भन्सार विभागले वीरगञ्ज भन्सारलाई २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो।
What you should know
पर्सा — मुलुककै प्रमुख स्थल नाका वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक राजश्व संकलनको लक्ष्य पूरा गर्न सकेन। विभागले दिएको लक्ष्यको ८९.१९ प्रतिशत मात्र राजश्व संकलन गर्दै कार्यालयले लक्ष्यभन्दा करिब २९ अर्ब ५७ करोड रुपैयाँले पछि परेको हो।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले वर्षभरिमा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको छ।
भन्सार विभागको देशव्यापी वार्षिक लक्ष्य ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ रहेकामा त्यसको ४६.४७ प्रतिशत वीरगञ्ज भन्सारबाट उठाउने लक्ष्य निर्धारण गरिएको थियो। वास्तविक संकलनका आधारमा विभागको कुल राजश्वमा वीरगञ्ज भन्सारको योगदान ४१.४७ प्रतिशत रहेको छ।
आर्थिक वर्षको अन्तिम महिना असारमा भने वीरगञ्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ। असारका लागि २१ अर्ब ९८ करोड रुपैयाँ राजश्व लक्ष्य रहेकामा कार्यालयले २२ अर्ब ४ करोड ७० लाख रुपैयाँ संकलन गरेको हो। दैनिक औसत लक्ष्य ७५ करोड १६ लाख रुपैयाँ रहे पनि दैनिक औसत ७१ करोड १८ लाख रुपैयाँ राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
गत वर्ष सिर्सिया सुक्खा बन्दरगाहलाई वीरगञ्ज भन्सार कार्यालयमा गाभिएपछि राजश्व संकलनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको थियो। तर वार्षिक लक्ष्य भने पूरा हुन सकेन।
यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व संकलनमा सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७९ अर्ब रुपैयाँको लक्ष्य दिइएकामा वीरगञ्ज भन्सारले २ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत मात्र राजश्व संकलन गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा लक्ष्य प्राप्तिको अनुपात बढेको देखिन्छ।
गत वर्ष केही समय जेन–जेड आन्दोलन तथा एमआरपी लेबलसम्बन्धी विवादका कारण आयात–निर्यात प्रभावित हुँदा राजश्व संकलनमा असर परेको थियो। त्यसबाहेक सामान्य अवस्थामा भने राजश्व संकलन सन्तोषजनक रहेको कार्यालयको भनाइ छ।
वीरगञ्ज नाकाबाट सडक र रेल दुवै माध्यमबाट मालवस्तुको आयात–निर्यात हुने व्यवस्था छ। राजश्वको मुख्य स्रोत आयातित वस्तु हुन्। इन्धन, नयाँ सवारीसाधन, फलामजन्य सामग्री, औद्योगिक कच्चा पदार्थ, मदिरा तथा विद्युतीय उपकरणबाट सबैभन्दा बढी राजश्व उठ्ने गरेको छ।
असारमा एलपी ग्यास, जीप–कार–भ्यान, मोटरसाइकल, खाने तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, अन्य बस तथा ट्रक, बिस्कुट तथा मोटरगाडीका पार्टपुर्जाको आयातबाट सर्वाधिक राजश्व संकलन भएको तथ्यांकले देखाएको छ। निर्याततर्फ भटमास तथा सूर्यमुखीको तेल, जुस, जामलगायतका वस्तु प्रमुख छन्।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले अन्तर्राष्ट्रिय व्यापारमा आएको शिथिलता, आन्तरिक आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु, एमआरपी लेबलसम्बन्धी विवाद तथा औद्योगिक कच्चा पदार्थको आयातमा आएको कमीका कारण वार्षिक राजश्व लक्ष्य पूरा गर्न नसकिएको बताए। व्यापार सहजीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास जारी रहेकाले आगामी दिनमा राजश्व संकलनमा सुधार आउने विश्वास उनले व्यक्त गरे।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहसँगको भौगोलिक निकटताका कारण वीरगञ्ज नाका अधिकांश आयात–निर्यातकर्ताको पहिलो रोजाइमा पर्ने बताए। भन्सारको सेवा प्रवाहलाई अझ छरितो, प्रविधिमैत्री र सहज बनाउन सके व्यापार विस्तारसँगै राजश्व संकलनमा समेत उल्लेख्य वृद्धि हुने उनको भनाइ छ।
