व्यवसायी भन्छन् : क्षेत्राधिकारबाहिर प्रहरीले मालवस्तु रोकेर अनावश्यक दु:ख दियो, भन्सारका कर्मचारी भन्छन् : प्रहरी र व्यवसायीको विवाद हो
काठमाडौँ — कर्मचारीले जाँचपास गरेर जहाजमा लैजाने तयारी गरेको नेपाली वस्तुमाथि प्रहरीले प्रश्न उठाएपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निर्यात व्यापार बिहीबारदेखि ठप्प भएको छ ।
नेपालमा उत्पादन भएको गलैंचा, गार्मेन्ट, हयान्डीक्राफ्ट, तरकारी, जडिबुटीलगायतका करोडौं मूल्यका मालवस्तु युरोप, अमेरिकालगायतका मुलुकमा निकासी गर्न प्याकिङ गरेर फ्लाइट बुकिङसमेत भएको अवस्थामा निर्यात रोकिएको हो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द शर्माको उपस्थितिमा विमानस्थल भन्सार कार्यालयमा सरोकारवालाबीच वार्ता भइरहेको छ । वार्ता लामो समयदेखि भए पनि निकास निस्केको छैन ।
एक कार्गो सञ्चालकले प्याक गरेको मालवस्तु एक्सरे मेसिनमा राखेर जाँच गर्ने क्रममा प्रहरीले केही जडिबुटीसहितका मालबस्तुका विषयमा प्रश्न उठाएपछि विवाद सुरु भएको थियो । नियमित रूपमा विदेश पठाइरहेको नेपाली मालवस्तुलाई प्रहरीले अनावश्यक रूपमा रोकेर दुःख दिएको भनाइ व्यवसायीको रहेको छ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र संग्रौलाले प्रहरीले क्षेत्राधिकार मिचेर हस्तक्षेप गरेकोले समस्या सिर्जना भएको बताए ।
‘प्रहरीले भन्सारमा हातहतियार र विमानको सुरक्षाका विषयमा मात्र आफ्नो अधिकार प्रयोग गर्न सक्छ,’ अध्यक्ष संग्रौलाले भने, ‘अहिले प्रहरीबाट निकासीको सामान बरामद गर्ने, सबै सामान खोलेर देखाउनुपर्ने, कार्गोका कर्मचारीलाई हप्कीदप्की गर्ने जस्ता क्रियाकलाप भएको छ ।’
तर अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरियाले निर्यात रोक्ने काम प्रहरीको नभएको बताए । ‘हातहतियार वा सुरक्षाका हिसाबले प्रतिबन्धित वस्तुको विषयमा बाहेक अन्य कुरामा प्रहरीको भूमिका हुँदैन,’ रजौरियाले भने,‘निकासीको मालवस्तु रोक्ने कुरै आउँदैन ।’
व्यवसायीले भने सुरक्षाका नाममा प्रहरीको ज्यादती गरेको गुनासो गरेका छन् । ‘गल्ती भएमा भन्सारले गर्ने कारबाही भोग्न हामी तयार छौं,’ एक व्यवसायीले भने, ‘तर प्रहरीले अनावश्यक रूपमा थर्काउने र हतोत्साहित गराउने काम निरन्तर चलिरहेको छ ।’
भन्सार कर्मचारीले गर्ने काममा प्रहरीले गरेको भनाइ व्यवसायीको रहेको छ । भन्सारभित्र रहेको एक्सरे मेसिनमा प्रहरीले सामानको जाँच गर्दै आएको छ । भन्सारको छुट्टै कर्मचारी छैन, एक्सरे मेसिन पनि छैन । भन्सारका एक अधिकृतका अनुसार कार्गोले निर्यात गर्न खोजेको जडिबुटीसहितका केही सामान प्रहरी रोकेपछि विवाद सुरु भएको थियो । एसएसपी रजौरियाले भने प्रहरीबाट निर्यातमा असहज हुने काम नगरेको दाबी गरे । उनी भन्छन्, ‘निकासीका विषयमा सबै काम भन्सारले गर्ने हो । यसमा प्रहरीको भूमिका हुँदैन । हामीले सहजीकरण गर्ने हो ।’
तर भन्सार कर्मचारीले निकासी भइरहेको जडिबुटीसहितका केही वस्तु लैजान आफूहरूले रोक नलगाएको बताए । ‘यो विषय सुरक्षाकर्मी र व्यवसायीबीचको विवाद हो । हामीबाट रोकिएको छैन’, ती कर्मचारीले भने । अघिपछि विदेश पठाइरहेको नेपाली वस्तु अहिले पठाउन नमिल्ने भनेपछि कार्गो व्यवसायीले विरोध जनाएका छन् । प्रहरीले मंगलबार केही जडिबुटी बरामद गरेर लगेको भनाइ व्यवसायीको रहेको छ ।
बुधबार विभिन्न कार्गोले प्याकिङ गरेको सामान ढुवानी गर्न व्यवसायीले १ लाख भन्दा बढी डलर ‘बुकिङ चार्ज तिरिसकेको अवस्थामा निकासी रोकिएको हो । एक दिन सामान रोकिँदा व्यवसायीले लाखौं रुपैयाँ घाटा बेहोर्नुपर्ने भनाइ उनीहरुको रहेको छ । ‘राति जहाज रित्तै उड्यो तर हामीले सामान पठाउन पाएनौं,’ ती कार्गो व्यवसायीले भने, ‘भन्सार कर्मचारीमाथि विश्वास नगरेर अनावश्यक रूपमा व्यवसायीलाई दुःख दिइएको छ ।’
अहिले विदेश पठाउन मालवस्तुले गोदाम भरिएको छ । बाहिरबाट पनि कार्गोले सामानहरू ल्याइरहेका छन् । तर भन्सारले निकासी खुलाउन सहजीकरण गर्न सकेको छैन । व्यापार सहजीकरणको बैठक अहिले भन्सार कार्यालयमा भइरहेको छ । करिब एक महिनाअघि प्रधानमन्त्री कार्यालयले विमानस्थल हेर्नेगरी सचिव शर्मालाई खटाएको थियो ।
