसिएसनको माग छ । छलफलमा वाणिज्य विभागमा जनशक्ति अभाव रहेको विषय उठेपछि आवश्यक कर्मचारी अन्य निकायबाट समेत परिचालन गर्ने तयारी गरिएको एसोसिएसनको भनाइ छ ।
