कोलकाताबाट हिँडेको कार्गो रेल आइतबार विराटनगर आउँदै

नेपाल–भारत पारवहन व्यवस्थाअन्तर्गत पहिलोपटक यस्तो औपचारिक कार्गो रेल सेवा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

श्रावण २, २०८३

पर्वत पोर्तेल

Cargo train from Kolkata arriving in Biratnagar on Sunday

What you should know

विराटनगर — तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब भारतको कोलकाता बन्दरगाहबाट सिधैं रेलमार्फत विराटनगर भन्सारसम्म ल्याउन सकिने भएको छ । 

नेपाल–भारत पारवहन व्यवस्थाअन्तर्गत पहिलोपटक यस्तो औपचारिक कार्गो रेल सेवा शुक्रबारदेखि सञ्चालनमा आएको हो । कोलकातावाट हिँडेका रेल आइतबार विराटनगर आइपुग्ने छ । 

सेवाअन्तर्गत कोलकाता बन्दरगाहबाट स्वस्तिक आयल इन्डस्ट्रिजका लागि कच्चा पदार्थ बोकेका ४० वटा ४० फिट क्षमताका कन्टेनरसहितको पहिलो रेल विराटनगरतर्फ पठाइएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार रेल आइतबारसम्म विराटनगर आइपुग्ने छ । 

कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए । 

रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो र्ट्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ ।  जसबाट ढुवानीको अवस्थालाई वास्तविक समयमै निगरानी गर्न सकिने र सुरक्षा तथा पारदर्शिता बढ्ने जनाइएको छ । 
यो सेवा भारत सरकारले नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत गरेको नीतिगत संशोधनपछि सम्भव भएको हो ।

भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले ४ नोभेम्बर २०२५ मा ईसीटीएससम्बन्धी नियम संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानीको अनुमति दिएको थियो । त्यसपछि कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरसम्म रेल ढुवानीको प्रक्रियागत व्यवस्था मिलाएको थियो । 

यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्मको रेल सेवा २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन ताका एक पटक आएको रेल त्यसपछि फर्किएको छैन । 

नयाँ व्यवस्थासँगै एकैपटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत विराटनगर ल्याउन सकिनेछ । यसअघि तेस्रो मुलुकबाट रेलमार्फत सिधा कार्गो ढुवानीको सुविधा वीरगञ्जसम्म मात्र सीमित थियो । 
कोलकातास्थित नेपाली महावाणिज्यदूतावासद्वारा जारी प्रेम विज्ञप्ति अनुसार रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा लागत घट्ने, सुरक्षा बढ्ने र ढुवानी अवधि करिब २४ घण्टामा सीमित हुने भएकाले आयात प्रक्रिया थप प्रभावकारी हुनेछ ।

यसबाट बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन र ढिलाइ शुल्क घट्ने अनुमान छ । साथै सडक ढुवानीको अतिरिक्त खर्च कम हुने तथा पूर्वी नेपालका उद्योगहरूको उत्पादन लागत घटाएर प्रतिस्पर्धात्मक क्षमता बढ्ने सम्भावना देखिन्छ । पूर्वी नेपालको औद्योगिक र व्यापारिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले जनाए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully