सिद्धबाबा सुरुङमार्गको ७० प्रतिशत काम सकियो

असोज मसान्तभित्रै मुख्य टनेलबाट सवारी साधन गुडाउने तयारी ।

असार ३०, २०८३

माधव अर्याल

70 percent of Siddha Baba Tunnel work completed

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको  मुख्य टनेलभित्रको सडक निर्माणको काम पूरा भएको छ । 

मुख्य टनेलभित्र १ हजार १ सय २६ मिटर सडक निर्माणका सबै काम सकिएसँगै असार अन्तिम सातासम्म सुरुङमार्गको भौतिक प्रगति ६९ दशमलव २५ प्रतिशत सकिएको छ । वित्तीय प्रगति भने ६३ दशमलव ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल असोजसम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको आयोजना कार्यालयका प्रमुख नवराज बास्तोलाले जानकारी दिए । सुरुङको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहेको छ । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भएअनुसार काम अघि बढेको प्रमुख बास्तोलाले बताए । 

सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भीर संरक्षणसम्बन्धी काम गरिनेछ । पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिनेछ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम सकिएको छ । सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाइएको आयोजना प्रमुख बास्तोलाले बताए । सुरुङमार्गको सेकेन्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइटिङ्ग, भेन्टिलेसन, पंखा लगायत उपकरण जडान गर्ने काम अघि बढेको उनले बताए । डिजाइन, सिभिलवर्क, टनेल अप्रेसन र आयोजना सक्नेगरी काम भइरहेको उनले बताए ।

निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सुरुङ सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ । यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी ) मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुने आयोजना प्रमुख वास्तोलाले बताए । निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोडमा ठेक्का लिएको छ । 

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आगामी असोजसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन १११६ मिटर लामो सुरुङमार्गको दुईतिहाइ बढी (६८ प्रतिशत) काम सम्पन्न भएको हो ।

यसको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ ।सुरुङमार्ग भित्र पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेकाले असोजभित्रै सम्पन्न गरी गाडी गुडाउन बाँकी कामलाई तीव्रता दिइएको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाइएको छ । सुरुङमार्गको सेकेन्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइट, भेन्टिलेसन, पंखा लगायत उपकरण जडान सुरु गरिएको छ ।

आयोजनाका प्रमुख बास्तोलाले आगामी असोजसम्म सुरुङमा यातायात संचालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘सिद्धबाबा सुरुङमार्ग असोजसम्म सञ्चालनमा ल्याउने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । मुख्य सुरुङमार्गको सिभिल काम सम्पन्न भई विद्युतीकरणको काम भइरहेको छ । बाँकी काम चाँडै सक्ने गरी धमाधम काम भइरहेको हो,’ उनले भने ।

यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ ।

२०७८ फागुन २५ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यसपछि कम्पनीले १ हजार ८ सय २५ दिन सुरुङ सञ्चालन एवं मर्मत सम्भार गर्नेछ । आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म रहेको छ । यो सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

विसं २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आहृवान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको हो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ लगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ ।

आयोजनाको प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम भइरहेको छ । सडक पूर्वाधारको इतिहासमा सिद्धबाबा क्षेत्रमा ‘रक सेड’ निर्माण हुँदा पहिलो हो । ‘रक सेड’ सवारी र सडकलाई पहिरोबाट सुरक्षित गर्ने प्रविधि हो । पहिरो जाने स्थानमा सडकमाथि आरसिसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाइन्छ । यसरी निर्माण गरिएको ‘रक सेड’ मा खसेका पहिरो छाना हुँदै खोला वा भिरमा पुग्नेछ । 

यसले गर्दा सवारी साधन, चालक, यात्रु तथा सडकलाई कुनै असर गर्दैन । छानामुनिबाट निर्वाध रूपमा सवारीसाधन आवागमन हुनेछ । सुरुङमार्गको दुवै पोर्टलमा धेरै पहिरो जाने भएकाले सुरुमा पोर्टलसंगै ‘रक सेड’ निर्माण गर्न लागिएको हो । सिद्धबाबा क्षेत्रमा ७ सय ८० मिटर लामो ‘रक सेड’ निर्माणको डिजाइन अघि बढेको हो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully