अझै खुलेन तातोपानी नाका, करोडौंका सामान बोकेका कन्टेनर बाटोमै अलपत्र

लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि सोमबारदेखि अवरुद्ध बनेको कोदारी सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालन आउन नसकेको हो ।

असार ३१, २०८३

अनिश तिवारी

Tatopani border crossing still not opened, containers carrying goods worth crores stranded on the road

सिन्धुपाल्चोक — तीन दिनदेखि अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका बुधबार पनि सञ्चालनमा आउन सकेको छैन । सोमबार लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा भासिएको सडक मर्मत नहुँदा कोदारी सडकखण्ड पूर्ण रूपमा सञ्चालन आउन नसकेको हो ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीका अनुसार लिपिङ र डाक्लाङ क्षेत्रमा सडक खुले पनि इकोमा सडक भासिएकाले आवागमन ठप्प छ । त्यसका कारण पहिरोपारि स्याउ, सुन्तला, अदुवा, रेडिमेड सामान,  उपकरणलगायत सामग्री बोकेका करिब १५० कन्टेनर रोकिएका छन् । 'यताको सडक नखुल्दा चीनको न्यालम र अन्य इलाकामा करोडौंका सामान लोड गरिएका ४५ भन्दा बढी कन्टेनर उतै अलपत्र छन्,' उनले भने, 'सरकारले हाम्रो समस्या कहिले देख्छ ?'

गत २७ असारसम्म नियमित सञ्चालनमा रहेको तातोपानी नाका यस वर्षको पहिलो वर्षाकै कारण ठप्प भएको हो । २ दिनको वर्षापछि सीमा क्षेत्र लिपिङमा पहिरो खसेको छ भने वर्षेनी समस्या दोहोरिने इको क्षेत्रमा सडक भोटेकोशी नदीतर्फ बगेको छ । लामो समयपछि नियन्त्रणमा आएको डाक्लाङ पहिरो पनि पुनः सक्रिय बनेको छ । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले लिपिङमा पहिरो पन्छाइसकिएको र डाक्लाङमा पनि सडक सञ्चालनमा ल्याइएको बताए । तर इको क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले मर्मतमा कठिनाइ भएको भन्दै सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिए ।

दशक बित्दा पनि बनेन कोदारी राजमार्ग

नेपाल-चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाकासम्मको बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक २०७२ सालको भूकम्पयता पूर्ण रूपमा स्तरोन्नति भएको छैन । रणनीतिक महत्वको यो सडक हरेक वर्षायाममा अवरुद्ध हुने क्रम दोहोरिँदै आएको छ ।Tatopani border crossing still not opened, containers carrying goods worth crores stranded on the road

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले चिनियाँ अनुदान र चिनियाँ निर्माण कम्पनीलाई जिम्मा दिइए पनि सडकको अवस्था नफेरिएको बताए । 'फेरि चिनियाँ अनुदान, चिनियाँ कम्पनी र चिनियाँ ठेकेदार, तर सडकको अवस्था उही छ,' उनले भने ।

भूकम्पपछि कोदारी राजमार्ग पुनः निर्माण र पहिरो नियन्त्रणका लागि चीन सरकारले विभिन्न चरणमा ठूलो आर्थिक सहयोग घोषणा गरेको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवको चीन भ्रमणका क्रममा १४ भैत २०७१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले ९० करोड चिनियाँ युआन (करिब १६ अर्ब २० करोड रुपैयाँ) बराबर सहयोग घोषणा गरेका थिए । यसअघि पनि चीनले करिब ४८ करोड ४९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको थियो ।

सोही सहयोगअन्तर्गत सडक मर्मत र कालोपत्रेको जिम्मा चिनियाँ कम्पनी चाइना रेलवे फोर्थ कन्स्ट्रक्सन ब्यूरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले पाएको थियो । तर एक दशक बित्न लाग्दा पनि कोदारी–तातोपानी सडकका धेरै स्थान जोखिमपूर्ण अवस्थामै छन् ।

गत वर्ष पनि पहिरोका कारण तातोपानी नाका करिब ३ महिना बन्द भएको थियो । त्यसपछि स्थानीयको दबाबमा पहिरो नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सडक डिभिजन प्रमुख भण्डारीका अनुसार नेपाली कम्पनीसँग ठेक्का सम्झौता भई करिब १५ प्रतिशत काम सम्पन्न भइसकेपछि परराष्ट्र मन्त्रालयको पत्रका आधारमा ठेक्का रद्द गरिएको थियो । मन्त्रालयले उक्त क्षेत्रमा चिनियाँ कम्पनीमार्फत निर्माण गराउने निर्णय गरे पनि निर्माण कम्पनी अहिलेसम्म कार्यस्थलमा आएको छैन । उनका अनुसार नेपाल र चीनबीच दुई चरणको सम्झौता सम्पन्न भए पनि कार्यान्वयन सम्झौता हुन बाँकी छ । वर्षायामपछि चिनियाँ कम्पनीले इको क्षेत्रमा स्थायी पहिरो नियन्त्रणको काम सुरु गर्ने अपेक्षा गरिएको छ ।

इको पहिरोमाथि करिब १७५ घरधुरी रहेको र तलतिर भोटेकोशी नदीले निरन्तर कटान गरिरहेकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ । हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले वर्षेनी सडक अवरुद्ध हुने समस्या दोहोरिने भएकाले स्याउ बोकेका धेरै कन्टेनर केरुङ नाकातर्फ मोड्नुपरेको बताए । 'भोटेकोशी नदीको कटानले भन्सार यार्डसमेत जोखिममा परेको छ । सडकमा पहिरो खस्दा सम्बन्धित निकायले समयमै हटाउन नसक्ने भएकाले व्यापारी आफैंले खर्च जुटाएर सडक मर्मत गर्नुपर्ने अवस्था छ,' उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully