बर्डफ्लुपीडित किसानले पाए ५० करोड ७१ लाख राहत

देशभरका बर्डफ्लुपीडित किसानहरूले हालसम्म ५० करोड ७१ लाख १५ हजार ७०४ रूपैयाँ राहत पाइसकेका छन्

असार ३१, २०८३

रमेशकुमार पौडेल

Bird flu-affected farmers receive Rs. 507.1 million in relief

चितवन — चितवनका राजु आचार्यले भर्खर भर्खर व्यवसायिक रुपमा लोकल कुखुरा पाल्न सुरु गरेका थिए । उनको खोरमा भएका ९१३ वटा लोकल कुखुरा नयाँ वर्ष अर्थात वैशाखतिर बेच्ने योजनामा थिए । कुखुरापालनमा साढे ७ लाख रुपैयाँ खर्च भइसकेको थियो । कुखुरा बिक्रीबाट कम्तिमा ११ लाख आम्दानी हुने उनको अनुमान थियो । 

तर उनले सोचे जस्तो भएन । पहिलो गाँसमै ढुंगा पर्यो । आचार्यको खोरमा एक दिन सरकारी प्राविधिकहरू आएर भए भरका सबै कुखुरा र दाना नष्ट गरे ।  आफ्नो खोरका कुखुरामा बर्डफ्लु पुष्टि नभए पनि नजिकैको खोरमा बर्डफ्लु पुष्टि भएपछि खोरका सबै कुखुरा नष्ट गरिए । बर्डफ्लु पुष्टि भएपछि निश्चित क्षेत्रका सबै कुखुरा मार्नुपर्ने नियम रहेछ । 

‘मैले पालेका कुखुरामा बर्डफ्लु नदेखिए पनि अर्को फर्ममा देखिएकाले सबै नष्ट गर्नु पर्‍यो,’ भरतपुर–४ का राजु आचार्यले भने । ११ चैतमा उनको खोरका सबै कुखुरा र १३ क्वीन्टल दाना नष्ट गर्नु परेको थियो । कुखुरा राखेको ४ महिना मात्रै भएको थियो । साढे ४ महिनापछि कुखुरा बेच्न सुरु हुन्छ । 

बेच्ने बेला भएका कुखुरा नष्ट गरेको ३ महिनापछि उनले सरकारबाट पाउने राहत रकम प्राप्त गरेका छन् । नष्ट भएको कुखुरा र दानाको एकमुष्ट ४ लाख ९८ हजार रूपैयाँ पाएको उनले बताए । ‘क्षतिको तुलनामा यो रकम कम हो । पहिलो गाँसमै ढुङ्गा लागे झै भयो । तर हार मानेको छैन फेरि कुखुरा पाल्छु । यो रकमले केही भरथेग होला,’ उनले भने ।

गत चैतमा भरतपुर–४ को लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो । त्यहाँ रहेका १५ महिना पुगेका १२ हजार ९५० र ९ महिनाका ५ हजार कुखुरा नष्ट गर्नु परेको थियो । त्यसैगरी ५५ हजार ४४० गोटा अण्डा र ११ हजार ७५० किलो दाना नष्ट गर्नु परेको थियो । फार्म सञ्चालक ईश्वर कँडेलले सरकारबाट १ करोड ६१ लाख ४९ हजार रूपैयाँ राहत आएको जानकारी दिए ।

‘१० वर्ष भएको थियो कुखुरा पाल्न सुरू गरेको । पहिलो पटक यस्तो नोक्सानी बेहोर्नु पर्‍यो । नोक्सानीको लेखाजोखा नै छैन । सरकारले जे जति राहत दियो त्यसबाट फेरि कुखुराका चल्ला राख्न सहयोग नै होला,’ कँडेलले भने । बर्डफ्लु देखिएपछि खोर सफा र व्यवस्थापनका काम गर्दा ५ महिनापछि मात्र चल्ला राख्न सकिन्छ । त्यसैले अब भदौपछि चल्ला राख्ने उनको योजना छ ।

लेयर्स चल्ला राखेको ६ महिनापछि अण्डा दिन सुुरु हुन्छ । त्यसपछि वर्ष दिनसम्म राम्रै अण्डा दिन्छ । पछि अण्डा उत्पदान घट्न सुरू हुन्छ । चितवनमा जेठमा अर्को पोल्ट्री फार्म खैरहनी नगरपालिका–१ मा बर्डफ्लु पुष्टि भएको थियो । उक्त फार्ममा पनि अण्डाका लागि पालिने विकासे लेयर्स जातका कुखुराहरू थिए । २९ हप्ताका १४ हजार र ३३ हप्ताका २४ हजार २०० वटा लेयर्स कुखुरा नष्ट गर्नु परेको थियो ।

त्यसैगरी २ लाख ९५ हजार ५० गोटा अण्डा र १२ हजार केजी दाना पनि नष्ट गरिएको थियो । बर्डफ्लु देखिएका दुईवटा फार्म र आडमा रहेको एउटा फार्मका नष्ट गरेको कुखुरा, अण्डा र दानाको विवरण चितवनको पशु सेवा कार्यालयले १८ असारमा  काडमाडौं पशु सेवा विभागमा पठाएको पशु सेवा कार्यालयका सूचना अधिकारी डा. सविना मिश्रले बताइन् । सबै फार्मले रकम पाएका छन् ।

देशभर ५० करोड ७१ लाख राहत वितरण 

बर्डफ्लुका कारण नष्ट गरेको कुखुरालगायत पंक्षी, दाना, मासु र अण्डाबापत देशभरका सम्बन्धित किसानहरूले ५० करोड ७१ लाख १५ हजार ७०४ रूपैयाँ राहत पाइसकेका छ । १०५ जना किसान तथा फार्म सञ्चालकले यो रकम पाएका हुन् । पशु सेवा विभागका बर्डफ्लु फोकल पर्सन डा. मुकुल उपाध्यायले २४ असारसम्म कागजपत्र विभागमा आएका किसानले राहत पाएको जानकारी दिए । 

‘२४ असारसम्म जहाँ जहाँबाट कागजपत्रहरू आयो ति सबै किसानहरूकै बैंक खातामा राहत रकम गइसकेको छ,’ उपाध्ययाले भने । पशु सेवा विभागले जारी गरेको सूचना अनुसार यो पटक ४ चैतमा मोरङमा बर्डफ्लु (एचफाइब एननाइन) पुष्टि भएको थियो । त्यसयता ९ असारसम्म देशका ११ जिल्लामा बर्डफ्लु फैलिएको थियो । चितवनमा २ फार्मबाहेक अन्यत्र बर्डफ्लु देखिएको छैन । 

जिल्ला दररेट समितिले निर्धारण गरेको मूल्यअनुसार लागतको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बस्ने बैठकले कुखुराको उमेर अनुसार दररेट निर्धारण गर्दछ । चितवनमा ११चैतमा यस्तो बैठक बसेर दररेट निर्धारण भएको थियो । तर चितवनको हकमा जिल्लाको दररेट मुल्यांकनभन्दा केही कम राहत रकम प्राप्त भएको किसानहरूको गुनासो छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully