गएको एक सातामा नेपाल राष्ट्र बैंकले ऋणपत्रमार्फत बजारबाट १ खर्ब ८५ अर्ब रूपैयाँ झिकिसकेको छ ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकले ऋणपत्रमार्फत मंगलबार १५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–ज’ मार्फत बजारबाट उक्त रकम झिक्न लागेको हो । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ । एक वर्षपछि ऋणपत्रको सावाँ भुक्तानी हुनेछ । ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम ५ करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
गएको एक सातामा नेपाल राष्ट्र बैंकले ऋणपत्रमार्फत बजारबाट १ खर्ब ८५ अर्ब रूपैयाँ झिकिसकेको छ । छुट्टाछुट्टै ७ वटा ऋणपत्रमार्फत राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि बजारबाट झिकेको हो । बजारमा रहेको तरलता तत्काल नघट्ने देखिएपछि राष्ट्र बैंकले एक वर्षका लागि बजारबाट पैसा झिकिरहेको छ ।
गत पुसमा राष्ट्र बैंकले ऋणपत्रमार्फत यही असारभित्र एक वर्षका लागि २ खर्ब रुपैयाँ झिकिसकेको छ । यसपटक पनि ऋणपत्रमार्फत दुई खर्ब रुपैयाँ झिक्न लागेको हो । आज १५ अर्ब झिकेपछि २ खर्ब रुपैयाँ पुग्ने छ ।
यसरी ऋणपत्रमार्फत झिकिएको पैसाको परिपक्वता अवधि एक वर्षको हुन्छ । राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधालगायत औजारहरूमार्फत छोटो अवधिका लागि तरलता व्यवस्थापन गरिरहेको राष्ट्र बैंकले अहिले ऋणपत्रमार्फत लामो अवधिका लागि पैसा झिकिरहेको हो ।
