भेरी करिडोरका पाँच स्थानमा ह्युमपाइप, बर्खामा डोल्पासम्मै सिधा यातायात

जाजरकोट, रुकुम पश्चिम र डोल्पाका पाँच स्थानमा ह्युमपाइप राखेपछि बर्खामै डोल्पासम्म सिधा यातायात सञ्चालन भइरहेको छ।

असार ३०, २०८३

रामचन्द्र न्यौपाने

Humepipe at five locations in Bheri Corridor, direct transport to Dolpa in Barkha

डोल्पा — वर्षायाममा ठाउँ–ठाउँमा गाडी फेरेर यात्रा गर्नुपर्ने डोल्पालीको वर्षाैंदेखिको सास्ती यस वर्ष केही कम हुने भएको छ । 

भेरी करिडोर सडक आयोजनाले जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पर्ने पाँच स्थानमा ह्युमपाइप (पानी निकास गर्ने सिमेन्ट पाइप) जडान गरेपछि बर्खामै डोल्पासम्म सिधा यातायात सञ्चालन हुन थालेको हो।

आयोजनाले १ करोड १५ लाख रुपैयाँ लगानी गरेर रिजिगाड, उसुमखोला, घट्टेखोला, मन्काबगर र फुल्चिङ खोलामा ह्युमपाइप राखेको जनाएको छ ।

आयोजना कार्यालय जाजरकोटका सूचना अधिकारी गिरिशनन्दन कोरसले वर्षायाममा खोलानाला बढ्दा आवतजावत र मालसामान ढुवानीमा हुने समस्या कम गर्न ह्युमपाइप राखेर यातायात सहज बनाउने काम गरिएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमै चिसापानी, रिजिगाड, उसुमखोला, मन्काबगर, गल्लीगाड र रुपगाडलगायत ११ स्थानमा पक्की पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।

डोल्पाको त्रिपुराकोट र दुनैस्थित भेरी नदीमा पक्की पुल निर्माणका लागि समेत प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए। विसं २०७५ मा ट्रयाक खुलेको भेरी करिडोरमा त्यसयता हरेक वर्षायाममा एक दर्जनभन्दा बढी स्थानमा सवारीसाधन परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो।

खोलानाला बढेपछि यात्रु र सामान ओसार्न गाडी पटक–पटक फेर्नुपर्ने अवस्था रहँदा दैनिक उपभोग्य वस्तुको ढुवानी महँगो हुने, यात्रु, विद्यार्थी र बिरामीले सास्ती भोग्नुपर्ने समस्या थियो। यही अवस्थालाई आधार बनाएर यातायात व्यवसायीले अतिरिक्त भाडा असुल्ने गरेको गुनासोसमेत रहँदै आएको थियो।

सोमबारदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाडसम्म नेपालगन्ज, सुर्खेत र काठमाडौंबाट सिधा सवारी सञ्चालन हुन थालेको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले यस वर्ष वर्षायाममै डोल्पाको छलगाडसम्म सिधा गाडी पुग्न थालेपछि वर्षाैंदेखिको समस्या केही हदसम्म समाधान भएको बताइन्।
'गत वर्षसम्म वर्षायाममा डोल्पालीले दर्जनौं स्थानमा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने र मालसामान पटक–पटक पल्टाएर ढुवानी गर्नुपर्ने बाध्यता थियो,' उनले भनिन्, 'रुकुम पश्चिम, जाजरकोट र डोल्पाका सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा भेरी करिडोर आयोजनाले तदारुकताका साथ काम गरेपछि यस वर्ष सिधा सवारी सञ्चालन सम्भव भएको हो।' अब बजार झर्दा वा जिल्ला बाहिर जाँदा पटक–पटक गाडी फेर्नुपर्ने बाध्यता हटेको ढकालले बताइन् । 

छलगाड खोलाबाटै सवारीसाधन सदरमुकाम दुनैसम्म पुर्‍याउने विकल्पबारे समेत छलफल भएको थियो। तर खोलाको बहाव र भेरी नदीसँग सडक जोडिने अवस्थाका कारण तत्काल त्यसो गर्न सम्भव नभएको उनले बताइन्।

वर्षायाममा आउने बाढीपहिरोका कारण सडक अवरुद्ध हुन नदिन आयोजनाले दुई वटा एक्स्काभेटरसमेत तयारी अवस्थामा राखेको छ। एउटा छलगाड र अर्को तल्नुबगर क्षेत्रमा परिचालन गरिएको छ। संयुक्त यातायात समिति त्रिपुराकोटका इन्चार्ज सागर बुढाका अनुसार साना जिप, बस तथा ट्रक सिधैं सञ्चालन हुन थालेपछि यात्रु र व्यवसायी दुवैलाई ठूलो राहत पुगेको छ।

नेपाल, चीन र भारतलाई जोड्ने व्यापारिक मार्गका रूपमा हेरिएको भेरी करिडोर सडकको कुल लम्बाइ २१७ किलोमिटर छ। जाजरकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्मको दूरी ११८ किलोमिटर पर्छ। हाल जाजरकोटदेखि तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नतिको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोट खण्डको ४२ किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully