राष्ट्र बैंकले ऋणपत्रमार्फत १ खर्ब ७० अर्ब झिक्यो, आज १५ अर्ब झिक्दै 

गत पुसमा राष्ट्र बैंकले ऋणपत्रमार्फत यही असारभित्र एक वर्षका लागि २ खर्ब रुपैयाँ झिकिसकेको छ । अहिले पनि ऋणपत्रमार्फत दुई खर्ब रुपैयाँ झिक्न लागेको हो ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — गएको एक सातामा नेपाल राष्ट्र बैंकले आज ऋणपत्रमार्फत १ खर्ब ७० अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । छुट्टाछुट्टै ६ वटा ऋणपत्रमार्फत राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि बजारबाट झिकेको हो । बजारमा रहेको तरलता तत्काल नघट्ने देखिएपछि राष्ट्र बैंकले एक वर्षका लागि बजारबाट पैसा झिक्न लागेको हो ।

गत पुसमा राष्ट्र बैंकले ऋणपत्रमार्फत यही असारभित्र एक वर्षका लागि २ खर्ब रुपैयाँ झिकिसकेको छ । अहिले पनि ऋणपत्रमार्फत दुई खर्ब रुपैयाँ झिक्न लागेको हो । सोही क्रममा गत शुक्रबारसम्म १ खर्ब ७० अर्ब झिकिसकेको छ । आज सोमबार १५ अर्ब संकलनका लागि सूचना जारी भएको छ । यसपछि बाँकी रहेको १५ खर्ब निष्कासनका लागि राष्ट्र बैंकले सूचना जारी गर्ने छ ।

ऋणपत्रमार्फत झिकिएको पैसाको परिपक्वता अवधि एक वर्षको हुन्छ । राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधालगायत औजारहरुमार्फत छोटो अवधिका लागि तरलता व्यवस्थापन गरिरहेको राष्ट्र बैंकले अहिले ऋणपत्रमार्फत लामो अवधिका लागि पैसा झिकिरहेको हो ।

सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–छ’ मार्फत उक्त रकम संकलन गर्न सूचना जारी गरेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ । एक वर्षपछि ऋणपत्रको सावाँ भुक्तानी हुनेछ । ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully