बिहीबारको तुलनामा ३.०६ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको मूल्य बढेसँगै २,६७७.५४ विन्दुमा पुगेको छ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले बढेको छ । बिहीबारको तुलनामा ३.०६ प्रतिशतले वृद्धि भएको नेप्से २६७७.५४ विन्दुमा उक्लिएको छ । बुधबारयता नेप्से निरन्तर बढेको हो ।
सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको मूल्य बढ्यो । उत्पादन तथा प्रशोधनको ४६७.३५, होटल तथा पर्यटनको २५९.३८, निर्जीवन बीमाको २२८.८९ अंकले बढ्यो । सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ अंकले घट्यो ।
कारोबारमा आएका मध्ये २५९ कम्पनीको सेयर मूल्य बढ्यो, १३ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्सेका अनुसार ५८ हजार ९४ पटकको किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य १५ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको १४.८३, शिखर पावर डेभलपमेन्टको १२.५४, रिड्ज लाइन इनर्जीको १२.०६, मध्य सोलु हाइड्रोपावरको १२.०५ प्रतिशतले सेयर मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १५, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ८.७२, आरबीबी फोकस ४० को ६.११, एनएमबी हाइड्रो फन्ड एल-आइआईको ५.६३, कर्पोरेट विकास बैंकको ४.१७ प्रतिशतले मूल्य घट्यो ।
