दूध संकलन गरेर गाउँमै उद्योग, काठमाडौं पुग्छ डाँडागाउँको कुराउनी

१७ वर्ष नेपाली सेनामा सेवा गरेर निवृत्त भएपछि पुस्तैनी पशुपालनलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्ने बाटो रोजे। उनको मेहनतले गाउँका अन्य किसानलाई पनि उत्साहित बनाएको छ।

असार २९, २०८३

विनोद घिमिरे

Milk collection turns village into industry, Kathmandu reaches Dandagaun's story

धनकुटा — महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका शिवबहादुर बस्नेत बिहानै गाउँभरिबाट दूध संकलन गर्न निस्कन्छन्। त्यसपछि ठूलो भाँडामा दूध उमाल्ने, घण्टौंसम्म चलाएर कुराउनी बनाउने, प्याकेजिङ गर्ने र ग्राहकसम्म पुर्‍याउने काममै उनको दिन बित्छ।

१७ वर्ष नेपाली सेनामा सेवा गरेर निवृत्त भएका उनले पेन्सनको भरमा बस्नु वा वैदेशिक रोजगारी रोज्नुको सट्टा गाउँकै पुस्तैनी पशुपालनलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्ने बाटो रोजे। अहिले उनले सञ्चालन गरेको दुग्धजन्य उद्योगले परिवारसँगै स्थानीयलाई पनि रोजगारी दिएको छ। उनको उद्योगमा उत्पादन भएको कुराउनी धनकुटादेखि काठमाडौं र संखुवासभासम्म पुग्ने गरेको छ।

बस्नेत आफैंले उन्नत जातका गाई–भैंसी पालेका छन् भने गाउँका किसानबाट पनि दूध संकलन गर्छन्। परिवारका सबै सदस्य यही व्यवसायमा सक्रिय छन्। दुई छोरामध्ये एक जना वैदेशिक रोजगारीमा छन् भने अर्का छोरा दूध संकलनदेखि कुराउनी, छुर्पी उत्पादन र बजारीकरणसम्ममा संलग्न छन्। श्रीमती र दुई बुहारी उत्पादनमा सघाउँछन् भने उद्योगमा केही स्थानीय युवाले पनि रोजगारी पाएका छन्।

सुरुमा उनले कुराउनी मात्र उत्पादन गर्थे। तर दूधको उत्पादन बढ्दै जाँदा बिक्री हुन नसकेको दूध बिग्रिन थालेपछि छुर्पी र घिउ उत्पादन पनि सुरु गरे। अहिले अर्डरअनुसार दैनिक करिब २५० लिटरसम्म दूध प्रशोधन गरेर कुराउनी उत्पादन गरिरहेका छन्। ‘अर्डर त जति पनि आउँछ,’ बस्नेत भन्छन्, ‘तर सडकको समस्याका कारण भनेको समयमा सबै ठाउँमा सामान पुर्‍याउन सकिँदैन।’

डाँडागाउँमा उत्पादन भएको कुराउनी अहिले धनकुटाको स्थानीय बजारसँगै काठमाडौं र संखुवासभासम्म पुग्ने गरेको छ। प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री हुने कुराउनीको माग प्रतिदिन बढ्दै गएको बस्नेत बताउँछन्।

महालक्ष्मी नगरपालिका दुग्ध उत्पादनका लागि परिचित क्षेत्र हो। यही सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्न बस्नेतले २० रोपनी जग्गामा घाँसखेती गरेका छन्। पशुपालनको सबैभन्दा ठूलो चुनौती मानिने घाँस तथा आहार व्यवस्थापनको समस्या उनले आफ्नै प्रयासबाट समाधान गरेका छन्। ‘आफ्नै बारीमा घाँस लगाएका छौं। पशुपालनका लागि घाँसको दुःख छैन,’ उनले भने।

