विश्वका अधिकांश हाइड्रोजन रेल २ देखि ३ कोचमा सीमित रहेका बेला भारतले भने १० कोचको रेल सञ्चालनमा ल्याएको हो । उक्त रेलले २६०० यात्रु बोक्ने क्षमता छ ।
What you should know
काठमाडौँ — भारतले पहिलो 'हाइड्रोजन रेल' सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेल्वे स्टेसनबाट पहिलो 'हाइड्रोजन रेल' को उद्घाटन गरेका हुन् । उक्त रेलको नाम 'नमो ग्रिन रेल' राखिएको छ ।
उक्त रेल प्रारम्भिक रूपमा हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ । उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेशन तथा हल्टमा सेवा प्रदान दिनेछ । हाइड्रोजनबाट आफ्नै विद्युत् उत्पादन गर्ने यो रेललाई भारतको स्वच्छ, दिगो र हरित रेल यातायाततर्फको ऐतिहासिक उपलब्धि बताइएको छ ।
विश्वका अधिकांश हाइड्रोजन रेल २ देखि ३ कोचमा सीमित रहेका बेला भारतले भने १० कोचको रेल सञ्चालनमा ल्याएको हो । उक्त रेलले २६०० यात्रु बोक्ने क्षमता छ ।
यो रेल सञ्चालन गर्न ओभरहेड विद्युत् लाइन आवश्यक नपर्ने बताइएको छ । रेलभित्र जडित 'प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल'मार्फत हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन गरिने भारतको रेल मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त विद्युत्ले ट्र्याक्सन मोटर सञ्चालन गरी रेलका पाङ्ग्रा घुमाउँछ । यस प्रक्रियाबाट जलवाष्प र ताप मात्र उत्पादन हुने भएकाले धुवाँ वा प्रत्यक्ष कार्बन उत्सर्जन नहुने उल्लेख छ ।
पछिल्ला १२ वर्षमा भारतीय रेलले तीव्र गतिमा रेलमार्गको विद्युतीकरण गरेको छ । हाल भारतका ९९ प्रतिशतभन्दा बढी ब्रोडगेज रेलमार्ग विद्युतीकरण भइसकेका छन् । हाइड्रोजन पावरमार्फत स्वच्छ रेल सञ्चालनमा अर्को महत्त्वपूर्ण फड्को भएको भारतीय रेलले जनाएको छ ।
यो रेलमा दुईवटा 'हाइड्रोजन ड्राइभिङ पावर कार' र ८ ट्रेलर कोच रहेका छन् । प्रत्येक पावर कारमा 'प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल', लिथियम आइरन फस्फेट ब्याट्री र हाइड्रोजन भण्डारण सिलिन्डर जडान गरिएको छ । प्रत्येक पावर कारले १२०० किलोवाट विद्युत् उत्पादन गर्नेछ । दुवै पावर कारको संयुक्त क्षमताले रेललाई अधिकतम ११० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न सक्नेछ भने प्रारम्भिक सञ्चालन गति ७५ किलोमिटर प्रतिघण्टा तोकिएको छ ।
रेल सञ्चालनका लागि हरियाणाको जिन्दमा भारतकै सबैभन्दा ठूलो रेल हाइड्रोजन रिफ्युलिङ केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्रमा इलेक्ट्रोलाइसिस प्रविधि अर्थात विद्युत्को माध्यमबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हाइड्रोजन उत्पादन गरिन्छ । केन्द्रमा करिब तीन हजार केजी हाइड्रोजन भण्डारण गर्न सकिने भारतीय रेलले जनाएको छ ।
हाइड्रोजन अत्यधिक ज्वलनशील ग्यास भएकाले सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । रेल तथा रिफ्युलिङ केन्द्रमा हाइड्रोजन चुहावट, ताप, आगो र धुवाँ पत्ता लगाउने अत्याधुनिक सेन्सर जडान गरिएको छ । कुनै असामान्य अवस्था देखिए हाइड्रोजन आपूर्ति स्वतः बन्द हुने प्रणाली राखिएको छ । आकस्मिक अवस्थामा रेललाई सुरक्षित स्थानसम्म लैजान सकिने सुविधा तथा सम्पूर्ण प्रणालीको अवस्थाबारे वास्तविक समयमै जानकारी दिने डिजिटल निगरानी प्रणाली पनि उपलब्ध गराइएको छ ।
रेल सञ्चालनअघि लोड बक्स परीक्षण, रेडियो फ्रिक्वेन्सी परीक्षण, कम्पन (अस्सिलेसन) परीक्षण तथा आकस्मिक ब्रेक परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको भारतीय रेलले जनाएको छ । सबै प्राविधिक परीक्षण र सुरक्षा मूल्यांकन पूरा भएपछि मात्र रेललाई सञ्चालनका लागि स्वीकृति दिइएको बताइएको छ । भारतको राष्ट्रिय हरित हाइड्रोजन अभियान तथा दीर्घकालीन शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
