नेपाल र भारतको संयुक्त निर्देशक समिति बैठकको निर्णयपछि दुवै देशमा विद्युतीय पूर्वाधार, लगानी र आर्थिक एकीकरणमा झनै विश्वास बढेको निक्कीले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल र भारतबीचको सीमापार विद्युत् प्रसारण क्षमता विस्तार गर्ने निर्णयको स्वागत गरेको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी)को १३औँ बैठकले नेपालबाट भारततर्फ विद्युत् निर्यात तथा आयात क्षमता बढाउने निर्णय गरेको थियो ।
बैठकले ढल्केबार–मुजफ्फरपुर र ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता ११०० मेगावाटबाट १६५० मेगावाट तथा आयात क्षमता १००० मेगावाटबाट १४०० मेगावाट पुर्याउने सहमति गरेको छ । यसबाट थप ५५० मेगावाट विद्युत् निर्यातको मार्ग खुल्ने संघले जनाएको छ ।
संघले इनरुवा–पूर्णिया, दोधोधरा–बरेली, मोतिहारी–निजगढ, चमेलिया–जौलजीबी र नयाँ बुटवल–गोरखपुरलगायत सीमापार प्रसारण आयोजना अघि बढ्नु नेपाल–भारत ऊर्जा सहकार्यमा विकसित विश्वास र समझदारीको परिणाम भएको जनाएको छ । यस्ता पूर्वाधारले क्षेत्रीय ऊर्जा सुरक्षा, सीमापार विद्युत् व्यापार र आर्थिक एकीकरणलाई थप मजबुत बनाउने विश्वास संघको छ ।
नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड (पीजीसीआईएल)बीचको सहकार्यमा अघि बढाइएका प्रसारण परियोजनाको कार्यान्वयनलाई पनि संघले स्वागत गरेको छ । यस्तो संस्थागत साझेदारीले दुई देशबीचको ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउने संघको धारणा छ ।
संघले सरकार, सार्वजनिक संस्थान र निजी क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । सरकार–सरकार, सरकार–निजी क्षेत्र तथा निजी क्षेत्र–निजी क्षेत्रबीचको साझेदारीले ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार र सीमापार विद्युत् व्यापारमा लगानी, प्रविधि हस्तान्तरण र दीर्घकालीन सहकार्यलाई गति दिने जनाएको छ ।
नेपालको जलविद्युत् सम्भावना र भारतको बढ्दो स्वच्छ ऊर्जाको मागले दुवै देशबीच ऊर्जा साझेदारी थप सुदृढ हुने संघको विश्वास छ । साथै, जलविद्युत् उत्पादनसँगै देशभित्र औद्योगिकीकरण, ऊर्जा–आधारित उद्योग, डाटा सेन्टर, सूचना प्रविधि सेवा, विद्युतीय सवारी, रेल, हरित हाइड्रोजनलगायत क्षेत्रमा विद्युत्को उपयोग विस्तार गर्नुपर्नेमा संघले जोड दिएको छ ।
संघले भारतका सार्वजनिक तथा निजी क्षेत्रका कम्पनी, संस्थागत लगानीकर्ता र ऊर्जा विकासकर्तालाई नेपालको जलविद्युत्, प्रसारण पूर्वाधार तथा ऊर्जा–आधारित उद्योगमा लगानी विस्तार गर्न आग्रह गरेको छ । लगानीमैत्री र स्थिर नीतिगत वातावरणले भारतीय लगानी थप आकर्षित गर्ने तथा आगामी दशकमा भारततर्फ विद्युत् निर्यात उल्लेखनीय रूपमा बढाउन सहयोग पुग्ने संघको विश्वास छ ।
निक्कीले नेपाल–भारत आर्थिक तथा ऊर्जा सहकार्यलाई सुदृढ बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता बढाउन आवश्यक सहजीकरणमा आफ्नो समर्थन निरन्तर रहने प्रतिबद्धता पनि जनाएको छ ।