बस्नेतको मेहनतले गाउँका अन्य किसानलाई पनि उत्साहित बनाएको छ। पहिले दूध बेच्न बजार खोज्दै भौतारिनुपर्ने किसान अहिले गाउँमै दूध बिक्री गर्न पाएका छन्। गाउँमै उद्योग स्थापना भएपछि उत्पादन भएको दूध स्थानीय स्तरमै प्रशोधन हुन थालेको छ।

यही सम्भावनालाई विस्तार गर्न महालक्ष्मी नगरपालिकाले पनि दुग्ध उत्पादनलाई प्राथमिकतामा राख्दै संघ र प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। महालक्ष्मी नगरपालिका–१, ३ र ६ लाई गाई–भैंसी पकेट क्षेत्र घोषणा गरी किसानलाई लागत साझेदारीमा उन्नत गाई र भैंसी वितरण गरिएको छ।

नगर प्रमुख ध्रुवराज रायमाझीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वडा नम्बर १ का २५ किसान परिवारलाई संघीय सरकारको सशर्त अनुदानबाट ५० प्रतिशत लागत साझेदारीमा उन्नत गाई वितरण गरिएको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारको सशर्त अनुदानमार्फत वडा नम्बर ६ का ५० किसान परिवारलाई ५० वटा भैंसी उपलब्ध गराइयो।

चालु आर्थिक वर्षमा पनि संघीय सरकारकै सहयोगमा वडा नम्बर ३ डाँडागाउँका २५ किसानलाई जनही एक लाख रुपैयाँका दरले उन्नत गाई खरिद तथा गोठ सुधारका लागि अनुदान दिइएको छ। यसमा किसानको पनि ५० प्रतिशत लागत साझेदारी रहेको नगरपालिकाले जनाएको छ। बस्नेतका अनुसार नगरपालिकाको सहयोगले व्यवसाय विस्तार गर्न ठूलो टेवा पुगेको छ। ‘गाई खरिद, गोठ सुधार र अन्य सहयोगले व्यवसायलाई अघि बढाउन सहज भएको छ,’ उनले भने।

स्थानीय किसान रञ्जिता बस्नेतले गाई पकेट कार्यक्रममार्फत गाई खरिदका लागि अनुदानसँगै घाँस काट्ने च्याप कटर मेसिन तथा गोठ सुधारका लागि पनि सहयोग पाएको बताइन्। नगर प्रमुख रायमाझीका अनुसार किसानको उत्पादन लागत घटाउन गाईका लागि खोले पकाउने तथा पानी तताउने सौर्य प्रणालीसमेत वितरण गरिएको छ। ‘जहाँ जुन सम्भावना छ, त्यही क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढाउने हाम्रो नीति हो। उत्पादनमा लाग्न चाहने किसानलाई नगरपालिकाले सधैं साथ दिन्छ,’ उनले भने।

उनका अनुसार महालक्ष्मी नगरपालिकाको घुमाउने, मूर्तिढुंगा, मारेक र कटहरे क्षेत्र पशुपालन, दुग्ध उत्पादन तथा तरकारी खेतीका मुख्य क्षेत्र हुन्। वडा नम्बर ५ को मेलाङचुङ क्षेत्रमा बेसार खेती तथा घुमाउने र मूर्तिढुंगामा तरकारी पकेट कार्यक्रम सञ्चालन गरिएको छ। वडा ६ लाई भैंसी र वडा ३ लाई गाई पकेट क्षेत्रका रूपमा थप विकास गर्दै लैजाने योजना रहेको उनले बताए।

महालक्ष्मीमा अहिले दूध उत्पादन मात्र होइन, त्यसको प्रशोधन र बजारीकरणको श्रृंखला पनि विस्तार हुँदै गएको छ। स्थानीय किसानले उत्पादन गरेको दूध गाउँमै मूल्य अभिवृद्धि हुन थालेपछि दुग्ध व्यवसाय ग्रामीण अर्थतन्त्रको भरपर्दो आधार बन्दै गएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully