सामान्य सेयर कारोबारमा लगानीकर्ताले पहिले किन्छन् र मूल्य बढेपछि बेच्छन्। सर्ट सेलिङमा भने यसको उल्टो हुन्छ । मूल्य घट्ने अनुमानका आधारमा पहिले बिक्री गरिन्छ र पछि सस्तोमा किनेर हिसाब मिलाइन्छ ।
काठमाडौँ — बजार घट्दा पनि नाफा कमाउन सकिने विधि ‘सर्ट सेलिङ’ कार्यान्वयनमा ल्याउने तयारी नेपाल धितोपत्र बोर्डले गरेको छ । यो लगानीकर्ताले बजार घट्ने संकेत पाएपछि सम्बन्धित कम्पनीको धितोपत्र सापटी लिएर बेच्ने र बजार घटेको बेला किनेर फिर्ता गर्ने विधि हो ।
भारत, चीनलगायत अधिकांश मुलुकमा अभ्यासमा रहेको विधि हो । संघीय संसद अन्तरगतको अर्थसमितिको बैठकमा बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले यस्तो बताएका हुन् ।
उदाहरणका लागि कम्पनी ‘क’ को सेयर हाल प्रतिकित्ता १ हजारमा कारोबार भइरहेको छ । तपाईंलाई यसको मूल्य घटेर ८ सयमा पुग्ने विश्वास छ । यस्तो अवस्थामा लगानीकर्ताले सर्ट सेलिङ विधि अपनाउन सक्छन । जसअनुसार तपाईंले ब्रोकर वा अर्को लगानीकर्ताबाट १ सय कित्ता सेयर सापटी लिनु हुन्छ । अथवा सेयर सापटीका लागि नियामक निकायले अनुमति दिएर कम्पनी खुलेका हुन्छन् । त्यो कम्पनीबाट तपाईंले निश्चित संख्यामा सेयर सापटी ल्याएर १ हजारमा बिक्री गर्नुभयो । केही दिनपछि मूल्य ८ सयमा झर्यो । त्यतिबेला तपाईंले बजारबाट १ सय कित्ता सेयर ८ सयमा किनेर सापटी फिर्ता गर्न सक्नुहुन्छ ।
यसरी यो विधिबाट सेयर बिक्री गरेर बजार घटेको बेला पनि पनि नाफा कमाउन सकिन्छ । तर, जोखिम पनि त्यत्तिकै छ । लगानीकर्ताले अनुमान गरेअनुसार बजार घटेन भने थप बढ्यो भने लगानीकर्तालाई लाभ नभएर नोक्सान पनि हुन सक्छ । यद्यपि सेयर बजारमा पूर्ण जानकार लगानीकर्ताका लागि यो निकै प्रचलित विधि हो ।
यसमार्फत दीर्घकालीन लगानीकर्ता, म्युचुअल फन्ड, बीमा कम्पनी वा अन्य संस्थागत लगानीकर्ताले निश्चित अवधिका लागि आफ्ना सेयर सापटी दिन सक्छन् ।
बुधबार अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष भट्टले तीन महिनाभित्र ‘सर्ट सेलिङ’ को संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सर्ट सेलिङ लागू भए मूल्य घट्ने अनुमानको आधारमा पनि कारोबार गर्न सकिने भएकाले बजारमा तरलता बढ्ने, मूल्य निर्धारण प्रक्रिया प्रभावकारी हुने र व्यावसायिक कारोबार संस्कृतिको विकास बताए ।
सामान्य सेयर कारोबारमा लगानीकर्ताले पहिले किन्छन् र मूल्य बढेपछि बेच्छन्। सर्ट सेलिङमा भने यसको उल्टो हुन्छ । मूल्य घट्ने अनुमानका आधारमा पहिले बिक्री गरिन्छ र पछि सस्तोमा किनेर हिसाब मिलाइन्छ ।
