भरी सिलिन्डर ग्यास आजदेखि

आधा सिलिन्डर ग्यास बजारमा पठाउँदा निगम, उपभोक्ता, डिलर र उद्योगी सबैले मार परेको बताउँदै आएका थिए।

असार ३१, २०८३

जनकराज थपलिया

Full cylinder gas from today

काठमाडौँ — उपभोक्ताले आज (बुधबार) देखि खाना पकाउने भरी सिलिन्डर ग्यास किन्न पाउने भएका छन् । नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि साबिककै १४.२ केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो ।

इरान–अमेरिका/इजरायल युद्ध चर्किंदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले २९ फागुनदेखि आधा सिलिन्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो । युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्‍याउने उद्देश्यले आधा सिलिन्डर ग्यास बिक्री वितरणको नीति लिएको थियो । निगमको यो नीतिले उपभोक्ताको माग सम्बोधन गर्न त्यसबेला काम गरे पनि अहिले भारतबाट नियमित ग्यास आउन थाल्दासमेत आधा सिलिन्डर नीति यथावत् रहनु गलत भन्दै भरी सिलिन्डर ग्यासको माग गरिरहेका थिए ।

केही समयका लागि ७.१ केजीको सिलिन्डर पूर्णरूपमा प्रतिस्थापन नहुँदासम्म बजारमा दुवै तौलका सिलिन्डर बिक्री वितरण हुन सक्ने भएकाले सोहीअनुसार तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ ।

इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङको अवस्थामा सुधार तथा आम उपभोक्ताबाट भरी सिलिण्डरको मागको अवस्थालाई ध्यान दिइएको निगमको भनाइ छ । बुधबारदेखि मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने निगमले जनाएको छ । 

आधा सिलिण्डर ग्यास बजारमा पठाउँदा निगम, उपभोक्ता, डिलर र उद्योगी सबैले मार परेको बताउँदै आएका थिए । ग्यास उद्योगीहरूले आधा सिलिण्डर ग्यास भर्नुपर्दा एउटै काम दुई पटक गर्नु परिरहेको, सिल र क्यापमा अतिरिक्त खर्च भइरहेको गुनासो गर्दै आएका थिए ।

साथै, आधा सिलिण्डर मात्रै ग्यास भरेर बजार पठाउनु पर्दा भारतबाट ग्यास बोकेर आएका बुलेटहरूले खनाउन नपाउँदा हप्तौंसम्म कुर्नु पर्ने अवस्था थियो । यसरी बुलेटले कुरेर बसेको समयको भाडा समेत उद्योगीले तिर्नु परिरहेको बताएका थिए । निगमका अनुसार नेपालमा दैनिक एक लाखभन्दा बढी सिलिण्डर ग्यास खपत हुने गरेको छ ।

जनकराज

Link copied successfully