नेपाल–इजरायलबीच व्यापार, लगानी र श्रम सहकार्य विस्तारमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापार, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा मंगलबार छलफल भएको छ ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

Nepal-Israeli focus on expanding trade, investment and labor cooperation

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापार, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा मंगलबार छलफल भएको छ ।

महासंघ सचिवालयमा भएको भेटमा दुवै पक्षले नेपाल–इजरायल आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्रको सहभागिता, लगानी प्रवर्द्धन, नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेसन अफ इजरायली चेम्बर अफ कमर्सबीच भएको सहकार्य सम्झौता नवीकरण गर्दै आर्थिक सम्बन्ध विस्तार गर्न पनि उनीहरू सहमत भएका छन् ।

भेटमा अध्यक्ष श्रेष्ठले इजरायलको आर्थिक विकास नेपालका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन र स्वास्थ्य क्षेत्रमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने बताए । उनले इजरायलले नेपाली श्रमिक, विशेषगरी केयरगिभरका लागि उपलब्ध गराएको रोजगारीको अवसरको प्रशंसा गर्दै सरकार–सरकार (जीटुजी) श्रम सम्झौताले सुरक्षित र पारदर्शी वैदेशिक रोजगारी सुनिश्चित गरेको उल्लेख गरे ।

हाल संस्थागत प्रक्रियामार्फत नेपाली श्रमिक इजरायल गइरहेको स्मरण गराउँदै उनले व्यक्तिगत रूपमा घरायसी केयरगिभिङ तथा कृषि क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने इजरायलको योजनाले नेपाली युवाका लागि थप रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।

श्रेष्ठले नेपालमा राजनीतिक स्थायित्व कायम हुँदै गएको, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत सुधार तथा व्यावसायिक प्रक्रिया सरलीकरणमा काम गरिरहेको भन्दै विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको दाबी गरे । उनले नेपाल र इजरायलका निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, संयुक्त लगानी तथा संस्थागत साझेदारी विस्तार गर्न महासंघ तयार रहेको बताए ।

राजदूत बासले इजरायल नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर विस्तार गर्न इच्छुक रहेको बताए । उनका अनुसार अब घरायसी केयरगिभिङ र कृषि क्षेत्रमा पनि व्यक्तिगत रूपमा नेपाली श्रमिक लैजाने विषयमा इजरायल सकारात्मक छ । उनले इजरायल नेपाली महिलाका लागि सुरक्षित श्रम गन्तव्य भएको उल्लेख गर्दै भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गर्न सकिने धारणा राखे ।

राजदूत बासले इजरायली लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाए पनि लगानीको सुरक्षा, दोहोरो कर छुटसम्बन्धी व्यवस्था तथा मुनाफा सहज रूपमा स्वदेश फिर्ता लैजान सकिने कानुनी स्पष्टता खोजिरहेको बताए ।

उनले नेपालसँग सिमेन्ट, जडीबुटी तथा औषधिजन्य उत्पादन, चिया, कृषि उत्पादनको मूल्य अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्न इजरायल तयार रहेको उल्लेख गरे । दुई देशका उद्योगी–व्यवसायीबीच प्रत्यक्ष सहकार्य बढ्दै गए व्यापार, लगानी र प्रविधि आदानप्रदानका नयाँ अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully